चेन्नाइबाट काठमाडौं उडेको एउटा विमान त्रिभुवन विमानस्थलमा अवतरण

काठमाडौं असोज २५ ।
चेन्नाइबाट उडेको एयर चाइनाको एउटा विमान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।
भारतको चेन्नाइस्थित अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडेको विमान रौतहटको आकाश हुँदै नेपाल प्रवेश गरेको थियो । उक्त विमान ४ बजेर १० मिनेट जाँदा त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।
शी आएको विमान त्यो हो वा होइन भन्ने यकिन भएको छैन । स्रोतका अनुसार शीका लागि लजेस्टिक सामग्री र भ्रमण दलका सदस्यहरू उक्त विमानमा छन् ।
मोदीसँग अनौपचारिक भेटका लागि शी शुक्रवार भारत पुगेका थिए । नेपालको २ दिने राजकीय भ्रमणका लागि चेन्नाइबाट उनी सिधै काठमाडौंका लागि उडेका हुन् ।
विमानस्थलमा राष्ट्रपति शीलाई नेपाली सेनाले २१ तोपको सलामी दिने तय भएको छ । राष्ट्रपति शीको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने तयारी छ ।
राष्ट्रपति भण्डारीसँग आधा घण्टाको भेटपछि शी पुन सोल्टी होटल फर्किने छन् । राष्ट्रपति शीको स्वागतका लागि राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रि भोजमा सहभागी हुनुपूर्व उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग छुट्टा–छुट्टै भेटवार्ता गर्नेछन् । उनीहरू दुवैले ७ सात मिनेट समय पाएका छन् ।
त्यसपछि राष्ट्रपति शी डिनरमा सहभागी हुनछन् । जहाँ १ सय नेपालीसहित २ सय ५० जना पाहुना सहभागी हुनेछन् ।
रात्रिभोजमा सहभागी हुनेहरूलाई साढे ७ बजेभित्र हलमा पसिसक्न भनिएको छ । रात्रिभोज राति ९ बजेसम्म चल्नेछ ।

राष्ट्रपति शीले भोलि बिहान नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग भेटवार्ता गर्नेछन् । त्यसपछि प्रधानमन्त्री केपी शर्मासँग भेटवार्ता हुनेछ । दुवै भेट २० मिनेटको हुने परराष्ट्र स्रोतले बतायो ।
प्रधामनन्त्रीसँगको भेटपछि नेकपा सचिवालयका सदस्यहरूसँग राष्ट्रपति शीको भेटवार्ता हुनेछ । भेटपछि राष्ट्रपति शीको उपस्थितिमा नेपाल सरकार र चीन सरकारबीच केही सहमतिपत्र हस्तान्तरण गर्ने कार्यक्रम छ ।