सिम्ताको शैक्षिक अवस्थाप्रति सरोकारवाला चिन्तित

लक्ष्यबहादुर सुनार
सुर्खेत ।
सिम्ता क्षेत्रको खस्कदो शैक्षिक स्थितिलाई सुधार गर्न एकपटक सबै सचेत हुनुपर्ने आवाज उठेको छ । विभिन्न बर्षका एसइई परिक्षाको नतिजा र सिम्ताको सम्रग शैक्षिक अवस्थालाई विश्लेषण गर्दा अत्यन्तै लाजमर्दो अवस्था भएको प्रति सरोकारवालाहरुले हिनताबोध गरेका हुन ।
सिम्ताको शैक्षिक अवस्था कमजोर हुनुमा दक्ष शिक्षकको अभाव, समयानुकुल शिक्षा प्रणालीको विकास नहुनु, शिक्षाप्रति जनचासो कमी हुनु, शिक्षामा स्थानीय सरकारको स्पष्ट योजना नहुनु साथै अनुगमन र सुपरिवेक्षण नहुनु, अभिभावकहरको लापरवाही, विद्यालय व्यवस्थापन समितिको भुमिका कमजोर हुनु जस्ता कारणले यहाँको शैक्षिक अवस्था न्युन रहेको औल्याईएको छ ।
सिम्ताली एकता समाज नेपालले आईतवार गाउँपालिकाको केन्द्र जानुनेबजारमा आयोजना गरेको सिम्ता स्तरीय शैक्षिक गोष्ठि तथा एसईईमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थी सम्मान कार्यक्रममा बोल्ने अधिकांश सरोकारवालाहरुले सिम्ताको शैक्षिक अवस्था सुधार गर्न कमीकमजोरीलाई औल्याई सुधारात्मक पक्षमा जोड दिनुपर्ने बताएका छन ।
कार्यक्रममा विद्यार्थी नेता गगन सिहं ठकुरीले सिम्ताको शैक्षिक अवस्था र २०७५ को एसईईको नतिजा सहितको तथ्यांक प्रस्तुत गरेका थिए । भानु उच्च माध्यामिक विद्यालय वजेडीचौरका शिक्षक भुपाल सिंह ठकुरीले सम्रग शिक्षाको अवस्था, कमजोरी र सम्बन्धित पक्षले खेल्नुपर्ने भुमिका सहितको कार्यपत्र पेश गरेका थिए ।
उनले पेश गरेको कार्यपत्रमा सिम्ताका विद्यालयमा शैक्षिक वातावरण उपयुक्त नभएको, स्थानीय सरकारले शैक्षिक सुधारकालागि स्पष्ट योजना नबनाएको, समायानुकुल शैक्षिक गतिविधि नभएको, शिक्षकहरुलाई प्राप्र्यात तालिमको कमी भएको, विषयगत दक्ष शिक्षक नभएको, अभिभावक, व्यवस्थापन समितिमे शिक्षाको गुणस्तर वृद्धिका लागि कुनै पहल नगरेको उल्लेख छ ।
सिम्ताका विद्यालयहरुको भौतिक पुर्वाधार अत्यन्तै कमजोर रहेको, व्यवसायीक र प्रविधियुक्त विद्यालय नभएको , शिक्षकहरुको कार्यसम्पादन कमजोर देखिएका कारण शिक्षामा सुधार हुन नसकेको कार्यपत्रमा उल्लेख छ ।
२०७५ को एसईईमा सिम्ताबाट परिक्षामा सहभागि साढे ४ सय विद्यार्थी मध्ये जम्मा २२ जनाले मात्र राम्रो अंक ल्याएर उर्तिण भएको भन्दै यसले थप चुनौति थपिएको सरोकारवाला बताउछन ।

