विकासको एकमात्र मन्त्र ‘रेल र टनेल’

शेरजंग बहादुर चन्द / कृष्ण भक्त दुवाल 

पहाडमा टनेल, तराईमा रेल, अनि कसरी हुन्छ हाम्रो विकास फेल ?

‘जयनगर–बर्दिबास रेल अबको केही दिनमा चल्छ’ भन्ने सुनेको पनि दुई वर्ष भन्दा बढी नै समय वितिसकेको छ । आजको दिनमा अझ ‘केही महिनामा रेल चल्छ’ भन्ने सुनिन्छ । तर त्यसले कहिले साकार रुप लिने हो ? त्यो अहिले नै अनुमान लगाउन सकिने अवस्था छैन ।
नेपालमा रेल र टनेलको .अवस्था
करिब ९० वर्ष पहिले राणकालमा सुरु गरिएको रेल रक्सौल–सिरसिया ६ किलोमिटर र जयानगर–जनकपुर २८ किलोमिटर हाल बन्द अवस्थामा छन् । यस्तैगरी राणकालमा नै सुरु भएको एक सय चार वर्ष पुरानो सुरुग मार्ग मकवानपुरको चुरियामाई सुरुङ मार्ग (सात सय मिटर) हालको अवस्थामा भग्नावशेष मात्र छ । हालको अवस्थामा ‘पूर्व पश्चिम रेल’, ‘काठमाडौमा रेल’, ‘फलानो ठाउँमा रेल’ भन्ने तमाम कुराहरु नआएका होइनन् । तर समाचार अध्ययनपछि त्यो रेलको कुरा बन्द छ । ल्हासा, काठमाडौ, पोखरा, लुम्विनी रेल पत्रपत्रिकामा पढ्दापढ्दै उमेर जान थालिसकेको अनुमान गर्दैछौ । रेल नेपालका लागि अप्ठ्यारो छ तर पनि असम्भव छैन । तर पनि अहिलेसम्म असम्भव जस्तै सफल हुन सकेको छैन ।
टनेल (सुरुङ मार्ग) नेपालमा प्रयोगमा नआएको होइन । तर त्यसलाई हामीले हाइड्रोपावरमा मात्र देखिरहेका छौ । सानाठूला सुरुङ्ग नेपालमा बनिसकेका छन् । ती सवै हाइड्रोपावरका लागि मात्र प्रयोगमा आएका छन् । सडकका लागि यी सुरुङको प्रविधि कुनै फरक छैन । तर बन्न समय लाग्ने अवस्था छ । नेपालमा हालसम्म बनेको छैन ।

  • देशले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गरेको अध्ययनलाई हेर्ने हो भने सुरुङ मार्ग हालको सडक भन्दा सस्तो पर्न जान्छ । सम्पूर्ण सवारीसाधनमा भएको बढी इन्धन खर्च, सडक मर्मत खर्च, सवारी दुर्घटना अवस्था र खर्च, सुरक्षा निकाय तथा सरकारी स्रोतसाधन परिचालन खर्च, सम्पूर्ण सवारीसाधन मर्मत खर्च, उचित व्यक्तिको खर्च, मानसिक तनाब खर्च जस्ता अनेकौ पक्ष हेर्दा टनेल नै सस्तो भएको देखिन्छ”

