स्थानीयद्वारा आयुर्वेद शिविर थप्न माग, साढे ३ सयले स्वास्थ्य जाँच गराए

सुर्खेत । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाका स्थानीय बासिन्दाले निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर थप्न माग गरेका छन्। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकू काठमाडौँले प्रदेश आयुर्वेद औषधालय सुर्खेतको समन्वयमा बुधबार कुनाथरी गाउँपालिकाको बड्डीचौरमा आयोजना गरेको निःशुल्क आयुर्वे्दिक शिविर तथा जीवनशैली व्यवस्थापन परामर्श सेवा लिन आएका सेवाग्राहीले निःशुल्क स्वास्थ्य शिविर थप्न माग गरेका हुन्।
रोग लाग्नबाट जोगिने उपाय तथा तरिकाहरूको जानकारी दिने उद्देश्यले आयोजित उक्त शिविरमा महिला र पुरुष गरी साढे ३ सय जनाले निःशुल्क स्वास्थ्य जाँच गराएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकुका डाक्टर विजय भुर्तेलले बताए।
उनका अनुसार शिविरमा हाडजोर्नी, मधुमेह, उच्च रक्तचाप, मानसिक समस्या, श्वासप्रश्वास, ग्याष्ट्रिक, कमलपित्त, गानोगोला, बाथ, महिनावारी, सेतो पानी बग्ने, नशा तथा छालासम्बन्धी समस्या भएका बिरामीले सेवा लिएका थिए। उनले थप निःशुल्क स्वास्थ्य शिविर सञ्चालनका लागि विभागबाट बजेटसहित अनुमति मागिने जनाए। उनले भने, ‘पछिल्लो समय सुर्खेतमा आयुर्वेद चिकित्सा पद्धतितर्फ जनविश्वास बढ्दै गएको छ।’
टोलीमा डा. भुर्तेलसहित डा. शंकरप्रसाद रिजाल, विभागकै वरिष्ठ कविराज निरीक्षक खेमराज रिजाल, वैद्य निरीक्षक दीपेन्द्र कँडेल, कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयको आयुर्वे्दिक तथा वैकल्पिक चिकित्सा शाखाका कविराज पुष्पा आचार्य, जहरे आयुर्वेद औषधालयका कविराज सुष्मा गिरीलगायतले बिरामी जाँच गरी निःशुल्क औषधि वितरण गरेका थिए।
शिविरको उद्घाटन गर्दै बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले आयुर्वेद चिकित्सा प्रद्धतिप्रति बढ्दो जनविश्वासलाई उच्च कदर गर्दै गाउँपालिकामै आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा नै सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया शुरू गरिने बताए।