कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य


सुर्खेत । बुधबार देखि ‘नेपाल भ्रमण वर्ष २०२०’ सुरु भएको छ । केन्द्र सरकारले घोषणा गरेको यो महत्वाकांक्षी अभियानलाई सफल बनाउन प्रदेश सरकारले पनि भरमग्दुर प्रयत्न गरिरहेका छन् ।
यसै क्रममा कर्णाली प्रदेशले यहाँका ४० वटा पर्यटकीय गन्तव्य छनोट गरेको छ । भ्रमर्ण वर्ष २०२० मा एक लाख विदेशी पर्यटकसहित कर्णालीमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य प्रदेश सरकारको छ ।
स्वर्गकी अप्सराका नामले चिनिने मुगुको राराताल, डोल्पाको शे–फोक्सुन्डो, सल्यानको कुपिन्डे दह, रुकुमपश्चिमको स्यार्पुताल, सुर्खेतको बुलबुले, काँक्रेविहार र दैलेखेको पञ्चकोशी लगायत छनोट भएका हुन् ।
त्यस्तै भेरी र कर्णालीमा राफ्टिङ, कालिकोटस्थित ३ सय १८ मिटर अग्लो पचालझरण, युद्ध पर्यटकीय स्थल पिली, हुम्लाको लिमी उपत्यका, खसभाषाको उद्गमस्थल जुम्लाको सिंजा, जाजरकोट दरबार लगायत ४० वटा स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा छनोट गरिएको छ ।
यसैबीच भ्रमण वर्षलाई सफल बनाउन यहाँ कर्णालीमा आउने पर्यटकलाई विशेष छुट दिइने भएको छ । सुुर्खेतका होटल व्यवसायीहरुले पर्यटकलाई २० प्रतिशत छुट दिने भएका छन । होटल व्यवसायी संघ सुुर्खेतले आन्तरिक तथा बाह्य पर्यटकलाई १० प्रतिशत खाना र अवासमा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । संघका अध्यक्ष गोरख रावतले कर्णालीमा पर्यटकहरुलाई आकर्षित गर्नका लागि छुट गरिएको बताए ।
यस्तै कर्णालीमा आउने पर्यटकले राफ्टिङमा पनि छुट पाउने भएका छन् । राफ्टिङ एण्ड एडभेन्चर प्रालि पञ्चपुरी सुुर्खेतले ५० प्रतिशत छुट दिने जनाएको छ । प्रालिका निर्देशक देवराज जैसीले कम्पनीले पर्यटन बर्ष २०२० अवधिभर ५० प्रतिशत छुट दिने बताए । उनका अनुसार भेरी नदीको जामुु पुलदेखि भेरी कर्णाली दोभान हुुँदै कुहिने पुलसम्म १५ किलोमिटर राफ्टिङमा दुुई हजार शुल्क भएकोमा जनवरी एकदेखि एक हजार मात्र शुल्क लिइने छ ।
कर्णाली प्रदेशमा पर्यटकीय स्थल बुलबुलेबाट भ्रमण वर्षको शुुभारम्भ गरिनेछ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश पर्यटन प्रवद्र्धन समिति र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम गर्ने छन् ।
उद्घाटन समारोहमा कर्णाली प्रदेहकोे छुट्टै पहिचान झल्कने लोगो सार्वजनिक गरिने छ । यस्तै भ्रमण वर्षको पहिलो दिन कर्णालीमा आउने पर्यटकहरुलाई विमानस्थल र नाकाहरुमा सम्मान गरिनेछ ।