को हुन् स्वास्थ्य राज्यमन्त्री नवराज रावत ?


राज्यमन्त्री नवराज रावतको जन्म २०२० पुस ३० गते अछाम जिल्लाको साविक मष्टबण्डाली गाविस हालको कमलबजार नगरपालीका वडा नं ९ मा पिता पहराम रावत र माता विष्ना रावतको कोखबाट भएको हो । २०३७ सालबाट राजनितिमा होमिएका रावत अनेरास्ववियु पाँचौको प्रारम्भिक कमिटीमा संगठित भएका थिए ।
२०४२ सालमा पार्टीको सम्पर्क कमिटी सदस्यको भएका रावतले २०४४ सालमा तत्कालीन व्यवस्था विरोधीको आरोपमा दुई पटक हिरासतमा बसेका थिए । २०४३ सालमा स्थानीय निकाय निर्वाचनमा बावियाचौरको उपप्रधानको समेत उम्मेदवार बनेका थिए ।
तत्कालीन युवा संघ सुर्खेतको संस्थापक सदस्य भएका रावतले २०४७ सालमा माले र माक्सवादी एकीकरणपछि जिल्ला संगठन कमिटी सदस्यको भुमीका निर्वाह गरे ।
२०४८ सालमा नेकपा एमालेको प्रथम जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्य बनेका रावत २०५१ सालमा मध्यावधी निर्वाचनको उम्मेदवार बनेका थिए ।
२०५५ सालको स्थानीय निर्वाचनबाट जिल्ला विकास समितिको उपसभापतिमा निर्वा्चित भए । २०६२र०६३ मा राजतन्त्र विरुद्धको आन्दोलनमा नेकपा एमालेको तर्फबाट आन्दोलनको नेतृत्व गरेका थिए । २०६३ मंसिर २६ मा सम्पन्न नेकपा एमाले सुर्खेतको पाँचौ जिल्ला अधिवेशनबाट सचिव पदमा निर्वा्चित भए ।
रावत २०६४ र २०७० सालको संविधान सभाको निर्वाचनमा उम्मेदवार बनेका थिए । २०७० असार देखि तत्कालीन नेकपा एमालेको संगठन कमिटी अध्यक्ष जिम्बेवारी निर्वाह गरेका रावत २०७४ को प्रतिनिधी सभाको निर्वाचनबाट सुर्खेत निर्वाचन क्षेत्र नं २ बाट नेकपाको तर्फबाट निर्वा्चित भएका हुन् । रावतका एक श्रीमती २ छोरा र ४ छोरी छन् । उनी उद्योग समितिको सदस्यको भुमीका समेत निर्वाह गरिरहेका छन् ।