कर्णालीका सांसदको दसैं – एकतादेखि उपनिर्वाचनको तयारीसम्म

सुर्खेत, १६ असोज । दसैं भित्रिएसँगै कर्णाली प्रदेशको संसद् अधिवेशन अन्त्य भएको छ ।
अधिवेशन सकाएर सांसदहरू गृहजिल्ला जाने तयारीमा छन् । कर्णाली प्रदेशका १० जिल्लामध्ये मुगु, हुम्ला र डोल्पाका केही सांसद भने घर जाने तयारीमा छन् ।
अन्य जिल्लाका सांसद भने केही दिनपछि मात्रै जिल्ला फर्किने योजनामा छन् । लामो समयदेखि आफ्नो निर्वाचन क्षेत्रमा जान नपाएका सांसदका लागि दसैं उपयुक्त हुन्छ ।
आआफ्नो निर्वाचन क्षेत्रमा पुगेर नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गर्ने र त्यहाँ सञ्चालन भइरहेका विकास आयोजनाको अनुगमन गर्ने अधिकांश सांसदको योजना छ ।
आव ०७५ – ७६ मा निर्वाचन क्षेत्रमा सञ्चालन भएका आयोजनाको अनुगमन, जनताका गुनासा सुन्ने र पार्टीको एकता प्रक्रिया सक्ने काममा समय खर्चने सत्तारुढ नेकपाका सांसदको तयारी छ ।
विपक्षी कांग्रेसका सांसद भने पार्टीको जागरण अभियानको समीक्षा, जनताका गुनासा सुन्ने र सरकारी कामको अनुगमनमा व्यस्त हुने भएका छन्।
दसैं नमनाउने सांसद भने शुभकामना आदानप्रदान र जनतासँगको भेटघाटमै व्यस्त हुने कार्यतालिका बनाएर जिल्ला जाँदैछन् ।
जुम्लाका सांसद दिनबन्धु श्रेष्ठले यसपटको दसैं काठमाडौंमा मनाउने भएका छन् । ’आमा र दाजुहरु काठमाडौंमा हुनुहुन्छ, टीका र आशीर्वाद थाप्न उतै जान्छु’ श्रेष्ठ भन्छन् ’टीकालगत्तै जुम्ला पुग्ने योजना बनाएको छु ।’ जिल्लामा रहँदा पार्टी कार्यकर्ता र जनतासँग भेटघाट गर्ने श्रेष्ठले बताए ।
जाजरकोटका सांसद कृष्णा शाहले विगत १६ वर्षदेखि दसैं मनाउन छाडेकी छन्। सशस्त्र युद्धमा सामेल हुँदा उनका परिवारका तीन जना सदस्य गुमेका थिए । त्यसयता उनले दसैं मनाउन छाडेकी हुन् । ’उतिबेला युद्ध जितेपछि मात्रै दसैं मनाउने योजना थियो’, शाहले भनिन्, ’पूर्णरुपमा जनयुद्ध जित्न सकिएन, त्यही भएर मैले दसैं मनाउन छाडें ।’

मुगुका सांसद दानसिंह परियारले आफन्तसँग भेटघाट र शुभकामना आदानप्रदान गरेर दसैं माउने योजना बनाएका छन् । ’दसैं त गाउँमै मनाउँछु । अभिभावकको आशीर्वाद र साथीभाइसँगको भेटघाटमै दसैं सकिनेछ’, उनी भन्छन, ’नगर र वडामा पार्टी एकताको काम पनि टुंग्याउने योजना छ । गत वर्ष निर्वाचन क्षेत्रमा भएगरेका विकास निर्माण पनि अनुगमन गर्नेछु ।’
दसैं बिदामा कर्णालीका केही नेताहरुको योजना केही भिन्न छ । कर्णाली प्रदेशसभाका सांसद एवम् नेपाली कांग्रेस संसदीय दलका नेता जीवन शाही उपनिर्वाचनको तयारीमा खटिनेछन् ।
सभामुख राजबहादुर शाहीले भने दसैं बिदामा जनतासँग पुग्ने बताएका छन् । सभामुखको जिम्मेवारी सम्मालेपछि जनतासँग नजिक हुने फुर्सद नपाएका उनी दसैंसम्म मतदाताको घरदैलोमा पुग्ने योजना बनाएका छन् ।

उपनिर्वाचन तयारीमा खट्नेछु, जीवनबहादुर शाही
अहिले संसद् अधिवेशन अन्त्य भएपछि म काठमाडौं आएको छु । पार्टी केन्द्रीय समिति बैठकमा सहभागी हुन यहाँं आएको हुँ ।
यसपालि मेरो परिवारमा दसैं छैन। केही दिन काठमाडौंमै बस्छु । यहाँ बस्दा पार्टीको केन्द्रीय नेतृत्वसँग भेटघाट र राजनीतिक परामर्शमै समय बिताउने योजना छ ।
हुम्लामा पुगेपछि मंसिर १४ का लागि तोकिएको उपनिर्वाचन तयारीमा खट्नेछु । आफ्नै गाउँपालिका खार्पुनाथमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि उम्मेदवारी छनोट र चुनावका लागि पार्टीको आन्तरिक तयारीमा समय बित्नेछ ।
त्यसैका लागि पनि हुम्ला जानैपर्छ । गाउँमा जाँदा जनतासँगको भेटघाट र नागरिकका गुनासा सुन्नेछु । विकास निर्माणका योजनाको प्रगति के–कस्तो छ भनेर अनुगमन गरेर फिर्ता हुनेछु ।
पार्टीको काममा व्यस्त हुनेछु , गोपाल शर्मा
मैले आजसम्म दसैं मनाएको छैन। यसपटक पनि दसैं मनाउने योजना छैन । जनताले मनाउने सबै चाडपर्वको सम्मान गर्छु। दसैंमा बिदा हुने भएकाले यो समय मैले पार्टीको काममा खर्चने योजना बनाएको छु। गाउँ गएर साथीभाइ, इष्टमित्रसँग भेटघाट र खुसी साट्नेछु ।
म नेकपा रुकुमपश्चिमको अध्यक्षको जिम्मेवारीमा पनि छ् । त्यसैले यो समयमा म पार्टीका साथीभाइ र जनतासँग पुगेर शुभकामना आदानप्रदान गर्छु । यसका साथै जनतासँग दुःख, दुःख साट्ने र उहाँहरुका गुनासा सुन्ने काम गर्नेछु । दसैंमा पार्टीका साथीसँग भेटघाट र पार्टीको काममै सक्रिय हुनेछु ।
जिल्लाका सबै तहका पार्टीको एकता टुंगिएको छ। दसैंको समय पारेर जिल्ला कमिटीको दोस्रो बैठक पनि राखेका छौं। साथै संसदीय दलको बैठकले विकास निर्माणका आयोजना अनुगमनको जिम्मेवारी पनि दिएको छ। यो अवधिमा जिल्लामा भएका विकास निर्माणका आयोजना अनुगमन पनि गरेर फिर्ता हुनेछु ।

जनताका गुनासा सुन्नेछु , राजबहादुर शाही
प्रदेश संसदको सभामुख भएपछि निर्वाचन क्षेत्रमा जाने अवसर कम मात्र मिलेको छ। यसपटक दसैंको मौकामा घर जाँदैछु ।
आफन्त र अभिभावकसँग खुसी साट्ने योजना छ। मान्यजनबाट टीका र आशीर्वाद थाप्ने, छरछिमेक र इष्टभित्रसँग भेटघाट गर्ने सोच बनाएको छु । तिहारसम्म जनताकै बीचमा हुनेछु । नेपालसमयबाट