आराम घर


आजको मेरो यो लेख ठ्याक्कै माघको झरी झै हुन सक्छ । त्यो झरी आउन चाहीँ जाडो मौसमको अन्त्य गर्न आएको हुन्छ तर सबैले बाली मास्न आयो भनी सराप्ने गर्छन ।
जब–जब सुदुरपश्चिम र कर्णाली प्रदेशको कुरा आउछ तब–तब धेरैको एउटै प्रश्न, एउटै गुनासो ‘ए त्यहाँ त अझै छाउपडी कायम छ है ?’ अब यो प्रथा कुनै नौलो रहेन । प्रतियोगिका लागि वक्तित्वकलाको गतिलो विषय बनेको छ ‘छाउपडी’, पत्रकारको लागि गतिलो समाचार बनेको छ ‘छाउपडी’, उम्मेदवारका लागि चुनाव जित्ने ठूलो एजेन्डा बनेको छ ‘छाउपडी’, यूटूवका लागि डकुमेन्ट्री बनेको छ ‘छाउपडी’, अनि केन्द्रीय राजधानी र त्यस आसपासका मानिसलाई चियागफ बनेको छ ‘छाउपडी’, यसबाट महिलाले भोगेको सास्तीलाई बुझेर छाउपडी हटाउन लाग्नु आफैमा सानो प्रयास भने पक्कै होइन ।
तर आज मैले यो लेख्नु समयको माग बिपरित हुनजाला तर आज मैले यो लेखीन भने धेरैले सास्ती भने भोग्नै पर्छ । हिजोआज समाचार आइरहेका छन कर्णालीका जिल्लामा यति छाउगोठ भत्काइए भनेर । कानूनी रूपमा हेर्दा यो ठीक पनि छ । फौजदारी संहिता अनुसार यदि कसैले कुनै माहिलालाई ‘छाउ’ बार्न बाध्य परेमा निजलाई तीन महिना जेल वा तीनहजार जरिवाना वा दुवै कारवाही हुने व्यवस्था छ ।
तर यति हुँदाहुदै पनि छाउपडी कायम छ।आज पनि महिला छाउपडीमा बसिरहेका भेटीन्छन् । यति सम्मकी स्थानीय सरकार र विभिन्न संघ संस्थाले जति छाउगोठ भत्काए पनि पाल टागेर पनि छाउपडी बारीनै रहेका छन् ।
यस्तो हुनुमा कतै हाम्रै दोष त छैन ? हामीले जहिले राजधानीमा बसेर यो प्रथाको बिरोध गरेउ !हामीले हजारौं बजेट खर्चेर छाउगोठ भत्काउन त अघि सर्यौ तर कहिले पनि यो प्रथा र यसको शुरूवात किन भएको हुनसक्छ भनेर अनुमान गर्न र सकारात्मक परिवर्तन ल्याउन कहीँ कतै बाटा पहल गरेनौँ । हुन त महिलाको ज्यानै जाने र महिलालाई पछि धकेल्ने प्रथा राम्रो कुनै हालतमा हुनै सक्तैन त्यसमा कुनै दुईमत छैन तर यस्तो प्रथा लाई यदि गहिराइबाट केलाउने हो र महिला लाई आराम दिने यदि हो भने यो प्रथा नेपालीको घरघरमा छ र सधै हुनु जरुरी पनि छ ।
‘महिनावारी’ शब्द आफैँमा गौरवपूर्ण प्रकृतिक कुरा हो । यस्तो बेलामा महिला र विशेष गरि किशोरीहरूमा बढी रगत बग्ने,तल्लो पेट दुख्ने र कोही त बेहोस सम्म पनि हुने गर्छन् । यस्तो बेला दौडधुप त परको कुरा सजिलै हिड्न पनि निकै गाह्रो हुनेगर्छ ।
