दंगा प्रहरी नियन्त्रण गण र प्रहरी तालिम केन्द्र प्रदेश पाँचबाट संचालित


सुर्खेत ।
सबै प्रशासनिक कामहरु आफ्नै स्थानीय र प्रदेश सरकारबाट हुने गरि व्यवस्था गरिएको भएपनि कर्णाली प्रदेशको दंगा प्रहरी नियन्त्रण गण र प्रहरी तालिम केन्द्र प्रदेश पाँचबाट संचालित छ । सबै तहका सरकार बनेको दुइ बर्ष भईसक्दा समेत विगतको संरचनाअनुसार दंगा प्रहरी नियन्त्रण गण तालिम केन्द्र प्रदेश नम्बर ५ को बाँकेबाट संचालित भइरहेको हो । संविधानले दिएको अधिकार अनुसार प्रदेशले आफ्नै मातहतमा प्रहरी राख्न पाउछ ।
तर प्रदेश सरकारहरु बनेको २ बर्ष वितिसक्दा समेत दंगा प्रहरी नियन्त्रण गण र प्रहरी तालिम केन्द्र पुरानै संरचनामा संचालन भइरहेका छन् । अहिलेसम्म कर्णाली प्रदेशले यसमा कुनै चासो नदिएको देखिन्छ । क्षेत्रीय अवधारणाअनुसार नेपालगन्जमा रहेका कार्यालयहरू सुर्खेतमा सार्ने भनिएपनि प्रदेश प्रहरी कार्यालय र गण वीरेन्द्रनगरमा स्थापना भइसकेको भनिएपनि अहिलेसम्म बाँकेबाट संचालनमा छ ।
संघिय संरचनामा प्रवेश भई कार्यान्वयनको चरणमा गइसकेको भएपनि धेरै कार्यालयहरु पुरानै संरचनामा संचालन हुनुले नागरिकहरुमा भने प्रश्न उब्जाएको छ ।
संघिय संरचनाअनुसार सबै प्रशासनिक काम नजिकको सरकारबाट हुनेगरी संरचनाको परिकल्पना गरिएको हो तर त्यसको कार्यान्वयन हुन नसक्नु बिडम्बना हो । यता, कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरी समायोजन ऐन पारित भइनसकेकाले पुरानै संरचनामा संचालन भइरहेको प्रतिक्रिया दिएको छ ।
मन्त्रालयका सुचना अधिकारी कृष्ण बहादुर रोकायले प्रहरी अहिलेसम्म प्रदेशको मातहतमा आइनसकेको भन्दै प्रदेशको मातहतमा आएपछि मात्र यी कार्यालयहरु नयाँ संरचनामा जाने बताउनुभयो । उहाले तिनै तहका सरकारहरुको अधिकार बाँडफाडमा अझै अन्यौलता भएका कारण केहि प्रशासनिक काम पुरानै ढाँचामा संचालन हुन बाध्य भएको उहाको भनाई छ ।(जागरणबाट)