विवादै विवादले जेलिएको महराको विगत

काठमाडौं १४ असोज । सामाजिक सञ्जाल होस् या चिया पसले अहिले सभामुख कृष्णबहादुर महराको विवादलाई लिएर टिकाटिप्पणी सुरु भएको छ । सामान्यतयाः सामान्य हैसियतका नागरिकलाई यत्तिको आरोप लागेको खण्डमा तत्कालै प्रहरीले पक्राउ गरेर अनुसन्धान प्रक्रिया सुरु गर्छ । तर महराको हकमा भने प्रहरीले सामान्य प्रतिक्रिया दिन समेत आनाकानी गरिरहेको छ ।
यतिसम्मकी प्रहरीले यसबारे आफूलाई कुनै जानकारी नरहेको भनि तकिएरहेको छ । सभामुख जस्तो सम्मानित ओहदामा बसेका व्यक्तिमाथि गम्भीर आरोप लागिसकेपछि यो विषयको कसरी टुंगो लाग्छ त्यो त आगामी दिनमा प्रष्ट हुनेनै छ तर महराकै सन्दर्भमा कुरा गर्दा यो विवाद पहिलो भने होइन ।
सुरुमा पछिल्लो विवादबारे चर्चा गरौंः
महरालाई संसद सचिवालयमा कार्यरत एक कर्मचारीलाई बलात्कार गरेको आरोप लगाएकी हुन् । आफ्नै कोठामा गएर मदिराको सुरुमा आफूलाई बलात्कार गरेको महिलाको दाबी छ ।
उनीसँग महराको पहिलेदेखिनै निकट सम्बन्ध रहेको बताइएको छ । यसबारे केही अनलाइनहरुले सनसनीपूर्ण समाचार प्रकाशित गरेपछि यसबारे सामाजिक सञ्जालमा तीब्र टिकाटिप्पणी भइरहेको छ । यसबारे सभामुख महराले भने समाचार र आरोप भ्रामक भएको भन्दै खण्डन गरेका छन् ।
‘सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु’ सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्ल्ले जारी गरेको खण्डन विज्ञप्तिमा भनिएको छ ।

‘समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दुव्र्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिदैन’ विज्ञञप्तिमा अगाडि भनिएको छ, ‘ हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु । सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तीबाट प्रष्ट पार्न चाहन्छु । साथै समाचारमा आएको जस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु ।’
संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा सभामुखले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट रहेको विज्ञद्दप्तिमा उल्लेख गरिएको छ । सोही असन्तुष्टिलाई लिएर सभामुखको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह गराइएको दाबी गरिएको छ ।
हुन त सत्ताकै वरिपरी बस्न रुचाउने भनेर समेत आलोचित महरा यसअघि पनि आधा दर्जन बढी विवादमा फसिसकेका व्यक्ति हुन् । बाहिर भद्र व्यक्तिको पहिचान बनाएको भएपनि उनको विवाद भने गर्माउने खालको रहेको छ ।
कृष्णबहादुर महरा जतिबेला सञ्चारमन्त्री थिए, ठीक त्यहीबेला नेपालमा सबैभन्दा धेरै फ्रिक्वेन्सीको ‘प्लटिङ’ भयो । ०६२–६३ को जनआन्दोलन सफल भएसँगै गठन भएको सरकारका सञ्चारमन्त्री रहेका महराले त्यतिबेला पूर्वराजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर सिंह र व्यवसायी अजेयराज सुमार्गीसँग मिलेर प्रिक्वेन्सी ‘प्लटिङ’ गरेका थिए ।

महरा सञ्चारमन्त्री हुँदा २०६४ फागुनमा नेपाल स्याटेलाइट टेलिकमले अनुमति पाएको थियो । भलै हालै सुर्मागीले पाएको फ्रिक्र्योन्सी हालै रद्द भएको छ ।
५० करोडको टेप काण्ड पनि महराको विवादको अर्को पाटो हो । २०६७ भदौ १८ गते उनले चिनियाँसँग पैसाको डिल गरेको अडियोमा बाहिर आएको थियो ।
तत्कालीन माओवादी नेता कृष्णबहादुर महरा र एक चिनियाँ व्यापारीबीच गम्भीर खालको संवाद भएको अहिले पनि युट्युबमा सुन्न पाइन्छ ।
२०७३ सालमा अर्थमन्त्री हुनुअघि नेता महराले अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले उनलाई १३ पाने फारम भराएर अनुसन्धान सुरु गरेको थियो । तर, अकुत सम्पत्तिमा छानविन भइरहेका बेला उपप्रधान तथा अर्थमन्त्रीको झण्डा उपहार पाउँदा विवाद आउने कुरा स्वभाविक नै थियो ।
अर्थमन्त्री भएपछि रोल्पा जिल्लामा करोडौं रकमान्तर गरेके भन्दै अख्तियारले उनीमाथि छानविन गरेको थियो । आफ्नो निर्वाचन क्षेत्रमा खुद्रे आयोजना खडा गरेर ६६ करोड रुपियाँभन्दा बढी गैरबजेटरी रकमान्तर गरेको भन्दै आयोगका तत्कालीन कार्यवाहक आयुक्त दीप बस्न्यातले महरालाई नछाड्ने अभिव्यक्ति दिएका थिए ।
लडाकुको नाममा बुझेको करोडौं बेरुजुमा पनि हराकै संलग्नता रहेको बताइन्छ । २०७३ भदौ ३१ गते साँझपख अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माओवादी लडाकु शिविरमा भएको भनिएको भ्रष्टाचारको अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी गराउन पत्रकार सम्मेलन गरेको थियो ।
पत्रकार सम्मेलनमा उपस्थित तत्कालीन अख्तियार प्रवक्ता गणेशराज कार्कीले शिविरमा भएको भ्रष्टाचारमा संलग्नहरूलाई ३० दिनभित्र उपस्थित हुनेगरी पत्राचार गरिएको जानकारी दिएका थिए ।
शान्ति प्रक्रिया सुरु भएसँगै क्यान्टोनमेन्टमा केन्द्रित गरिएका माओवादी लडाकुहरूको भरणपोषणका लागि सरकारले उपलब्ध गराएको रकम माओवादी नेता महराले बुझ्ने गरेका थिए । शान्ति प्रक्रियाको पहिलो वर्ष महालेखा परीक्षकको कार्यालयले ४६ करोड १० लाखको बेरुजु देखाएको थियो । जुन त्यस वर्ष भएको खर्चको ९२ प्रतिशत थियो ।
शान्ति सम्भौता भएदेखि चैतसम्म लडाकुको नाममा महराले बुझेको रकमको हिसाब अहिलेसम्म सार्वजनिक भएको छैन । यसबारे पार्टी्भित्र र बाहिर पटक–पटक कुरा उठ्न थालेपछि महरा विवादमा तानिएका थिए ।
यस्तै छोरा निर्मल महराको एनजीओमा चिनियाँ लगानीको विषयमा पनि महरा विवादमा तानिएका थिए । लोकपथबाट