समृद्धिका लागि पुर्वाधार बिकास आवश्यक

सुर्खेत ।

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मीले कर्णाली समृद्धिका लागि पुर्वाधार बिकासलाई प्राथमिकता दिनु पर्ने बताएका छन् । राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपालले विहीबार वीरेन्द्रनगरमा आयोजना प्रदेशस्तरीय युवा सम्मेलनमा उपाध्यक्ष रेग्मीले बिकासको कर्णाली मोडल तयार गरीरहेको जानकारी दिए ।
कर्णाली समृद्धिका लागि पुर्वाधार बिकासलाई प्राथमिकता दिनु पर्नेमा जोड दिए । २५ बर्षमा कस्तो कर्णाली बनाउने भन्ने गुरुयोजना बनाउन लागिएको बताए । ‘स्वास्थ्य शिक्षा रोजगार’ त्यस्का लागि पुर्वाधार नारासहित अघि बढ्न लागिरहेको भन्दै व्यवसायिक शिक्षाको लागि कर्णालीमा हिमालय प्राविधिक तथा विश्वविद्यालयको स्थापना गर्न लागिएको उनले बताए । कर्णालीको बिकास र परिर्वतनमा युवाहरुको भुमिका महत्वपूर्ण हुने उनको भनाई छ ।
कर्णालीका युवाहरुको अनिवार्य आयआर्जनका लागि उद्यमशिलतामा जोड दिनु पर्ने बताए । कर्णालीको पानी, खानी, जडिबुटीलाई प्रबद्र्धन गरी बिकासको मोडल तयार गरिने बताए । थोरै काम गर्ने र धेरै दुरुपयोग गर्ने प्रवृत्तीले कर्णालीको बिकास ढिला भएको उनको भनाई छ । ‘बिकासका कार्यहरुमा थोरै लागनी गर्ने र धेरै दुरुपयोग गर्ने प्रवृत्तीले प्रदेशको बिकास हुन सक्दैन्’ उनले भने ।
सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर बिकेले देश विकासमा युवाहरुको महत्वपूर्ण भुमिका हुने बताए । राष्ट निर्माणमा युवाहरुको योगदान जरुरी भएको भन्दै युवाहरु दायित्वबोध, जाँगरिलो भइ परिर्वतनका लागि आवाज उठाउनुपर्ने उनको भनाई छ । सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले कर्णाली प्रदेश सरकारले सबै भन्दा पहिले विकासको मोडल तयार गर्नुपर्नेमा जोड दिए ।