खाद्य अधिकार विषयक सरोकारवालासँग अन्तरक्रिया

सुर्खेत ।
वीरेन्द्रनगर नपाले बजार व्यवस्थापन तथा अनुगमन ऐन पारित गरेपनि प्रभावकारी रुपमा बजार व्यवस्थापन र अनुगमन नगरेको एक कार्यक्रममा सहभागीहरुले गुनासो गरेका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले माघ २६ गते वीरेन्द्रनगरमा आयोजना गरेको खाद्य अधिकार विषयक सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो गुनासो गरेका हुन ।


सहभागीहरुले नियमित बजार अनुगमन नहुँदा उपभोक्ताहरुले म्याद नाघेका खाद्य वस्तु र मिसावट गरिएका अखाद्य बस्तु तथा अव्यवस्थित बजरको कारण वीरेन्द्रनगरमा रहेका होटेल र रेष्टुरेण्टहरुमा धुँवा धुलो मिसिएको खाना नास्ता उपभोग गर्न बाध्य हुनु परेको उल्लेख गरेका थिए ।
कार्यक्रममा नागरिक सरोकार केन्द्रका अध्यक्ष पिताम्बर ढकालले उपभोक्ताहरुको हितका लागि आवश्यक कानुन निमार्ण र कार्यान्वयन गर्ने दायित्व राज्यको भएको उल्लेख गरे । उनले उपभोक्ताहरुको हितका लागि नागरिक संघसंस्थाहरुले पनि सचेतिकरण अभियान सञ्चालन गर्नुपर्नेमा प्रमुख ढकालले जोड दिए ।
कृषि विज्ञ छविलाल पौडेलले सबैभन्दा बढी कुपोषित भएका बालबालिकाहरु कर्णाली प्रदेशमा रहेको बताउँदै विषादीयुक्त खाद्य सेवनलाई निराकरण गर्नुपर्नेमा जोड दिए । हेल्भेतासका प्रमोद भारी कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने नीतिलाई सहयोग गर्ने बताए । वीरेन्द्रनगर नपा ११ का अध्यक्ष नन्दलाल शर्माले नपाले पारित गरेको ऐनलाई अक्ष्रस कार्यान्वयन गर्ने बताए ।
मानव अधिकार समुहका अध्यक्ष लक्ष्मी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधी, नागरिक संस्थाका प्रतिनिधी, कृषक, अधिकारकर्मी र सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्देश्य माथि कार्यक्रम संयोजक डिलबहादुर चौधरीले प्रकाश पारेका थिए ।