महेन्द्रनगर, तिमीप्रति मेरो धेरै गुनासो छ….

शेरजंग बहादुर चन्द ।

संसारमा करिब १५ प्रतिशत मानिस आफ्नो देश छोडेर अर्को देशमा गई बस्ने गर्दछन् र करिब ७० प्रतिशत मानिसहरु आफ्नो जन्मथलो छोडेर कर्मथलो वा घर छोडी देशविदेशतिर बसोबास गर्ने गर्दछन् ।

नेपालमा पनि करिब यतिका प्रतिशत नै मानिस आफ्नो जन्मथलो छोडेर कर्मथलो वा देश विदेश गएको तथ्याङ्क छ । यहि ७० प्रतिशतभित्र पर्ने एक नाम पनि हो, शेरजंग बहादुर चन्द । यस्ता अनेकौँ नामरपात्र मेरो मस्तिष्कमा छन् मैले देखेको छु, विचार गरेको छु, सम्झेको छु र सम्झिरहन्छु पनि । हर्के हल्याण्ड, सुर्जे स्वीजरल्याण्ड, अमर अमेरिका, आसु अष्ट्रेलिया, काले काठमाण्डौँ, दिले दिल्ली, महेश मूम्बई। यी सबै काल्पनिक पात्र मात्र हुन् । तर यस्ता अनेक पात्रहरु जस्तै मेरा पनि धेरै साथीहरु छन्, तपाईका पनि होलान् र सबैका हुन्छन् पनि । म सजिलै विश्वास गर्न सक्छु ।
मेरै तीन पुस्ताको कुरा गर्दा बाजेले जन्मथलो छोड्नु भयो । बुवाले पनि र मैले पनि। यसरी जन्मथलो छोड्ने केही सुखद पक्ष भएपनि केही अति नै दुखद अनुभव हुँदो रहेछ। एउटा छोरीले बुवाको घर छोड्दा कस्तो अनुभव हुन्छ होला ? यसको अनुमान त म गर्न सक्दिन तर ‘माइतीको गाउँबाट काग उडेर आयो भने पनि माया लाग्छ’ भन्ने उखानले त्यो अनुभव कस्तो हुन्छे भनेर दर्शाउँछ । ७० प्रतिशतमा म पनि परे मलाई पनि केही सुख–दुख भयो, त्यही कुरा म बाड्दैँछु ।
करिब चारदशक पहिले म महेन्द्रनगर हालको भीमदत्त नगरपालिकामा जन्मेको थिए। पापी पेट, सानो सहर तर इच्छा बढी भएपछि मैले महेन्द्रनगर छोडें। कर्मथलो नै परिर्वतन भएपछि म महेन्द्रनगर खासै जान सकिन ।
गएकोे बेला पनि २÷४ दिन बस्ने तथा घर–परिवार, आमा–बुवा, दिदी–बहिनी, दाजु–भाईसँग बस्दाबस्दै समय बित्ने भएकाले हतारहतारमा आफ्नो कर्मथलो फिर्ता आउने गरेको थिएँ। यही सिलसिलामा केही समय पहिले महेन्द्रनगर जाँदा मैेले राम्ररी चिन्ने महेन्द्रनगरले मलाई चिनेन र दुःखी भई कलम नचलाई बस्न सकिन ।

घटना के भयो ?

