अन्त हारेकाको योग्यता पुग्यो? कर्णालीको पुगेन’

काठमाडौँ, १८ कात्तिक ।
प्रदेश प्रमुखहरुको सिफारिस एकपक्षीय भएको भन्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् ।
नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकपक्षीय निर्णयसहित सिफारिस गरेको भन्दै नेता नेपालले असन्तुष्टि व्यक्त गरेका छन् ।
सोमबार बालुवाटारमा बसेको बैठकले सातै प्रदेशका प्रमुख नियुक्तिका लागि नाम सरकारलाई सिफारिस गर्ने निर्णय लिएको थियो । नेकपाका महासचिव विष्णु पौडेलका अनुसार प्रदेश प्रमुखमा सिफारिस गरिएकामा चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलकबहादुर परियार, सिरहाका धर्मनाथ यादव, डढेल्धुराका गोविन्द कलौनी, झापाका विष्णु प्रसाई र काठमाडौंकी शर्मिला त्रिपाठी रहेका छन् ।
बैठकमा वरिष्ठ नेता नेपालले विश्वकान्त मैनाली, रघु पन्त, अमृत बोहोरा, श्रीमाया थकाली र बेदुराम भूषाल लगायतको नाम प्रस्ताव गरेका थिए ।
बैठकमा नेता नेपालले यो निर्णयलाई असन्तुलित भनेका थिए ।
यसबारेमा नेता नेपालनिकट केन्द्रीय सदस्य विष्णु रिजालले सचिवालयको निर्णय आश्चर्यपूर्ण भनेका छन् ।
नेता रिजालले सात प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई छुट्याएको भन्दै असन्तुष्टि जनाएका छन् । ‘सात प्रदेश प्रमुख नियुक्त गर्दा कर्णालीलाई छुटाएकोमा आश्चर्य लागेको छ’, उनले भनेका छन् । नेता रिजालले मेयरमा हारेकालाई पनि प्रदेश प्रमुखका सिफारिस गरिएको रिजालले दाबी गरेका छन् । नेकपाले प्रदेश प्रमुखमा सिफारिस गरेकामध्ये नेकपा अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाका विष्णु प्रसाई २०७४ सालको स्थानीय तह निर्वाचनमा मेचीनगर नगरपालिकाको मेयरमा पराजित भएका थिए । उनले यसैलाई इंगित गर्दै यस्तो कटाक्ष गरेका हुन्। ‘अन्त मेयर हारेकाको योग्यता पुग्दोरहेछ’, रिजालले भनेका छन्, ‘तर, कर्णालीकालाई योग्यता पुग्न केके चाहिने रहेछ?’ । थाहाखवरबाट