शैक्षिक सुधारका लागि ‘एक्सन प्लान’ बनाऔ : अध्यक्ष केसी

सिम्ताको खस्कदो शैक्षिक अवस्थालाई सुधार गर्न “एक्सन प्लान बनाए अगाडी बढ्नुपर्ने गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले बताए । शिक्षा सम्बन्धि प्रस्तुत गरिएका कार्यपत्र र सरोकारवालाहरुले उजागर गरेका समस्यालाई आत्मसाथ गर्दै परिणाम देखिने गरे योजना सहित सबै सरोकारवाला जुट्नुपर्ने बताए ।
सिम्तामा म निर्वाचित भएदेखि नभई विसौ बर्षदेखि यहाँको शैक्षिक अवस्था कमजोर नै थियो, अहिले एसईईको नतिजा आएको छ, यसले सम्रग सिम्ताको शैक्षिक अवस्थालाई गम्भीर मोडमा पु¥याएको छ , यसको सबै दोष मेरो हो , किनभने यसको सबै भागेदार म नै हुं, सरकार प्रमुखखका हैसियतले मैले यसको जिम्मा लिनै पर्छ,’ उनले भने ।
शैक्षिक सुधारकालागि शिक्षक, अभिभावक, विव्यस लगायत शिक्षासंग सरोकार राख्ने सबैले एकपटक यहाँको शैक्षिक सुधारकालागि योजना बनाऔ, सिम्ता सरकार सबैसंग सहकार्य गर्न तयार छ, उनले भने, समस्याहरु धेरै छन, क्रमश ति समस्यालाई समाधान गर्न प्रत्यकले १/१ योजना बनाऔ, यो आर्थिक बर्षमा शिक्षाका लागि मात्रै सवा करोड छुट्याईएको छ यसलाई परिणाममुखि बनाउन तर्फ लाग्ने बताए ।
विद्यालयहरुको भौतिक पुर्वाधार विकास, शैक्षिक सामग्री, उपयुक्त शैक्षिक वातावरणका लागि पहल गर्ने राम्रो नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहन गर्ने बताए । दक्ष विषयगत शिक्षक नियुक्त गर्ने बताउँदै गाउँपालिका भरमा राम्रो कार्यसम्पादन गर्ने शिक्षकलाई पुरुस्कार र नराम्रो काम गर्ने कार्यसम्पादन कमजोर हुने शिक्षकलाई दण्ड जरिवानाको व्यवस्था गर्ने उल्लेख गरे ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहीले शिक्षक, अभिभावक लर विव्यसले राम्रो काम गर्न नसकेको भन्दै आलोचना गरिन । राम्रो काम गर्ने, पेशाप्रति जवाफदेही शिक्षक र जाँडरक्सी खाने, कमजोर कार्यसम्पादन भएका शिक्षकलाई एउटै दर्जामा राखिएको भन्दै अब शिक्षकहरको क्षमता अनुसार विशेष व्यवस्था गर्ने बताईन ।
नेपाली कांग्रेस सुर्खेतका उपसभापति टेकबहादुर सिंहले सिम्ता गाउँपालिकाले शिक्षा सुधारका लागि प्रष्ट नीति र योजना नबनाएको आरोप लगाए ।
सिम्तामा सिटिईभिटिको कक्षा सञ्चालनका लागि सम्बन्धित निकायमा पहल गर्दा माध्यामिक तहमा कुनैपनिा स्थानमा प्राविधक धारको विद्यालय नभएको भन्दै उक्त योजना विफल भएको बताए । सिम्ताको शैक्षिक सुधारकालागि आफ्नो पार्टीले जुनसुकै त्याग र तपस्या गर्न तत्पर रहेको उल्लेख गरे ।
नेपाल कम्युनिष्ट पार्टी सुर्खेतका जिल्ला कमिटी सदस्य ऐनबहादुर चन्दले भाषणा गरेर मात्र नहुने भन्दै ठोस योजना र कार्यदिशा तय गरेर अघि बढ्नुपर्ने बताए । शिक्षक नियुक्ति गर्दा चरम राजनितिक चलखेल हुन्छ, स्वयम म आफै त्यस्तो कार्य गर्छु, अव यो बन्द गर्नुपर्छ, हाम्रो होईन राम्रो मान्छे नियुक्त गर्नुपर्छ,’ उनले भने ।
युवा परिषदका अध्यक्ष टेकेन्द्र बस्नेतले समय परिवेश सुहाँउदो शिक्षा दिनुपर्ने बताए । परम्परागत शिक्षा प्रणाली नभई व्यवावहारीक र सर्वसुलभ शिक्षा दिएमात्र शिक्षाको शैक्षिक अवस्था सुधार हुनेमा जोड दिए ।
नेपाल शिक्षक संघ सिम्ताका अध्यक्ष टोपबहादुर खत्रीले सबै दोष शिक्षकहरुलाई लगाएमात्र सिम्ताको शिक्षा सुधार नहुने बताए । हाम्रा पनि धेरै गल्ती छन, यहाँको शैक्षिक अवस्था नाजुक हुनुमा पहिलो दोष शिक्षकको हो, यसलार्य हामी ग्रहण गर्छौ, तर अन्य पक्षको पनि सुधार हुनु जरुरी छ,’ उनले भने ।
विद्यालयमा विभिन्न प्राविधक साम्रगीको नाममा मात्रै ईलेक्ट्रोन हाजीरी बाहेक अरु केहि उपलब्ध नगरिएको बताए । स्थानीय सरकारलेपनि शैक्षिक गुणस्तर बृद्धिका लागि आवश्यक नीति र योजना नबनाएको उनको भनाई छ ।
शिक्षक, विद्यार्थी, अभिभावक र विव्यसलाई चलायमान बनाउनुपर्ने तर कसैलेपनि आफ्नो भुमिका निर्वाह गर्न नसकेको बताए । शिक्षकहरुका विविध समस्याहरुको समाधान तर्फ सम्बन्धित निकाय मौन देखिएको बताए । वालविकासमा अध्यापन गराउने शिक्षिकाहरुको सेवा सुविधा र शिक्षकहरका तमाम मागहरुप्रति स्थानीय सरकार अनुदार रहेको उनले बताए ।