जुन खेतको बाटो हुँदै गाउँको बीचबाट हाम फाल्दै म कक्षा २ देखि ७ सम्म पढ्न जान्थे त्यही बाटो एकचोटी जाउँ भनि विचार गरे तर त्यो बाटो अब बाटो थिएन । ज्ञानुको घर, भानु, रामु दाईको घर हुँदै धर्मको घर अगाडिबाट शान्ति– सिताको घर हुदै गोविन्दको घर अगाडिबाट उसको काकाले किनेको टिभीमा आईतबार महाभारत हेर्दै विद्यालय जाने जुन बाटो थियो, अब त्यो बाटो नै रहेन ।
त्यसबेला त्यो बाटोमा मलाई नचिन्ने कोही थिएन, त्यो बाटोको ठुलो ढुङ्गा, त्यो सिमलको रुख, त्यो पिपलको चौतारीदेखि त्यो ध्रुबको घरको कालो कुकुरसम्म। तर आज ज्ञानु घर छोडी कर्मथलो तिर कतै अर्को ठाउँमा छ रे। रामु दाई, भानु दाई त्यो पुरानो घर छोडी कोही काठमाण्डौ त कोही अन्यत्र गएका छन रे ।
धर्म महेन्द्रनगर भएपनि उसले शेर भनि चिन्छ होला ! तर सामाजिक सञ्जालबाट मात्र । शान्तिसँग केही समय पहिले काठमाण्डौमा भेट भएको थियो उसले पनि विवाह गरी जन्मथलो परिवर्तन गरेको रहेछ । सीता भारततिर कता छ थाहा छैन, उनीहरुले त मलाई चिन्ने कुरै भएन। पछिल्लो समयसम्म गोविन्द मेरो सम्पर्कमा नियमित जस्तो नै थियो । तर उसको पनि डिभी परेर अमेरिका भाँसिएपछि सधै सुःख–दुःखका कुरा गर्ने साथी अब उसले पनि मलाई बिस्र्यो। यस्तै बरमक्का, चेतराज, यज्ञराज, राम, ध्रुब, गजी सबैले मलाई बिर्से ।
कैयौं पटक बसेर मैले पानी खाएका त्यो ढुङ्गाले पनि मलाई बिर्सियो । सुनेको छु, ‘त्यो हिम्मती ढुङ्गा टुक्राटुक्रा भएर सडक बनाउँदा माटोभित्र च्यापिएर रोईरहन्छ । त्यो सिमलको रुख काठमाण्डौमा कसैको घरको ढोका बनेर बसेको छ । चौतारी भत्किसक्यो अनि मलाई चिन्ने ध्रबुको कालो कुकुरपछि ध्रबुले ८ वटा कुकुर अरु पालिसक्यो ।’
अब त्यो बाटोमा सयौँ घरहरु छन त्यो बाटोले मलाई बिर्सिसक्यो, त्यो रुख मरिसक्यो, त्यो पोखरी सुकिसक्यो, माया गरी चिउरा दिने ठूली आमा, बाटोमा पिट्न आउने बाजे अब कोेही पनि रहेनन्। केवल तिनीहरुका यादमात्र बाँकी रहे। त्यो काठको पसल (खोका) कता गयो थाहा छैन, त्यो पसल मालिक रक्सीको लतले अब अन्तिम दिनहरु गन्दै छ रे, मैले अहिले पनि त्यो जन्मथलोलाई चिनेको छु, त्यो गाउँलाई चिनेको छु तर अहँ अब मलाई मेरै जन्मथलोले चिन्दैन !
म एक्लै भएको बेला आफूलाई त्यस ठाउँमा चिनाउन खोज्छु तर अब त्यो बाटोमा मलाई कोही चिन्दैन, चिन्नेले पनि विर्सिसके तर पनि म सँग महेन्द्रनगरको श्याम खेतको फोटो जस्ताको तस्तै छ ।
अलि ठूलो भए विद्यालय परिवर्तन भयो, त्यहाँ पनि त्यस्तै अनेकौ पात्रहरु आए, रमेश ओमकार, पुष्पा, विमलाजस्ता अनेकौ पात्र अमेरिका क्यानडा हान्निए। हरिश, गौरव, वसन्त, दीपा, सुमित्राले म जस्तै काठमाण्डौलाई कर्मथलो बनाए । धु्रब, गजि पुस्करआदि महेन्द्रनगर मै रमाए। फेरि हेर्दा त्यही कथा दोहोरियो यहाँ पनि। त्यो नहरको पुल जसमा दिनको दुई पटक ओहारदोहोर गर्थे, तर आजभोलि भत्केला जस्तो भएको त्यो पुलले मलाई चिन्दैन। सानोमा म खेल्ने त्यो पुरानो बसको संरचना त्यसलाई कवाडीले उहिले नै बेचिसक्यो रे । त्यो महाकाली सिंचाई भित्रको लिचीको रुख जसबाट लिची चोरी खान्थे, ५र७ वर्ष पहिले हुरीले त्यसको हातखुट्टा तोडिदियो रे ।
