कर्णालीमा ’हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ कार्यक्रम

कालिकोट ।
जिल्लाका नागरिकले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई स्थानीय सरकारका गतिविधिमा हुने भष्टाचार रोकिदिन अनुरोध गरेका छन्। कालिकोटबाट सुरु भएको ’हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ कार्यक्रममा सहभागी नागरिकले जिल्लाका स्थानीय तहमा भष्टाचार बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न मुख्यमन्त्रीलाई आग्रह गरेका हुन् ।
राप्रपा नेता तथा रास्कोटका स्थानीय सत्यबहादुर शाहीले भने, ‘मुख्यमन्त्री ज्यू, जिल्लाका स्थानीय तहमा व्यापक भ्रष्टाचार बढ्यो, कामै नगरी पैसा खान्छन्, कर्णाली राजमार्ग र कर्णाली करिडोरको स्तोरोन्नतीसँगै सुथराली विमानस्थल निर्माण अलपत्र छ, अब भष्टाचार रोकिदेऊ विकासमा जोड देऊ ? ’
नेकपाकी महिला नेतृ मिना शाहीले पार्टी र निर्वाचनमा महिलालाई पछाडि पारेको गुनासो गरिन्। नेपाली कांग्रेसका सहसचिव दमनबहादुर शाहीले प्रदेश सरकारले विनियोजन गरेको बजेट नेकपाका कार्यकर्ताले दुरुपयोग गरेको आरोप लगाए। पलाँताका मनप्रसाद न्यौपानेले गाँउगाँउमा सिंह दरबार आए पनि पलाँतामा नुनको राजनीति जारी रहेको बताए ।
कार्यक्रममा सहभागीले जिल्लाको थिर्पुमा जाँदा गाडी चढ्न गाडीबाटै तुहिनको सहायताले कर्णाली वारपार गर्नुपर्ने समस्या रहेकाले जतिसक्दो चाँडो ब्यवस्थित सडक र पक्कि पुल निर्माण गर्न आह्वान गरे। कार्यक्रममै मुख्यमन्त्रीको अगाडि पलाँताका चक्र कामीले पलाँताको दुर्सी लघुजलबिद्युत अयोजना निर्माणमा काम गर्दा अहिलेसम्म ज्याला नपाएको गुनासो गरेका थिए। उनले भने, ‘न कामको ज्याला पायौँ, नत बत्ति नै बल्यो, आयोजनामा लापारवाही गर्नेमाथि कारवाही हुनुपर्छ ।’
नरहरीनाथ गाँउपालिका निवासी धु्रबबिक्रम शाहीले विगत दशवर्षे सशस्त्र द्वन्द्व प्रभावितले अहिलेसम्म राहत नपाएको गुनासो गरे। यता नागरिकको गुनासो सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कर्णालीका सबै स्थानीय तहलाई विभिन्न गतिविधिमा हुने अनियमितता तथा भष्टाचार रोक्न निर्देशन दिएको बताए । साथै प्रदेशभरिका नागरिकले आफ्ना समस्या सिधै सरकार प्रमुखलाई भनुन् र कर्णालीको खस भाषाको पनि संरक्षण होस् भन्ने ध्येयले ’हाम्मा कुडा हाम्मा मुख्यमन्त्री’ कार्यक्रम सुरु गरिएको बताए ।
उनले भने, ‘२०७० मा, म सांसद निर्वा्चित भएपछि उर्जामन्त्री बनेँ, त्यो बेला मेरो कार्यकालमा भएका सबै ठेक्काबाट कालिकोटमा बिद्युतको राष्ट्रिय प्रशारण लाइन जडान कार्य जारी छ।’ पुन स् २०७४ सालमा प्रदेश सांसद निर्वा्चित भएपछि मुख्यमन्त्री बन्दा कालिकोटको सडक, बिद्युत, खानेपानी, सिँचाई लगाएत विभिन्न विकासे गतिविधिमा लगानी गरेको उनको तर्क छ। उनले थपे, ‘म भष्टाचार गर्दिनँ र मेरो प्रदेशमा समेत हुन दिन्नँ, बाँकी सबै जनताको चाहाना र अहिलेको आवाश्यकताका आधारमा विकासे गतिविधि अघि बढ्नेछन् ।’ अन्नपुर्णपोष्ट बाट