नगरपालिका बन्द गरेर निषेधाज्ञा अवज्ञा गर्दै खानपिनमा व्यस्त जनप्रतिनिधि


कैलाली
कैलालीको घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीसहितको जनप्रतिनिधिको जम्बो टोली नगरका सबै सेवा बन्द गरी जिल्ला प्रशासन कार्यलय कैलालीले लगाएको निषेधाज्ञाको उल्लंघन गर्दै पर्यटकीयस्थल चिसापानीमा आयोजित खानपिनमा सहभागी भएका छन् ।
विश्वमा माहामारीका रूपमा देखापरेको कोरोना भाइरस (कोभिड–१९) को संम्भावित जोखिमवाट बच्न भन्दै सोमबार बिहान नगरपालिकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको सूचना निकाल्यो । तर, सोमबार नै नगरपालिका प्रमुखसहितको जम्बो टोली चिसापानीको सिद्धार्थ होटलमा भएको खानपिनसहितको कार्यक्रममा सहभागी भएको सार्वजनिक भएपछि आलोचना भएको छ ।
यसरी विश्वभर महामारी फैलिएको र तीनै तहका सरकार यसको सम्भावित जोखिमवाट बच्न हर प्रयास भइरहेका बेला स्थानीय सरकारका प्रमुखसहित सहभागी भएर यस्तो क्रियाकलाप हुनु लज्जास्पद भएको घोडाघोडी नगरपालिका–१० पहलमानपुरका टंक कडेल बताउँछन् । विश्व संकटमा छ, देशमा संकट निम्तिन सक्छ भन्दै जनता त्रासमा छन् । तर, हाम्रा जनप्रतिनिधिको अवस्था यस्तो हुनु हास्यसपद कुरा हो’ उनी भन्छन् ।
यता, घोडाघोडी नगरपालिकाका प्रवक्ता तथा घोडाघोडी बृहत पर्यटन विकास वोर्डका सदस्य मनराज शाहीले आफूहरू जियोलोजिकल सोसाइटी लण्डन (जेट एसएल)को आर्थिक सहयोगमा भएको कार्यक्रमका साथै घोडाघोडीलाई कसरी कोरोनाबाट हुने सम्भावित जोखिमबाट कसरी बचाउने भन्ने विषयमा छलफल गर्न चिसापानी आएको बताए ।
नगरपालिका प्रमुख चौधरीले आफू चिसापानी गएको तर के कार्यक्रम भएको भन्ने विषयमा जानकारी नभएको बताए । उनले ‘आफू वडा नम्बर ७ मा रहेको बेला खबर पाएर गएको तर खास कार्यक्रम के थियो त्यो थाहा नभएकाले यस विषयमा वढी जानकारी नभएकोु बताए ।
जिल्ला प्रशासन कार्यलय कैलालीले सोमबार एक विज्ञप्ति जारी गर्दै अर्को आदेश नभएसम्मका लागि कैलाली जिल्लाभर दिउँसो २ बजेपछि निषेधाज्ञा जारी गरेको थियो । तर, निषेधाज्ञा जारी भएकै समयमा नगरपालिकाको टिम पर्यटकीय स्थलमा भएको खानपिनमा सहभागी भएको थियो । (यो समाचार शिलापत्र डटकमबाट साभार गरिएको हो ।)