प्रदेश प्रमुखमा ओली, प्रचण्ड भागबन्डा

काठमाडौं, १८ कात्तिक ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले सात प्रदेशमा नियुक्त गर्न सात जनाको नाम सरकारलाई सिफारिस गरेको छ।
अब मन्त्रिपरिषदबाट निर्णय भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई प्रदेश प्रमुख नियुक्त गर्नेछन् ।
सात प्रदेशका प्रमुख छान्दा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भागबन्डा भएको छ । ओली पक्षका चार जना प्रदेश प्रमुखमा सिफारिस भएका छन् भने प्रचण्ड पक्षका तीन नेता प्रदेश प्रमुख बन्ने भएका छन् ।
अर्का नेता माधवकुमार नेपाल पक्षबाट भने कोही पनि सिफारिसमा परेनन् ।
प्रदेश प्रमुख सिफारिस हुनेमा सोमनाथ अधिकारी प्यासी, धर्मनाथ यादव, गोविन्द कलौनी र विष्णु प्रसाईं पूर्वएमाले हुन् भने अमिक शेरचन, तिलक परियार र शर्मिला त्रिपाठी भने पूर्वमाओवादी हुन् ।
पृथ्वीनारायण कास्कीका प्यासी २०४३ सालमा जनपक्षीयतर्फबाट राष्ट्रिय पञ्चायत सदस्य भएका थिए । २०४८ सालमा एमालेबाट सांसद बनेका उनी नेकपाको स्थायी समितिमा आमन्त्रित सदस्य हुन् ।
२०७४ को चुनावमा उनी पूर्वएमालेको समानुपातिक सूचीमा थिए।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीनिकट प्यासी त्यागी र लोकप्रिय नेताका रूपमा चिनिन्छन् ।
अमिक शेरचन राष्ट्रिय जनमोर्चाका अध्यक्ष थिए। माओवादी १० वर्षे युद्ध छोडेर शान्तिप्रकृयामा आएपछि पार्टी एकता भएको थियो। उनी पूर्वमाओवादीबाट उपप्रधानमन्त्रीसम्म भइसकेका छन् ।
ओलीनिकट मानिने गोविन्द कलौनी भने प्राधानाध्यापकको जागिर छोडेर राजनीनीमा आएका हुन्। उनी २०५१ सालमा डडेल्धुराबाट नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग चुनाव लडेका थिए । तर हारे ।
२०६४ सालमा उनी कञ्चनपुरबाट चुनाव लडेका थिए। तर जितेनन्। उनी धेरैपटक सांसद टिकट पाएर पनि चुनाव हारेका नेतामध्ये पर्छन् .
बाँकेका तिलक परियार प्रचण्डनिकट दलित नेता हुन् । पहिलो संविधानसभामा उनीमाओवादीबाट बाँके १ का सभासद भएका थिए ।
झापाका विष्णु प्रसाईं यसअघि जिल्ला विकासको उपसभापति भएका थिए। गएको स्थानीय चुनावमा उनी मेची नगरनगरपालिकाको मेयरमा हारेका व्यक्ति हुन् । उनी झापा संघर्षदेखि नै अध्यक्ष ओलीनिकट हुन् । सिराहाका पुराना नेतामध्ये पर्छन्, धर्मनाथ यादव। पूर्वएमालेका केन्द्रीय सदस्य ओलीनिकट मानिने यादवले पार्टीबाट पाएको सबभन्दा ठूलो अवसर नै प्रदेश प्रमुख हो ।
काठमाडौंकी शर्मिला त्रिपाठी पूर्वमाओवादी कोटाबाट प्रदेश प्रमुख भएकी हुन्। द्वन्द्वकालमा सुरक्षाकर्मीले बेपत्ता पारेका ज्ञानेन्द्र त्रिपाठी उनका पति हुन् । सेताेपाटीबाट