युवा संसदको अधिवेशन सम्पन्न

सुर्खेत ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित नमूना यूवा संसदमा कर्णालीका १० वटै जिल्लाबाट आएका यूवाहरुले संसद भित्र गरिने विभिन्न भूमिकाको निर्वाह गरेका छन् ।
कर्णालीका यूवा सांसदहरुले कर्णालीको समृद्धिका लागि यहाँको पर्यटन प्रबद्र्धन, कृषि उत्पादनको बजारीकरण र सूचना प्रविधीमा यूवाहरुको पहुँच पु¥याउनु पर्नेमा जोड दिए ।
नमूना यूवा संसदको शुन्य समयमा भाग लिँदै मैनाकुमारी मल्लले स्थानीय तहमा सरकारले यूवा सहभागिता बढाउने गरी नीति बनाउनु पर्ने बताईन् । ‘नेपालको कूल जनसंख्याको ४० प्रतिशत जनसंख्या ओगटेका यूवाहरुलाई सरकारले स्थानीय तहमा प्रतिनिधित्व हुने गरी नीति बनाउन सकेको छैन’ उनले भनिन्, ‘यो सरकारको प्राथमिकतामा पर्छ कि पर्दैन ?’
डोल्पाबाट यूवा संसदमा भाग लिन वीरेन्द्रनगर आएकी तीलाकुमारी थापाले सरकारले लोडसेडिङ मुक्त गरेको घोषणा गरे पनि धेरै ठाउँहरुमा विद्युतीकरण गर्न नसकेको भन्दै सबै नागरिकहरुले विद्युत बाल्न पाउने गरी विद्युतीकरण गर्न यूवा सरकारलाई दवाव दिईन् ।
‘कर्णालीका कतिपय बस्तीहरुमा अझै विजुली बाल्न सकिरहेको छैन’ उनले भनिन् । नमूना सांसदमा बोल्ने यूवाहरुलाई सत्ता पक्ष र प्रतिपक्षमा विभाजन गरिएको थियो । सत्ता पक्षमा बसेका सांसदहरु सरकारको बचाउ गरिरहेका थिए भने प्रतिपक्षका सांसदहरुले सरकारको आलोचना गरेका थिए ।
संसदीय अभ्यासका क्रममा शुन्य समय, बिशेष समय, प्रश्नोत्तर र प्रधानमन्त्रीसंग सिधा प्रश्नोत्तर गर्न अभ्यास गरिएको थियो । नमूना यूवा संसदको अभ्यासमा भाग लिने यूवा सांसदहरुले युवालाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरेका छन ।
शिक्षालाई गुणस्तरीय र व्यवसायिक बनाउन व्यवस्था गरिएको विधेयक पनि नमूना संसदमा पेश गरी सम्बन्धित विषयगत समितिमा छलफलका लागि पठाइएको छ भने संघीय युवा सरकारको तर्फबाट युवा बिकासका लागि आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रममा छलफल गरी पारित गर्ने अभ्यास गरिएको छ ।
शुन्य र विशेष समयमा बोल्ने सांसदको भूमिकामा रहेका यूवाहरुले नेपाली युवाका समस्या, सामाजिक विकृति र विसंगतिको अन्त्य गर्ने गरी सरकारले नीति बनाउनु पर्ने, बिदेशीने यूवाहरुलाई रोजगारीको व्यवस्था गर्नु पर्ने, यूवाक्षेत्रमा लगानी बढाउनु पर्ने तथा विभिन्न तहमा सुविधा सम्पन्न खेल मैदान निर्माण गर्नु पर्ने बिषयहरु उठाएका थिए ।
राष्ट्रिय युवा परिषद्को आयोजनामा भएको कर्णाली प्रदेशस्तरीय नमूना युवा संसद स्थापना र अभ्यासले युवामैत्री राष्ट्रिय नीति योजना र कार्यक्रम निर्माणका लागि राज्यलाई सुझाव दिई सकारात्मक वातावरण निर्माण गर्न सकिने राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढुंगेलले बताए ।
ढुंगेलले युवाको सीप बिकास तथा व्यक्तित्व विकासमा सहयोग पु¥याउने, युवालाई विषयगत दक्षता हाँसिल गरी सो क्षेत्रको नेतृत्व र पैरवी गर्न सक्षम बनाउन नमूना संसद सञ्चालन गरिएको जानकारी दिए ।