मिलन चौतारीको १३ औँ साधारणसभा

सुर्खेत, १४ मंसिर ।
मिलन चौतारी बचत तथा ऋण सहकारी संस्था सुर्खेतको १३ औँ साधारणसभा शनिबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
साधारणसभाबाट संस्थाको बार्षिक प्रगति प्रतिबेदन, आर्थिक प्रतिवेदन र आगामी वर्षको प्रस्तावित कार्यक्रम पारित भएको छ । साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष नवराज देवकोटाले आर्थिक बर्ष २०७५÷०७६ मा ३ करोड ३० लाख ६३ हजारका कारोबार भएको बताए । उनका अनुसार संस्थाको शेयर पुँजी २५ लाख १५ हजार रहेको छ । संस्था जग्गा खरिद तथा घर निर्माण, शैक्षिक कर्जा, व्यापार कर्जा, कृषि तथा पशुपालन, औषधि उपचार र घायसी ऋण गरी छ प्रकारका कर्जा प्रवाह गर्दै आएको सचिव कृष्णाकुमारी उपाध्यायले जानकारी दिइन् । यस्तै सहकारी संस्थाले विभिन्न सम्मान तथा पुरस्कार पनि वितरण गरेको छ । धेरै शेयर खरिद कर्तामा यामप्रसाद गौतम र जानकी देवकोटा, ज्येष्ठ नागरिक तर्फ रुद्रलाल देवकोटा र टिकादेवी पौडेल, असल बचतकर्ता तर्फ चिरञ्जीवीकेशर खनाल र यामकुमारी चालिसे, असल ऋण तर्फ डम्मरबहादुर खत्रीलाई पुस्तकृ तथा सम्मान गरिएको सचिव उपाध्यायले बताइन् । उनका अनुसार छात्रबृत्ति तर्फ कुमार नेपाललीलाई र सत्केरी स्याहार राहत कार्यक्रम अन्तर्गत चन्द्रा खत्री कार्कीलाई प्रदान गरिएको छ ।
साधारणसभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघका प्रतिनिधि वीरबहादुर रावतले सहकारी मार्फत समृद्धि ल्याउन सकिने बताए । उनले सहकारीले सामूहिक सफलता मिल्ने भन्दै गरिबी हटाई समृद्धिका लागि सहकारीको परिचालन अपरिहार्य भएको बताएका हुन् । यज्ञप्रसाद देवकोटाको अध्यक्षतामा भएको साधारणसभामा नेप्सकोनका छत्रप्रसाद धमला, सल्लाहकारहरु टिकाराम देवकोटा, लोकप्रसाद देवकोटा, प्रेमबहादुर घले, गोविन्दप्रसाद आचार्य, कुलमणि देवकोटा लगायतको उपस्थिति रहेको थियो ।