पत्रकार गेलाङको निधनप्रति लेकवेशी नगरपालिकाद्वारा शोकव्यक्त

सुर्खेत ।
पत्रकार नन्दबहादुर गेलाङको निधनप्रति लेकवेशी नगरपालिकाले शोक व्यक्त गरेको छ । नगरपालिकाको विहीवार कल्याणमा नगरप्रमुख गगनसिंह सुनारको अध्यक्षतामा बसेको नगरकार्यपालिकाको आकस्मिक बैठकले लेकबेशी—७, निवासी गेलाङको निधनबाट नगरपालिकालाई पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको बैठकले ठहर गर्दै घटनाका दोषीलाई हदैसम्मको कारवाहीसहित उचित क्ष्तिपूर्ति उपलब्ध गराउन सम्बन्धित पक्षसँग माग गरेको हो ।

गेलाङको बुधबार भेरीगंगा नगरपालिका—८, लोदेमा टिप्परको ठक्करबाट निधन भएको थियो । पत्रकार गेलाङ नेपाल पत्रकार महासंघ सुर्खेतका सह—सचिव तथा सुर्खेत पहिचान दैनिकका सम्पादक हुन् । पत्रकार गेलाङको निधनप्रति नगरप्रमुख सुनारले नगरपालिकाले पत्रकार जगतको उज्जवल तारालाई गुमाउनु परेको प्रति दुःख व्यक्त गरे । उनले घटनाको सत्यतथ्य जाँचबुझ गरि दोषीलाई कडा भन्दा कडा कारवाही गर्न सम्बन्धित पक्षसँग माग राखे । त्यस्तै नगरपालिकाका नगर उपप्रमुख शान्तिकुमारी छन्तेल, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेल, सूचना अधिकारी केशरबहादुर डाँगी, लेखाअधिकृत दिपकध्वाज हमाल लगायतले पत्रकार गेलाङको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।