अब मलाई माया गरी पिट्ने मेरा मेडमहरु मलाई चिन्दैनन् । त्यो विद्यालय भवन परिवर्तन भई मैले पढ्ने कोठा कहाँ थियो खोज्नै सकिएन । त्यो गल्ली जहाँ बेलुकीबेलुकी साइकल चलाउदै बस्थेँ आज त्यो एकदमै चौडा भई घमण्डी भैसकेछ। झन् उसले त मलाई के चिन्थ्यो र । त्यो बैजनाथ स्कुल, त्यो सिद्धनाथ विज्ञान तथा बहुमुखी क्याम्पसहरुको पनि मैले रङ्ग परिवर्तन भएको देखिसके । म चिनाउन खोज्छु तर उनिहरु चिन्ने मान्दैनन् । ती केटी साथीहरुको पछिपछि साइकलमा उनीहरुको घरसम्म गएको पनि म ठ्याक्कै सम्झन सक्छु तर आज न त्यहाँ साथी छ, न त्यो घर, न तिनीहरुको ‘लेडिवर्ड’ साइकल । मलाई पढाउने शिक्षकहरु कति रिटायर्ड भए, त कतिले संसार नै छोडिसके । फेरी पनि म चिनाउन खोज्छु तर महेन्द्रनगरले चिन्न मान्दैन र सक्दैन पनि ।
मैले १० वर्षसम्म तेक्वान्दो खेलेको त्यो कभर्ड हल बुढो भई आँखा नै देख्न छोडेछ अनि मलाई कसरी चिनोस्। क्रिकेट खेल्दा छक्का हानेका कति बलहरु मेचको पछाडि खुला मैदानको झाँडीभित्र दबेका छन् । सायद तिनले चिन्थे की! तर खोज्ने सामर्थ्य भएन । अलि अगाडि नयाँ घरहरु बनिसके तिनीहरुले मलाई चिन्ने कुरा भएन। झन् त्यहाँ भित्र बस्ने मान्छेहरु मलाई कसरी चिन्थे र ! त्यो लुकेर सिग्रेट खाने झाँडी अब पार्क बनिसकेछ। त्यसले पनि बिस्र्यो। त्यो ठेलावाला दाई जसलाई पचास पटक भन्दा धेरै धम्क्याएर विना पैसा चाट खाने गर्थे, उसको छोरा आज काठमाण्डौमा छ रे। तर चाट बेच्ने बिर्सेको छ । त्यो कपाल काट्ने नाई दाइको पसल जहाँ दिनमा एकपटक भएपनि कपाल मिलाउन होस या ठूलो सिसामा आफ्नो अनुहार हेर्न जान्थे, त्यो दाई पनि आँखा नदेख्ने गरी बुढो भएछ र मलाई चिन्नै छोडेछ ।
यस्तै विभिन्न घटनारपात्र लिई म आफू महेन्द्रनगरसमक्ष चिनिन खोज्छु। तर अब उ मलाई चिन्न तयार छैन । त्यो घमण्डी भयो या उसको बाध्यता थियो, त्यो मलाई थाहा भएन। म स्वार्थी भएर उसलाई छोडे, तँ सानो ठाउँ भइस्, मेरा इच्छा आकांक्षाहरु अटाएनन् भनि आएको थिए । सायद त्यसैले उसले मलाई चिनेर पनि नचिनेझैँ गरिरहेको पो छ की ? म एकोहोरो भएर बारम्बार यही सोचिरहन्छु ।
न गल्ली, न चोक, न रुख, न पोखरी, न ढुङ्गा, न साथी, न भाई, न काका, न खेत, न खोला, चौतारी, न त ठेलावाला, न नाई दाई, न ध्रुबको कुकुर । अब मलाई चिन्ने महेन्द्रनगरमा कोही पनि छैन । महेन्द्रनगरलाई म विर्सन्न भन्छु तर महेन्द्रनगर मलाई चिन्दै चिन्दैन र चिन्न खोज्दैन पनि। बेलाबेलामा ठाउँ भन्दा पनि समयले विर्सेको हो की? जस्तो लाग्छ, त्यो पनि मन बुझाउनका लागि मात्र । तर एक कुराले मन बुझाएको छु, महेन्द्रनगरले मलाई विर्सदै गएपनि अरु ठाउँले अरु नगरले चिन्न थालेका छन् । अरु नगरले चिने पनि तिमी महेन्द्रनगर नै प्रिय लाग्छ, जहाँ मैले साना साना हातले खेलेको थिएँ। जसकारण तिमी मेरो मन मस्तिष्कमा बसेका छौ। तिमिले बिस्र्यौ म अति दुःखी छु तर विकल्प केही छैन । यो घटना मेरो लागि मात्र नभई प्रायः सबैमा हुने गर्दछ ।
तिमी चाहे जतिसुकै विर्स महेन्द्रनगर तर तिमीलाई कहिल्यै विर्सने छैन। मेरो कलम यही रोकिन्छ। मसी छ, याद छ, समय पनि अलिअलि छ तर म जति बोले पनि तिमी निर्दयी मलाई याद नगर्ने÷नसम्झीने भएकाले म यही रोकिएको छु । मेरो कलम यही रोकिएको छ ।