प्रमुख प्रशासकीय अधिकृत ढकाल साइकलमा

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा प्रदेशको राजधानी सुर्खेतलाई धुवाँ, धुलोमुक्त गरी सुब्बाकुना देखी बाङ्गेसिमलसम्म साइकल लेनको ब्यवस्था गर्न वजेट छुट्याएको छ । त्यससंगै साइकलमैत्री सडक निर्माण र कर्मचारीलाई कार्यालय जान आउन साइकलको प्रयोग गर्न प्रोत्साहान गर्न बजेट व्यवस्था गरेको छ । सोसंगै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले शुक्रवार कार्यालय जाँदा र फर्किदा साइकलको प्रयोग गर्ने बताएका हुन ।
गत जेठ २० गते ‘विश्व साइकल दिवस’ का अवसरमा वीरेन्द्रनगरमा साइकल यात्रासहितको ‘सिटी राइड’ आयोजना गरिएको थियो। ‘सिटी राइड’ मा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवल भण्डारीसहित स्थानीयको सहभागिता थियो। भण्डारीले वीरेन्द्रनगरलाई साइकलमैत्री सहर बनाउन ‘कर्णाली राइडर्स क्लब’ गठन गर्ने बताएका थिए। अनौपचारीक रुपमा ‘कर्णाली राइडर्स क्लब’ गठन भने भइसकेको छ ।
सहरमा चारैतिर धूलो, ट्राफिक जाम, सडकमा खाल्डाखुल्डी, अव्यवस्थित पार्किङ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतको अवस्था हो। ‘मर्निङ वाक’ गर्दा पनि मास्क प्रयोग गर्नुपर्ने, सवारीसाधन तथा पैदलयात्री धुलाम्मे भएर हिँड्नु पर्नेलगायत थुप्रै समस्या वीरेन्द्रनगरमा छन्।


धुलाम्मे र अव्यवस्थित वीरेन्द्रनगरलाई केही सरोकारवालाहरू ‘साइकल सहर’ बनाउन तम्सिएका छन्। पर्यटकीय सम्भावनाका दृष्टिले वीरेन्द्रनगरमा साइकल अत्यन्त सान्दर्भिक छ। यहाँका धार्मिक तथा ऐतिहासिक स्थल, डाँडापाखा, जंगल, खेतबारी र बस्तीहरू साइकलबाट भ्रमण गर्न उपयुक्त छन्।

विरेन्द्रनगर नगरपालिकाका प्रमुख देबकुमार सुबेदीले नगरपालिकाका भौतिक पुर्बाधार क्रमशः साइकलमैत्री बनाउदै लैजाने बताउनुभयो ।उहाँले नगरपालिकाको निति तथा कार्यक्रममा समेत साइकललाई प्रोत्साहन गर्ने गतिविधि समाबेश भएको बताउनुभयो । (सितलपाटीबाट)