एचआईभी एड्स विरुद्ध प्याक

सुर्खेत ।
के तपाई वैदेशिक रोजगारीबाट भर्खेरै फर्कनुभएको हो ? या स्वदेशमै रहदाँ असुरक्षित यौन क्रियाकलापमा सामेल हुनुभएको थियो ? तपाईलाई एड्स रोगका लक्षणहरु देखा परेका छन ? यदि तपाईलाई एड्स रोग लागेको शंका छ भने तुरुन्तै यसको रोकथामको औषधी सेवन गर्नुहोस । माथि उल्लेखित ‘वाक्य’ जनचेतनामुलक अभियान (प्याक नेपाल) ले आयोजना गरेको दुई दिने कार्यक्रमको मुख्य सुचना हो ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा जनचेतनामुलक अभियान (प्याक नेपाल) संस्थाले एचआईभी एड्सलाई शुन्यमा झार्न र जतिसक्यो एचआईभी लागेका व्यक्तिहरुलाई औषधी उपचारमा संलग्न गराउने मुख्य लक्ष्य लिएको संस्थाका कार्यकारी निर्देशक सुनिल यादवले बताए ।
सन २०२२ सम्म यस रोग लागेका व्यक्तिहरुलाई विभिन्न सुचना र चेतनामुलक कार्यक्रम सञ्चालन गरेर ९० प्रतिशतलाई उपचारमा सामेल बनाउने संस्थाले लक्ष्य लिएको छ ।
संस्थाले सन २०२२ सम्म सबै व्यक्तिहरुले आफुलाई लागेको रोगको बारेमा खुलेर अगाडी आउन सक्ने, ९० प्रतिशतले उपचार गराएको हुनुपर्ने र ९० प्रतिशतमा यो भाईरलका रुपमा रहेको एचआईभि घटेको महशुस हुनुपर्ने अठोट समेत लिएको छ ।
यस्तै, समाजमा यो रोग देखा परेका व्यक्तिहरुलाई अन्यले लान्छना लगाउने घृणा गर्ने वातावरणकोपनि अन्त्य गर्ने प्याक नेपालले लक्ष्य लिएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा २ दिने कार्यक्रममको आयोजना गरेर सरोकारवाला निकायहरुले यसलाई सञ्चार माध्यम मार्फत जनचेतना सिर्जना गर्नुपर्ने बताएका छन ।
सरोकारवालाहरुले स्थानीय रेडियो, पत्रपत्रिका, टेलिभिजन र होडिङ्ग वोर्ड मार्फत एचआईभी लागेका व्यक्तिहरुलाई औषधी उपचार गर्ने ठाउँसम्म आउन सक्ने खालको जनचेतनामुलक सुचना प्रचारप्रसार गर्नुपर्ने बताएका छन ।
खासगरी बैदेशिक रोजगारमा जाने मौसमी कामदारमा यस रोगको बढि संक्रमण देखिएको र ती ठाउँहरुमा व्यापक सुचना प्रवाह गरेर यस रोगको उपचारमा सामेल बनाउने मुख्य योजना रहेको प्याक नेपाल संस्थामा कार्यरत राजु जोसीले बताए ।
साथै विभिन्न सामाजिक सञ्जालका माध्यमबाट तथा सार्वजनिक यातायातका साधनहरुमा पनि सुचना र चेतनामुलक सामाग्री प्रचार गर्ने संस्थाले योजना बनाएको छ । जेठ १० बाट शुरु भएको अभियान असार १० सम्म विभिन्न चेतनामुलक कार्यक्रम गरि सकिने जनाईएको छ ।
कर्णालीमा एचआईभी संक्रमितको संख्या पाँच सय
नेपालमा एचआईभी एड्सबाट संक्रमितको संख्या अनुमानित ३१ हजार २० जना रहेको पाईएको छ । राष्ट्रिय एड्स रोग तथा यौनरोग नियन्त्रण केन्द्रलाई उद्धृत गर्दै यसरोग सम्बन्धि जनचेतनामुलक कार्यक्रम गर्ने संस्था प्याक नेपालले ३१ हजारमा एचआईको सक्रमण रहेको जनाएको हो ।
३१ हजारको अनुमान गरिएपनि १९ हजार व्यक्तिहरुमा मात्रै यो रोग भएको आधिकारिक रुपमा पुष्टि भएको बताईको छ । त्यसमध्येपनि १७ हजारलेमात्र एड्स रोकथाम विरुद्धको औषधी निरन्तर सेवन गरेको पाईएको छ ।
पहिलेको तुलनामा संक्रमितहरुको संख्या केहि घटेको जनाईएको छ । कर्णाली प्रदेशमा ५ सय एचआईभि सक्रमित रहेको तथ्यांकले जनाएको छ । आव २०७४÷७५ मा कर्णालीमा यो रोगबाट संक्रमित हुनेहरुको संख्या ४ सय ९९ जना रहेको तथ्याकले देखाएको छ । जसमध्ये सुर्खेतमा २ सय ९८, दैलेखमा १ सय ५४, कालिकोटमा २९ र सल्यानमा १८ जनाले अहिले एड्स विरुद्धको औषधी सेवन गरिरहेका छन ।
कर्णाली प्रदेशमा एचआईभि एड्सको ए आर डि औषधी ५ स्थानबाट लिन सकिन्छ । कर्णाली प्रदेश अस्पताल सुर्खेत, जिल्ला अस्पताल सल्यान, दैलेख, कालिकोट, रुकुम पश्चिम र सल्यान जिल्ला अस्पतालहरुबाट औषधी दिने व्यवस्था गरिएको छ ।
अझैपनि यो रोग लागेका व्यक्तिहरु खुलेर नआउने भएका कारण धेरै व्यक्तिहरु औषधी सेवनबाट टाढा रहेको जनाईएको छ । पहिलेको भन्दा आजभोली यो रोगप्रतिको मान्छेको बुझाई र हेराईमा धेरै भिन्नता आईसकेको यस यसरोग विरुद्धको अभियानमा लागेका व्यक्तिहरुले बताउने गरेका छन । नेपालमा सन १९८८ मा पहिलोपटक एड्स रोग देखा परेको थियो ।