यहि कुरालाई मध्यनजर गर्दै महिलालाई काम काज बाट टाढै राख्ने कुरा सानो तिनो संस्कार पक्कै होइन । यो हिन्दू संस्कारले गर्व गर्नु पर्ने संस्कृति हो । समस्या र कमजोरी छाउगोठको भौतिक आकार र संरचनामा छ कर्णाली र सुदुरपश्चिमका मानिसको संस्कार र नियतमा होइन । हो यो त्यही कर्णाली हो, यो त्यही सुदुरपश्चिम हो जहाँ छोरी चेलीलाई आफूले खाको भाँडो मजाउदैनन् । अनि यस्तो मान्छेको नियत छोरीचेलीलाई दुःख दिनु पक्कै होइन ।
सामान्य तया संस्कृति दुई किसिमको हुने गर्छन भौतिक र अभौतिक संस्कृती । अभौतिक संस्कृति जस्तै मूल्य, मान्यता, परम्परा विचार आदि सकेसम्म परिवर्तन गर्न चाहदैन परिवर्तन भएपनि ढिलो हुन्छ । पुरानो पुस्ताले अभौतिक संस्कृतिलाई मान्छ तर नयाँ पुस्ताले भौतिक संस्कृति जस्तै सम्पदा,खाना,पहिरन आदिलाई मान्छ । यहि अन्तरलाई साँस्कृतिक ‘पछौटेपन’ भनिन्छ । र यदि दुवै बिच तालमेल मिल्यो भने मात्र कुनै संस्कृतिले निरन्तरता पाउछ नत्र जति तोडफोड गरेनी परम्परागत सोच फुट्न गाह्रो हुन्छ जसले गर्दा प्रथा मान्ने मानिस झन मारमा पर्छ जसरि अहिले छाउगोठ भत्काइएपनि पालमा बसेर छाउगोठ भत्काउने र छाउगोठ बचाउनेको लडाइको परिणाम कुर्दैछन कर्णाली र सुदुरपश्चिमका महिला ।
अहिलेको पुस्ताले बुझिसकेका छन् छाउगोठको नकारात्मक पाटो तर अघिल्लो पुस्ताको मष्तिस्क परिवर्तन हुन गाह्रै भएकाले पुरानो पुस्तासम्मलाई राम्रो र भरपर्दो बिकल्प भनेको छाउगोठलाई ‘आरामघरमा’ रूपान्तरण गर्ने । छाउपडी बार्ने हरेक ठाउँमा सके प्रत्येक घरमा नसके समूह समूह मिली सबैलाई पायक पर्ने ठाउँमा एउटा यस्तो घर बनाइयोस ! जस्मा राम्रो झ्याल होस, सहि भ्यान्टिलेसन होस, सुरक्षित ढोका होस, प्याड व्यवस्थापन सहितको सफा शौचालय होस, जहाँ महिलाले महिनावारी हुँदा आराम पनि पाउनेछीन अनि सुरक्षा पनि ।
एक चोटि यस्तै ‘आरामघर’ बनाएर त हेर्नुस महिला महिनामा सात दिन होइन तिषै दिन छाउमै बिताउन खोज्नेछन् अनि नेपालमा छाउगोठ छ भनि मजाक बनाएका देशहरूले सहि संस्कार सिको गर्नेछन् ।
छाउगोठ भत्काउदैमा महिलालाई आराम हुन्छ भन्ने भ्रमबाट बिउझनुहोस् । दिनभरि छाउपडी बिरूद्ध भाषण गरि साँझ छाउगोठ पस्ने महिला जनप्रतिनिधी पनि हामी बिचनै हुनुहुन्छ । कहिले काँह दिन भरी घरको काममा खटीने महिलाकै मुखबाट सुनिरहेका हुन्छौँ, धन्न महिनाको चार दिन भएपनी सुख पाइन्छ ।
के तपाईं यो सुख खोस्न चाहानुहुन्छ ?
छाउगोठ त जिर्ण अवस्थामा भएर गलत भन्नुभयो । तर के महिलालाई सुरक्षा दिने, आराम दिने र संस्कृति पनि जोगाउन ‘आरामघर’ को अवधारणा पनि गलत नै हो त ? छाउगोठ तोडफोड होइन ‘आरामघर’मा रूपान्तरण हुन चाहान्छ ।
(लेखिका कानूनको विद्यार्थी हुन ।)