सीपमुलक तालिमको व्यवस्था गर्न माग

सुर्खेत ।
कर्णाली प्रदेशका मनोसामाजिक समस्या भोगिरहेकाहरुले सीपमुलक तालिमहरु सञ्चालन गरिदिन माग गरेका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ र सिएमसी नेपालको संयुक्त आयोजनामा मानसिक तथा मनोसामाजिक समस्या भएका व्यक्ती र सरोकारवालाबीच राजधानी सुर्खेतमा गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका यस्तो माग गरेका हुन् ।
आफुहरु समाजको दबाब र अन्य विभेदका कारण मनोसामाजिक समस्या पर्ने गरेको भन्दै आफुहरुलाई विभिन्न सिपहरु सिकाई व्यस्त हुने गरी सीपमुलक तालिमको आवश्यकता भएको उनीहरुको भनाई छ ।
मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र काठमाडौंका कार्यसमिति सदस्य महन्तबाबु महर्जनले धेरैजसो विभेदका कारण मनोसामाजिक समस्या हुने गरेको भन्दै समतामुलक समाज बनाउन आवश्यक रहेको बताए ।
विभेद हटाउन सरकारी तथा गैरसरकारी निकाय लाग्नुपर्नेमा जोड दिँदै यसले मात्रै अधिकांश मनोसामाजिक समस्या कम गर्न सकिने उनको भनाई छ ।