गृह जिल्लामा राज्यमन्त्रि रावतको भव्य स्वागत, आशा धेरै आश्वासन कम

सुर्खेत, ८ मंसिर ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई गृह जिल्लामा मतदाता र शुभेच्छुकहरुले भव्य स्वागत गरेका छन् ।
सपथ खाएको दुई दिनमै गृह जिल्ला आएका रावतलाई सर्वसाधरण मतदातादेखि पार्टी कार्यकर्ता, स्थानीय सरकारका साथै अस्पताल र कर्मचारीहरु लगायत शुभेच्छुकहरुले भव्य स्वागत गरेका हुन् । काठमाण्डौँबाट शनिबार सदरमुकाम वीरेन्द्रनगर आएका राज्यमन्त्रि रावत सामान्य भेटघाटपछि सिधै जिल्लाको सबैभन्दा दुर्गम र पश्चिममा रहेको चौकुने गाउँपालिका पुगेका थिए । चौकुने गाउँपालिकामा स्थानीयले फूलमालाले भव्य स्वागत गर्दै शुभकामना दिएका छन् । राज्यमन्त्रि रावत नेपाल कम्यूनिष्ट पार्टी चौकुने गाउँपालिका कमिटिको सपथग्रहण कार्यक्रममा सहभागी भएर अबेर आफ्नै गृहनगर पञ्चपुरी फर्किका थिए । मतदाताको आर्शिवाद लिन आइतबार विहानै तातापानी पुगेका उनलाई स्थानीयले बाजागाजासहित स्वागत गरेका छन् । उनले आइतबारै स्वास्थ्य चौकी, विद्यालय र बाढी पीडित वस्तीको अनुगमन गरेका छन् । त्यसैक्रममा उनले तातापानीमा क्रियापूर्ती बसेको ठाउँमा गएर श्रद्धाञ्जली समेत अर्पण गरेका छन् । यस्तै राज्यमन्त्रि रावतलाई विद्यापुर बहुमुखी क्याम्पस, गृहनगर पञ्चपुरी नगरपालिकाले बाबियाचौरमा र कर्णाली प्रदेश अस्पताल, प्रदेश आर्युेवेद अस्पताल र राट्रिय स्वास्थ्यकर्मी संघ,नेपाल स्वास्थ्य प्राविधिक संघ र नेपाल राट्रिय स्वास्थ्यकर्मी संगठन सुर्खेतले वीरेन्द्रनगरमा स्वागत तथा शुभकामना व्यक्त गरेका छन् ।

राज्यमन्त्रि रावत आफ्नो वडा पञ्चपुरी नगरपालिका ५ को बाढी पीडित वस्तीमा पुग्दा स्थानीयद्धारा घेरिए । हातमा फूलमाला अविर लिएर आएका स्थानीयले उनलाई पालैपाले बधाइ दिँदै माला र अविर लगाइदिए । मन्त्रिको गलामा माला पहिराइदिएपछि स्थानीय प्रदिपे कामीले भने‘हाम्रा दुःख हजुरलाई थाहै छ अहिलेलाई शुभकामना छ ।’ उनीजस्तै शुभकामना दिन आउने सबैले विकासको आशा लिएर आएका थिए । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएदेखिनै रावतले गरेका प्रयासदेखि आशा गरेका जनताले अब मन्त्रिभएपछि पूरा हुने सोचेका छन् । मतदातामात्र होइन भेटघाटका क्रममा स्वास्थ्य चौकीदेखि प्रदेश अस्पताल, आयुर्वेद अस्पताल, चौकुने र पञ्चपुरी नगरपालिकाले समेत विभिन्न माग गरेका छन् । तर राज्यमन्त्रि रावतले भने आश्वासन भन्दा काममा विश्वास गर्ने भन्दै अहिले आफूले अध्ययन गरिरहेको जवाफ दिए । ‘म बोलेको कुरा पूरा गर्नुपर्छ भन्ने मान्यता राख्दछु’, पञ्चपुरीमा स्थानीय जनताका माग सुनीसकेपछि राज्यमन्त्रि रावतले भने,‘मन्त्रिको सपथ खाएको दुई दिनमै म तपाइहरुको आर्शिवाद लिन आएकोछु, मैले सक्ने र विधिसंवत् गर्नमिल्ने काम अवश्य गर्नेछु ।’ विद्यापुर क्याम्पसले बुझाएको माग पत्र बुझ्दै उनले उधारो आश्वासन दिनेभन्दा पनि बोलेको कुरा पूरा गर्ने दोहोर्याए । लामो समय पार्टी अध्यक्ष र २०६४ र ०७० सालको निर्वाचनमा समेत उमेद्वार बनेका रावत यो पटकसहित तीन पटक एउटै क्षेत्रमा चुनाव लडेर जनताको घरदैलोमा पुगेका जनताले पनि आफ्ना सबै समस्या बुझेकाले सोही अनुसार विकास गर्न शुभकामना दिएका छन् । भेटघाटका क्रममा उनले स्वास्थ्य मन्त्रालयका साथै जननिर्वाचित प्रतिनिधिका हिसाबले आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासका लागि आफू दृढताका साथ लागिपर्ने प्रतिबद्धता दोहो¥याए । उनी आश्वासन भन्दापनि काम गरेर देखाउने प्रतिबद्धता दोहो¥याएर सदरमुकाम वीरेन्द्रनगर फर्किका छन् ।