शिक्षाको गुणस्तर खस्कदो

सुर्खेत ।
राजनीतिक प्रभावले कर्णालीमा शैक्षिक गुणस्तर खस्किएको सरोकारवालाले बताएका छन् । कर्णाली फाउण्डेशनले आयोजना गरेको दिगो बिकास लक्ष्यका प्राप्तीका लागि शिक्षा सम्बन्धीको कार्याशालाका सहभागिहरुले यस्तो बताएका हुन् । युनेस्को नेपालको सहयोगमा भएको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सह(प्राध्यापक गणेशदत्त भट्टले गुणस्तरीय शिक्षाका लागि शिक्षण संस्थामा राजनितीक प्रभाव हुन नहुने बताए ।
कर्णाली फाउण्डेसनका अध्यक्ष नारायण भट्टराईले गुणस्तरीय शिक्षामा सरकारी तथा गैरसरकारी सस्थाले नीति तथा कार्यक्रमलाई लागु गर्न सहयोग गर्नुपर्नेमा जोड दिए । सामुदायिक र निजी विद्यालयले उत्पादन गरेका जनशक्ति विदेशिने कारणले पनि शैक्षिक जनशक्तिमा कमी आएको उनको भनाई छ ।
दिगो विकास लक्ष्यमा उल्लेख गरिएको गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्नको लागि सरोकारवाला निकायहरुबीच छलफल गरिएको छ । कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायाले शिक्षको गुणस्तरले मात्र बिकाउ जनशक्ति उत्पादन हुने भएकोले सबै तहका सरकारहरुले गुणस्तरीय शिक्षालाई ध्यानमा राखेर योजना बनाउनु पर्ने बताए । ‘कर्णालीको मौलिकता सुहाउँदो शैक्षिक प्रणालीका लागि आयोगले पनि योजना बनाउने तयारी गरिरहेको छ’ उनले भने । अहिलेको शिक्षाले बेरोजगार जनशक्ति निम्त्याएकोले गुणस्तरीय शिक्षा सिंगो नेपालकै चुनौती भएको बताए ।
ग्रामीण क्षेत्रको शिक्षाको अवस्था झन् गम्भीर भएको उनीहरुको भनाई छ । शैक्षिक गुणस्तर नहुँदा यहाँको जनशक्तिले अन्य क्षेत्रको जनशक्ति संग प्रतिष्पर्धा गर्न नसकेको उनीहरुको भनाई छ । गुणस्तरीय शिक्षा नहुँदा अहिले पनि कतिपय प्राविधिक जनशक्ति नै बेराजगार बस्नु परेको पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले बताए । कार्यक्रममा वरिष्ट अधिवक्ता नारायणप्रसाद घिमिरेले दिगो विकासको अवधारणा र यसको लक्ष्यहरुबीचको अन्तरसम्बन्धमा शिक्षाको पनि विशेष भुमीका रहेकोले सरोकारवालाले ध्यान दिनु पर्नेमा जोड दिए ।
शिक्षाका लागि राष्टिूय अभियानका अध्यक्ष डिल्लीराम सुवेदीले विद्यालय छोड्ने दर बढी भएकाले सरकारले ठोस योजना ल्याउनुपर्ने बताए । कार्यक्रममा कर्णाली प्रदेश सभाका सांसदहरु, विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख तथा शिक्षा शाखाका प्रमुखहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।