राजधानीबाटनै लाइसेन्स वितरण सुरु भएसंगै नेपालगञ्ज र जुम्ला पुग्नुपर्ने बाध्यताको अन्त


सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाटनै सवारी चालक अनुमति–पत्र (लाइसेन्स)  वितरण सुरु भएसंगै लाइसेन्सको लागि नेपालगञ्ज र जुम्ला पुग्नुपर्ने बाध्यताको अन्त भएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतबाटनै पहिलो पटक सवारी चालक अनुमति–पत्र (लाइसेन्स) वितरण सुरु भएको हो ।
यातायात व्यवस्था विभागले सुर्खेतबाटै लाइसेन्स वितरण गर्न अनुमति दिएको करीब एक बर्ष पछि सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वीरेन्द्रनगर स्थित रहेको यातायात व्यवस्था कार्यालयवाट सवारी चालक अनुमतिपत्र वितरणको शुभारम्भ गरेका हुन ।
अनुमती–पत्र वितरणको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले अहिलेको वर्तमान आवश्यक्तालाई परिपुर्ती गर्दै वर्तमान सरकार अगाडी बढिरहेको बताए ।
उनले भने, ‘ब्यवस्था ल्याउने कुरा मात्रै मुख्य कुरा हैन, ब्यवस्था ल्यायपछि त्यसको प्रभावकारी कार्यान्वयन कसरी गर्छौ भन्ने परिणाम निकाल्नु मुख्य कुरा हो ।’
अहिले पनि सत्ता सञ्चालनमा पुरानै परम्परा भएको बताउदै उनले कर्मचारी पनि पुरानै परम्पराबाट आएको हुँदा ब्यवस्था नयाँ भएको हुँदा पुरानाले नयाँ काम गर्न सक्छौ की सक्दैनौ भन्नेनै ठुलो चुनौती रहेको बताए ।
एकात्मक शासन ब्यवस्थाकै तरिकाले बजेट विनियोजन गरिए विकासले तिब्रता पाउन नसक्ने उनले बताए ।
कर्णाली जस्तो भौगोलिक विकटता भएको ठाउँमा कर्मचारीलेनैे लापरबाही गरेर असक्षम ब्यक्तिलाई अनुमती–पत्र दिन थालेपछि १ जनाको कारणले गर्दा धेरैको ज्यान खतरामा पर्ने बताउदै उनले यातायातका कर्मचारीलाई कदापी त्यस्तो नगर्न अनुरोध गरे ।
यता कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्राविधिकतर्फका कर्मचारी नहुँदा समयमै नयाँ लाइसेन्स वितरण गर्न नसकिएको बताउँदै आएको थियो ।
मन्त्रालयले सेवा करारमा प्राविधिकतर्फका कर्मचारी छनोट गरेपछि सुर्खेतबाट सवारी चालक अनुमति पत्र वितरणको काम अघि बढाइएको हो ।
यसअघि नयाँ सवारी चालक अनुमति पत्र लिन कर्णाली अञ्चल कार्यालय वा भेरी अञ्चल कार्यालय नेपालगञ्ज धाउनु पर्ने बाध्यता थियो ।