भारतको अवस्था
भारतमा करिब एक सय ६६ वर्ष पहिले सन् १८५३ मा रेल चल्न थालेको थियो । जुन हालसम्म एक लाख २२ हजार किलोमिटर ट्रयाक खोली चलिरहेको छ । जसमा करिब ६ सय सय पाँंच विजुलीबाट चल्ने ट्रेन छन् । तर हामी अहिले पनि करिब ४०–५० किलोमिटर रेल, त्यो पनि पुरानो प्रविधिलाई चलाउन सकिरहेका छैनौ । ४० किलोमिटर चलाउन खोज्दा मात्रै पनि दिपावली मनाउने अवस्था छ । यस्तो अवस्थामा हामी कसरी रेल चलाउन सक्छौ ? र कसरी अरु देशहरुसँग विकासको गति लिन सक्छौ ? यो आफैमा एक विशाल प्रश्नको रुपमा उभिएको छ ।
भुवनोटको आवश्यकता सुरुङ मार्ग
नेपालको भुवनोटलाई हेर्दा करिव २० किलोमिटर चढ्नु तथा २० किलोमिटर ओर्लिनुलाई वनाएको सडकमा सामान्य दुई अर्ब पैसा खर्च हुन्छ । जुन चारदेखि पाँच किलोमिटर सुरुङ्ग सजिलै पुग्ने अवस्था रहन्छ । चियावारीदेखि खुर्काेट उदाहरणका रुपमा लिन सकिन्छ । चियाबारी–खुर्कोटमा ५ देखि ६ किलोमिटर सुरुङमार्ग बन्ने अध्ययन गरिएको छ ।
देशले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गरेको अध्ययनलाई हेर्ने हो भने सुरुङ मार्ग हालको सडक भन्दा सस्तो पर्न जान्छ । सम्पूर्ण सवारीसाधनमा भएको बढी इन्धन खर्च, सडक मर्मत खर्च, सवारी दुर्घटना अवस्था र खर्च, सुरक्षा निकाय तथा सरकारी स्रोतसाधन परिचालन खर्च, सम्पूर्ण सवारीसाधन मर्मत खर्च, उचित व्यक्तिको खर्च, मानसिक तनाब खर्च जस्ता अनेकौ पक्ष हेर्दा टनेल नै सस्तो भएको देखिन्छ ।
नेपालमा टनेल इन्जिनियरिङ र त्यसको अर्थशास्त्र
नेपालमा केही टनेल इन्जिनियरिमा विद्याबारिधी गरेर फर्केका मानव स्रोत छन् । केही मास्टर गरेका मानव स्रोत छन् । तर अध्ययन गर्ने हो भने नेपालका ती मानव स्रोतले प्रयोगात्मक रुपमा कार्य गरेको अवस्था देखिंदैन । हालसम्म नेपालमा वनेको दुई सय २० किलोमिटर सुरुङमा कुनै नेपाली इन्जिनियरले आफ्नै डिजाइन गरी सुरुङ बनाएको छ ? वा सहायोगी भूमिकामा काम गरेको छ ?
अध्ययनले कुनै पनि सुरुङमार्गमा काम गरेको देखिर्दैन । सामान बोक्नेबाहेक अन्य मानसिक काम नेपाली मानव स्रोतले गरेको देखिदैन । एक दुई ठाऊ बाहेकर यसको अर्थ हामी सुरुङ मार्गमा पूर्णरुपमा शून्य अवस्थामा छौ । न कुनै सुरुङ मार्गको अनुभव भएको इजिनिअअर छ, न कुनै कन्सल्टेन्सी छ वा न कुनै संस्था छ । तर हामीलाई सबैभन्दा बढी सुरुङ्गमार्गको आवश्यकता रहेको छ ।
राष्ट्रिय गौरवको आयोजनामध्ये एक आयोजना भेरी बबई डाईभर्सन आयोजनामा १२.२१ किलोमिटर सुरुङ्ग दुई वर्षमा खनियो । जुन तोकिएको समय भन्दा एक वर्ष अगावै बनाएको हो । यस कामले नेपालमा धेरै चर्चा पायो । चिनिया कम्पनी कोभेकले बनाएको यो मार्गमा कन्सल्टन्सीका रुपमा इटलीको एक कन्सल्टेन्सी रहेको छ । तर यो सम्पूर्ण कार्यमा न नेपाली कुनै इन्जिनियरले केही सिक्न पायो न कुनै कन्सल्टन्सीले काम गर्न सक्यो । पर्याप्त मानब स्रोत र अनुभव नभएको कारण यस्तो भएको हो ।
वास्तवमा यो काम समय भन्दा पहिले भएकै हो । तर जुन डिपिआर गर्दा यति समय लाग्छ भनी विदेशी डिपिआर कम्पनीले गरेको थियो, त्यो बढी थियो । किनकि त्यो डिपिआर बनाउने चिनियाँ कम्पनीले नेपालको भुबनावट कस्तो छ र कति समय लाग्छ भन्ने अनुमान गर्न सकेको थिएन । यसैले डिपिआरमै समय बढी लाग्ने गरी तयार पारियो । साथै यस्तो विशिष्टीकरण लाग्छ भनी आफै डिपिआर तयार गरेर त्यसैमा आफुले नै काम गर्दा समय भन्दा पहिले काम भएको देखिन्छ ।
