बर्षाका कारण रिपिटर टावर जोखिममा


सुर्खेत ।
सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्वर ९ खानिखोला स्थित भोटेचुलीमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा बर्षाले क्षति पुर्‍याएको छ । शनिवारदेखि सोबारसम्मको लगातारको बर्षाले उक्त टावरमा जडान गरिएका उपकरणमा समेत क्षति पुगेको टावरका सुरक्षा गार्ड टिकाराम पुनले जानकारी दिए ।


त्यहाँ रहेको एउटा टावर र सोलार प्यानल जोखिममा रहेको पुनले जानकारी दिए । निरन्तर पानी परिरहेकोले तारहरु लथालिङ्ग भएको उनले बताए । समयमै गाउँपालिका, प्रदेश सरकार र नेपाल टेलिकमले मर्मतकालागि ध्यान नदिए सामान्य हावाहुरी आए सबै सेवा नै बन्द हुन सक्ने तर्फ पुनले संकेत गरे ।


उक्त टावर अवरुद्ध भए पुर्वी सुर्खेत, पश्चिम सल्यान र जाजरकोटमा फोन सेवा अवरुद्ध हुने उनले बताए । यसअघि भोटेचुलीमा भ्यु टावर बनाउने भनेर जथाभावी संरचना विगारेका कारण अहिले समस्या भएको पुनको दावी थियो ।
कर्णाली प्रदेशको पर्यटन मन्त्रालयको बजेटमा भोटेचुलीमा भ्यु टावर बनाउने कार्य शुरु गरेपछि नेपाल टेलिकमले पर्याप्त जमिन नभएको कारण देखाउदै वडा नम्वर ८ को डाँडाखाली स्थित मालिकाधुरीमा भ्यु टावर बनाउने तयारी गरेको छ ।