सुर्खेतमा १०२ जना क्वारेण्टाइनमा


सुर्खेत, १२ चैत ।
भारत को बिभिन्न नाका हुदै आएका कर्णाली प्रदेशका विभिन्न जिल्लाका १०२ जनालाई सुर्खेतस्थित क्वारेण्टाइनमा राखिएको छ ।
प्रदेश सरकारले भारतका विभिन्न शहरबाट कर्णाली आउन लागेका र रुपैंडिया एवम कैलालीमा अलपत्र परेका नागरिकलाई होटलमा उद्धारगरी ल्याएर क्वारेन्टाइनमा राखेको हो । विभिन्न नाकामा अलपत्र परेका नागरिकलाई प्रदेश सरकारले उद्धार गरी ५७ जनालाई बुधबार राती २ बजे सुर्खेत ल्याएको थियो भने ४५ जनालाई दिउँसो ल्याइएको छ । वीरेन्द्रनगर १० दैलेख रोडमा रहेको होटल अशोककामा ६ महिलासहित ७८ जना र बि.न.पा १० स्थित रहेको अन्तर निर्भर समाज होस्टेलको भवनमा २४ जना पुरुष राखिएको छ जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरुको स्वास्थ्य जाँच गरिएको र ज्वरोलगायतका कुनै पनि लक्षण नदेखिएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताए ।
भारत लगायत विदेशवाट आउने नागरिक अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइनमा बस्ने व्यवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकारले वीरेन्द्रनगरमा एक हजार बेडको क्वारेन्टाइन वार्ड निर्माण गरिरहेको छ । वीरेन्द्रनगरको खुलामञ्चमा क्वारेन्टाइन निर्माणाधिन अवस्थामा रहेकाले तत्कालका लागि होटलमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुको सबै खर्च प्रदेश सरकारले ब्यहोर्ने जनाएको छ ।
विदेशबाट फर्किएकाहरुको निगरानी गर्दै नगरपालिका
भारतका विभिन्न स्थानमा रोजगारी गर्न गएर वीरेन्द्रनगर फर्किएकाहरुको नगरपालिकाले विवरण संकलन गरेको छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ६ र ९ ले १७ जनाको विवरण संकलन गरेको हो ।
वडा नम्बर ९ ले विदेशबाट वीरेन्द्रनगर फर्किएकाको संख्या १६ जना रहेको विवरण नगरपालिकालाई बुझाएको छ । यी मध्य १५ जना भारत र एक जना कतारबाट आएको बताइएको वीरेन्द्रनगर नगरपालिकाका सुचना अधिकारी दिपेन सुवेदीले जानकारी दिएका छन् ।
उनकाअनुसार वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ मा एक जना मात्रै भारतबाट फर्किएका छन् । भारत र कतारबाट फर्किएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको उनले बताए । नगरपालिकाले वडामा नयाँ व्यक्ति आएमा उनीहरुको विवरण संकलन गर्न वडा कार्यालयलाई निर्देशन समेत दिइसकेको छ । वडा कायर्यालयहरुले टोलविकास समितिहरुलाई सोको विवरण संकलनका लागि पत्राचार गरेका छन् ।
वीरेन्द्रनगर फर्किएकाहरु सबैको विवरण संकलन गर्ने र उनीहरुमा समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मी वा सम्बन्धीत निकायहरुमा सम्पर्क गर्न जानकारी गराएको बताइएको छ ।