बिदाको दिन चलाएपछि नगरपालिकाको गाडी ट्राफिक प्रहरीको नियन्त्रणमा


सुर्खेत ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतले बिदाको दिन शनिवार विहान मंगलगढी चोकबाट बा२झ ३९७२ नम्बरको सरकारी गाडी नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएको गाडी कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाका नगर प्रमुख जर्सी पाण्डेले प्रयोग गर्दै आइरहेका थिए । गाडी चालक विनोद खड्काले चलाइरहेको बेला प्रहरीले गाडी नियन्त्रणमा लिएको हो । ‘बिदाको दिन सरकारी गाडी चलाउँदा जिल्ला प्रशासन कार्यालयको अनुमतिपत्र अनिवार्य रुपमा चाहिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘उहाँहरूसँग केही पनि कागजात नभएका कारण हामीले नियन्त्रणमा लिएका हौं । भोलि कार्यालय समयमा गाडी छोडिदिन्छौं ।’

खाँडाचक्र नगरपालिकाका नगर प्रमुख पाण्डेले गल्ती भएको स्वीकार गरे । ‘म आफू काठमाडौंबाट हिजो मात्रै फर्कें,’ उनले भने, ‘चालकले अनुमतिपत्र ल्याउनुपर्ने हो, ल्याएनन् ।’ उनले गाडी मर्मतका लागि ग्यारेजमा लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको दाबी गरे ।

जिल्ला प्रशासन कार्यालय कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले सरकारी नम्बर प्लेट भएका जुनसुकै गाडीको प्रयोग बिदाको दिनमा गर्नुपरे जिल्ला प्रशासन कार्यालयको अनुमति आवश्यक पर्ने बताए । ‘चालकले वा अन्य कर्मचारीले कम्तीमा टाढा जाँदा अनुमतिपत्र लिनुपर्थ्यो तर किन लिएनन् थाहा भएन,’ उनले भने, ‘विगतमा नगरपालिकाले अनुमति लिने गरेको थियो ।’ (लोकान्तरबाट)