एसईईमा उत्कृष्ठ नतिजा प्राप्त गर्ने विद्यार्थी सम्मानीत

२०७५ सालको माध्यामिक शिक्षा परिक्षा (एसईई) मा सिम्ताका सामुदायक विद्यालय र सिम्ता घर भई अन्य क्षेत्रका संस्थागत विद्यालयबाट उत्कृष्ठ नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । सिम्ताली एकता समाज नेपालले एसईईमा उत्कृष्ट नतिजा प्राप्त गरेका छात्र छात्राहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा ३ दशमलब ४ जिपिए ल्याएर उत्कृष्ठ नतिजा प्राप्त गर्ने हिमालय माध्यामिक विद्यालय सिम्ता गाउँपालिका ९ चोल्पाका पुजन चन्द, श्री नेपाल राष्ट्रिय मावि वडा नं ५ आलीका चन्द्र गिरी, श्री वोगेश्वरी माविका दुर्गा योगी, हिमालय मावि चोल्पाका नविन विक, वागेश्वरी मावि राकमका जिवननाथ योगीलाई सम्मान गरिएको छ ।
यस्तै संस्थागत विद्यालय तर्फ ३ दशमलब ९० जिपिए ल्याएर ईगरब्रिजमा अध्यनरथ सिम्ता ३ का दिपक विष्ट, ३ दशमलब ८० जिपिए ल्याएकी सिम्ता ७ की निशा रुचाल, ३ दशमलब ७५ ल्याएका नवज्योती स्कुल वीरेन्द्रनगरका धिरज विक्रम राना, डायमण्ड रावत, यमुना विसी, ईलाईट स्कुलका राजेन्द्र राजेन्द्र रेग्मी, सुर्योदय वोडिङ्गका विनिता शाही, र लङ्ग ग्रिन स्कुल देवस्थल सल्यानका निराजन विसीलाई सम्ताली एकता समाजले सम्मान गरेको हो ।
सम्मान ग्रहणपछि आफना्े धारणा राख्दै निशा रुचालले आफुहरुलाई सम्मान गरेकोप्रति सिम्ताली एकता समाजलाई धन्यवाद दिईन । यो सम्मानलाई हौसला र उत्साहका रुपमा लिदै अझै राम्रो नतिजा ल्याएर सिम्ताको ईज्जत र प्रतिष्ठा बढाउने अठोट गरिन ।
उनले सिम्ताको शैक्षिक सुधारका लागि सबैले पहल गर्नुपर्ने बताईन । भोलिका कर्णाधार विद्यार्थीहरुको शिक्षाप्रति स्थानीय निकाय, शिक्षक, अभिभावक र सरोकारवालाहरुले सोच्नुपर्ने बेला आएको बताईन ।
अर्का सम्मानित विद्यार्थी नविन विकले शैक्षिक सुधारका लागि बनेका नीति नियमहरु लागू गर्नुपर्ने बताए । अहिलेको प्रतिस्पर्धाको समयमा बजारमा ‘विक्ने’ खालको शिक्षा दिन सबैले सोच्नुपर्ने बताए ।

स्थानीय पाठ्यक्रम र नैतिक शिक्षा लागू गर्न सुझाव

सिम्ता गाउँपालिका भर स्थानीय पाठ्यक्रम निर्माण गरेर लागू गर्न सरोकारवालाहरुले सुझाएका छन । पालिकाको सम्रग अवस्बथलाई चित्रण गर्ने खालको स्थानीय पाठ्यक्रम बनाएर सबै विद्यालयमा लागू गर्नुपर्ने विद्यार्थी, राजनैतिक दलका प्रतिनिधि लगायतले सुझाव दिएका छन ।
गाउँपालिकाको कृषि, पर्यटन, स्थानीय उत्पादन सबै कुरालाई समेट्ने गरी स्थानीयहरुको सहभागितामा स्थानीय पाठ्यक्रम निर्माण गर्न सुझाव दिईएको छ । साथै यहाँका वालवालिकाहरुलाई सानै कक्षादेखि नैतिक शिक्षा दिनपनि सुझाव दिईएको छ । सरोकारवालाहरुले स्थानीय सरकारको पहलमा सानो कक्षाका बालवालिकाहरलाई नैतिक र चरित्रवान नागरिक तयार पर्ने हिसावले नैतिक शिक्षा दिन जरुरी रहेको औल्याए ।
साथै आमा शिक्षा कार्यक्रम सञ्चालन गर्न पनि सुझाव दिईएको छ । प्राय बुवाहरु साथै पुरुषहरु घरमा नहुने अन्य कामले वाहिर हुनेहुदाँ छोराछोरीको शिक्षामा आमाको भुमिका बढाउने उदेश्य अनुरुप यो कार्यक्रम लागू गर्न सुझाव दिएका छन ।
साथै प्रत्येक विद्यालयमा विद्यार्थी भौचरको व्यवस्थान गर्न सुझाव दिईएको छ । विद्यार्थीहरुले पाउने छात्रवृतिको रकम अन्य क्षेत्रमा घरपरिवारले खर्च गर्ने गरेको भन्दै उक्त रकम विद्यालयले जम्मा गरेर विद्यार्थीको शैक्षिक साम्रगी जुटाउन उक्त रकमले टेवा पुग्ने अपेक्षा गरिएको छ ।