अपाङ्गता भएका बालबालिकाहरुका लागि खेलकुद प्रतियोगिता

सुर्खेत ।
हरेक वर्ष ३ डिसेम्बर २०१९ मा मनाइने अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सोमबार वीरेन्द्रनगरमा अपाङ्गता शसक्तिकरण केन्द्रको आयोजना तथा वीरेन्द्रनगर नगरपालिका, शिक्षा विकास निर्देशनालय, आई.एन.एफ. को समन्वयमा अपाङ्गता भएका बालबालिकाहरुका लागि खेलकुद प्रतियोगिता भएको छ ।
प्रतियोगितामा कुर्सि दौड, घैटो फुटाउने, १०० मिटर दौड, बेलुन फुटाउन, १०० मिटर दौडमा ह्विल चियर दौड, दृष्टिविहिन दौड, न्युन दृष्टियुक्त ब्यक्तिहरुको दौड प्रतियोगिता गरिएको थियो ।

प्रतियोगितामा भाग लिएर विजेता बनेका हरुलाई पुरस्कार वितरण भने अन्तराष्ट्रिय अपाङ्गता दिवसकोदिन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सिद्धबहिरा विद्यालय विरेन्द्रनगर, शिखर मा.वि. रामघाट , श्री कृष्ण संस्कृत मा.वि. इत्राम, जनसेवा मा.वि. घुस्राबाट विद्यार्थीहरुले सहभागिता जनाएका थिए, भने अन्य समुदाय स्तरमा रहेका अपाङ्गता स्वावलम्बन समुहमा आवद्ध बालबालिकाहरुको समेत सहभागिता रहेको थियो ।
अपाङ्गता भएका वालबालिकालाई यसरी खेलकुदमा समावेश गर्दा उनीहरुको हौसला र मनोवल बढेर जाने र त्यस्ता खाले प्रतियोगिताहरुले उनीहरुको क्षमता वृद्धिमा टेवा पुग्ने सरोकारवालाहरुको भनाई थियो ।