हाम्रो समाज र दिग्भ्रमित युवापुस्ता

शेरजंग बहादुर चन्द । युवा समाज र राष्ट्रको संवाहक शक्ति हुन् भन्नेमा विवादै छैन। चाहे राजनीतिकर्मी हुन् या डाक्टर, इन्जिनियर, वैज्ञानिक, लेखक, कलाकार, साहित्यकार, कर्मचारी अनि सुरक्षाकर्मी, युवा पुस्ताको अपरिहार्य उपस्थिति जरुरी हुन्छ । जुनसुकै भूमिकामा भए पनि युवाले नै देश हाँक्ने योग्यता राख्छन् ।
युवाले सभ्यता, संस्कृति, कला, ज्ञान परम्परा र संस्कार सँगसँगै मानवीय दायित्वका ठूला भूमिका निर्वाह गर्ने योग्यता राख्छन् । यो गर्न नसके भोलि मुलुकमा संकट आउन सक्छ। युवा पुस्ताले आफ्नो राजनीतिक विचारधारा मात्र नभई सम्पूर्ण देशका लागि जुध्नुपर्ने अवस्था छ ।
कुनै युवा डाक्टरको भविष्यसँग समाज र मुलुकको भविष्य जोडिएको हुन्छ । भगवान कोइराला, भोला रिजालजस्ता नाम चलेका डाक्टर हुन उनीहरूले कर्ममा लगनशील हुनुपर्छ। राजनीतिमा युवा भोलिका दिनमा बीपी, पुष्पलाल, मदन भण्डारी हुने कि नहुने भन्ने उनीहरूकै हातमा छ। यसका लागि भित्री मनदेखि नै मुलुकका लागि केही गर्छु भन्ने भावना युवामा हुनुपर्छ भन्ने मलाई लाग्छ। पछिल्लो समय समाजशास्त्रीले युवाका विभिन्न आयामलाई खोतल्ने जमर्को गरेका छन् ।
मेरो विचारमा युवा शब्द आफैंमा शक्ति, ऊर्जा र आन्दोलन हो ।
बालक कुनै घरको जग, युवा पिलर अनि वृद्ध छानो हो। संयुक्त राष्ट्र संघका अनुसार नेपालमा करिब ४०.३ प्रतिशत युवा छन् । युवा आफंैमा ऊर्जा, शक्ति, आन्दोलन भए पनि यो सकारात्मक हुनपर्ने हुन्छ ।
विगतमा राजनीतिक दलका युवा केही वढी जोसिला देखिए पनि तिनको शक्ति नकारात्मक रूपमा प्रयोग भएको पाइएको छ। चाहे ती मधेसी दलका युवा हुन् या हाल प्रमुख दलका युवा ।
नेपालका फरक राजनीतिक आस्था राख्ने युवाको प्रतिस्पर्धा आन्तरिक मात्र नभई भारत, चीन वा अन्य मुलुकका युवासँग हुनुपर्छ । अहिले नेपाली युवामा छोटो तरिकाले दौडने बानी छ। मेहनत गर्ने बानी छुटेको छ । एक वर्ष राजनीतिमा आउनेबित्तिकै प्रमुखर कार्यकारी पद खोज्नतिर लाग्ने बानी छ । गिरिजाप्रसाद कोइरालाले पार्टीको नेतृत्व लिन लामो समय कुर्नुर्पयो । केपी शर्मा ओली पनि पार्टीमा लामो समय योगदान गरेर अहिलेको अवस्थामा आएका हुन् । अहिले पिलर नभई छाता बन्न खोज्ने चाहना युवामा रहेको देखिन्छ ।
जीवनको मूल्यमान्यताभन्दा आर्थिक पक्षलाई ठूलो ठान्ने प्रवृत्ति छ । आजका युवापुस्ता रातरातै धन, इज्जत र ज्ञान लिन तत्पर भएको भेटिन्छ । साँचो अर्थमा यो मृगतृष्णा हो। यसका पछाडि केही सामाजिक तथा राजनीतिक कारण छन् । १.आधुनिकता २. व्यवस्थाको विसंगति ३. आदर्श नेतृत्वको अभाव ४. नैतिक मूल्यमान्यतामा ह्रास ५. सामाजिक तथा आर्थिक पक्ष ६. प्रगतिशील शिक्षा प्रणाली अभाव आदि ।
समाजमा अपराध, शोषण, आतंकवाद, अशिक्षा, बेरोजगारी, भ्रष्टाचार आदि समस्या छ ।
केही समयपहिले एक दुई डन थुनिंँदा या मारिँदा त्यो बाटो नराम्रो हो भनी कतिपय युवाले बाटो परिवर्तन गरेको उदाहरण हामीले देखिरहेकै हो ।