४.२ किलोमिटरको डायमिटर सुरुङ्ग १२.२१ किलोमिटर बनाउनका लागि कन्सल्टेन्सीमा करिब ५६.५ करोड तथा सुरुङ्ग खर्चमा १०.५ अर्ब रहेको छ । जसका लागि टिविएम मेसिनमा मात्र ३९ करोडको खर्च गरिएको छ । हामीले चीन जापानमा लाग्ने खर्चको तुलना गर्ने हो भने ४०–५० प्रतिशत रकम बढी हो । साथै समय पनि २ वर्ष वढी नै हो । अब हामीले भन्न सक्छौ, यो सुरुङ्ग ५–६ अर्ब र मात्र दुई वर्षमा बन्ने सुरुङ्ग हो । यो प्रविधि हामीले आयातित गर्ने हो । तर कन्सल्टेन्सी तथा सुरुङ्गको कार्य नेपाली इन्जिनियर र नेपाली कामदारले मात्र गर्ने हो भने यो ४० प्रतिशत सस्तोमा हुने काम हो । यस्तै नागढुंगाको सुरुङ्ग मार्ग पनि करिब १२–१३ अर्बमा बन्ने अवस्था छ । तर डिपिआर नै यस्तो किसिमको बनाइएको छ कि जसमा रकम बढि लाग्छ किनकि हामीसँग न सुरुङ्गको डिपिआर बनाउन सक्ने मानब स्रोत छ, न सुरुङ्ग बनाउन सक्ने नै, न सुरुङ्ग सम्बन्धि परामर्श दिन सक्ने नै ।
अब के गर्ने ?
नेपालमा सानाठूला सुरुङ्ग मार्गका लागि १६ वटा स्थानको अध्ययन भएको छ । नागढुङ्गा सुरुङ्ग मार्गको काम सुरु भइसकेको छ । सात वटा भन्दा बढी सुरुङ्ग मार्गका लागि डिपिआरको अन्तिम तयारी भइरहेको छ । करिब पाँंच सयदेखि सात सय किलोमिटर हाइड्रोपावरका सुरुङ्गहरु अबको १० वर्षमा खन्नुपर्ने देखिन्छ । यी सबै पक्ष नेपालको विकासका लागि राम्रा पक्ष हुन । तर यी सबै सुरुङ्गहरु नेपालीले नबनाएर विदेशीले नै बनाउने हो भने हामीले कहिल्यै बनाउने सक्दैनौ । सुरुङ्ग इन्जिनियरिङ नेपालमा सुरु हुनु धेरै ठूलो सुरुवात हो तथा अब हामीले नेपालमा हुने जति पनि सुरुङ्गमार्ग वा हाइड्रोपावरका सुरुङ्ग छन्, यी सबैमा कम्तीमा ३०५ नेपाली इन्जिनियर वा नेपाली प्रविधि कामदारले काम गर्नुपर्ने भन्ने अनिवार्य नियम लगाउनुपर्छ । कन्सल्टेन्सीको हकमा पनि नेपालले ३० ५नेपाली इन्जिनियर राख्नुपर्ने नियम पालना गर्नुपर्ने हुुन्छ । तब मात्र हामी १० वर्षपछि सुरुङ्ग मार्गमा आफै सफल भई सुरुङ्ग खन्न सक्ने अवस्थामा पुग्छौ । नत्र हेभी इक्विपमेन्ट मेशिनहरु हामीले विदेशबाट ल्याउनुबाहेक कुनै पनि विकल्प नभएको बेला मानवस्रोत तथा अनुभव पनि हामीले नलिने हो भने हामी विकास गर्न सक्दैनौ, चाहे त्यो रेलमा होस या टनेलमा ।
अन्त्यमा 
जुनसकै पनि प्रविधि निर्यात गर्दा बढी खर्च लाग्नु स्वाभाविक नै हो । तर उक्त प्रविधिलाई समयमा आफले सिक्नु बुद्धिमानी हो । हाल नेपाल सरकारलाई यो बेला अन्य विकल्प नरहेको कुरा साँचो हो । तर अबको पाँंच वर्षमा विकल्प बनाउनपर्छ र १० वर्षमा नेपालीले नै सुरुङ्ग खन्न दक्ष हुनुपर्ने हुन्छ ।
४० वर्ष पहिले ५० हजारमा रंगिन टिभी किन्ने गरिन्थ्यो । जुन आजको समयमा करिब ५५ लाखभन्दा बढी हुन सक्छ । तर आज हामीले रंगिन टिभी ५५ .लाखमा किन्दैनौ । किनकि प्रविधि सस्तो भएको छ । आज पनि हामी ५० हजारमै सबैभन्दा राम्रो टिभी किन्ने गर्दर्छौ ।
वास्तवमै नेपालको भौगोलिक अवस्था हेरी देशको विकास गर्ने हो भने हामीलाई तराईभरि रेलको सञ्जाल र पहाडमा टनेलको बाटोघाटो हुनैपर्ने हुन्छ । तर विडम्बना आज हामीसँग न तराईमा रेल छ न त कुनै टनेल नै बनेको छ । त्यसकारण रेल र टनेल प्रविधि पनि हामीले भित्राउनु हाम्रो आबश्यकता हो ।

शेरजंग बहादुर चन्द (अर्थबिद )
कृष्ण भक्त दुवाल (इन्जिनियर)