युवा र नैतिक शिक्षा
नेपाली संस्कृतिले धर्म, कर्म, त्याग, ज्ञान, सदाचार, मानवता, तप आदि सिकाइरहेको छ। संयुक्त परिवार, गुरुकुल प्रणाली, परम्परा, दर्शन, संस्कृति हाम्रो जग हो। पश्चिमी संस्कृतिले औद्योगीकरण, एकल परिवार, द्रुत विकास आदि सिकाइरहेको छ। यो हाम्रो संस्कृतिले सिकाएको छैन। आजको नेपाली युवापुस्ताले चरित्र र व्यवहारिक पक्षको परिभाषा बदल्ने कोसिस गर्दैछ । तर न उसले परिभाषा परिवर्तन गर्न सकेको छ न पश्चिमी संस्कृति नै ।
यो पुस्ताले आर्थिक उदारीकरण, प्रतिस्पर्धात्मक अवसर, भूमण्डलीकरणीय परिवर्तन आत्मसात गर्न सकेको छैन। नेपाली युवा काल्पनिक फिल्म (बाहुबलीजस्ता) फिल्म तथा व्यापारिक विज्ञापनलाई बास्तविक ठानी हिँडिरहेको छ । नेपाली युवामा यस्ता कुराले सकारात्मकभन्दा नकारात्मक प्रभाव पारेको देखिन्छ। युवाका लागि दृश्यको संसार साँचो हुन सक्छ होला, तर विचार हैन । शिक्षा व्यवसाय होइन, संस्कार हो ।
हामीले आजको शिक्षा प्रणाली हेर्दा यसमा व्यापार धेरै छजस्तो देखिन्छ । त्यसैले शिक्षा मात्र एक डिग्री प्राप्त गर्ने माध्यम भएको छ। यस्तो शिक्षाले जागिर खाए पनि व्यावहारिक उपयोगितामा ठूलो प्रश्नचिह्न लगाएको छ । यसले गर्दा नेपाली युवा छोटो बाटोतिर लागेका छन् । नेपाली युवाले भ्रष्टाचार गर्ने कारण यो पनि हो। व्यावहारिक र नैतिक शिक्षा भएको भए नेपाली युवाले भ्रष्टाचार नियन्त्रणमा योगदान गर्न सक्थे। तसर्थ, नैतिक शिक्षा अनिवार्य गर्नुपर्ने आवाज उठ्नु त्यसको परिणाम हो ।
आजको नेपाली युवा आफैं अगाडि बढ्न चाहन्छ । तर, परिस्थिति र समुदायको उनीहरूलाई दरिलो समर्थन छैन। चाहे राजनीति होस् या जागिर, चाहे व्यापार या अन्य क्षेत्र । यहाँ प्रश्न उठ्छ– नेपाली समाजमा युवालाई विचार दिन नसक्ने बेकम्मा सम्झिने गरिन्छ। समाजले दिशानिर्देश गरेको भए नेपाली युवापुस्ता यस्तो अवस्थामा पुग्ने थिएनन्। यस्तो हुने कारण राजनीतिक, सामाजिक र शैक्षिक कारण हो। साथै यसको प्रमुख कारण आर्थिक पक्ष पनि हो ।
समाजले युवाले मेहेनेतसाथ काम गरेको छ कि छैन ? भनी हेर्दैन। को सँग मोटर र बंगला छ भनी हेर्छ। यही प्रवृत्तिले संस्कारी युवा समाजमा आउन सक्दैनन् । युवापुस्ता गतिहीन हुनुका पछाडि समाज उत्तिकै जिम्मेवार छ ।

के गर्ने त ?
यहाँ राजनीति सुरु गरेको दिन मन्त्री, अधिकृतको जागिर सुरु गरेको दिन सचिव, सरकारी जागिर सुरु भएको दिन काठमाडौंमा घर र गाडी चाहने प्रवृत्ति छ । व्यापार सुरु गरेको दिन विनोद चौधरी हुन खोज्ने जुन मृगतृष्णा छ, त्यसको पछाडि शिक्षा, नैतिकता, व्यावहारिक ज्ञानको कमी हो । साथै सामाजिक र राजनीतिक चेतनाको कमी हो। समय कुर्नुपर्छ, मेहेनत गर्नुपर्छ, तपस्या गर्नुपर्छ अनि मात्र फल प्राप्ति हुन्छ ।
नेपाली समाज संक्रमणकालमा छ, यदि संक्रमण जारी रह्यो भने दुर्घटना पक्का छ। त्यसबाट बचाउन हरेक क्षेत्रमा आवद्ध युवाले समय र परिस्थितिअनुसार कुशलतापूर्वक नेतृत्व गर्नुपर्छ। युवा हो उठौँ । नेपाली संस्कृतिको मूल्य मान्यता जसरी मेहेनत गरीसफल हुने सपना देखौं। भ्रममा नपरौं। छोटो बाटोले गन्तव्यमा छिटो पुगिएला तर, दुर्घटना हुने सम्भावना रहन्छ । यो कुरा मनन् गरौँ ।