राज्यमन्त्री रावतको पहलमा सुर्खेतमा स्वास्थ्य सुरक्षा सामाग्री वितरण


सुर्खेत, १४ चैत ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतको विशेष पहलमा कर्णाली प्रदेश सरकार र सुर्खेत जिल्लाका विभिन्न पालिकाहरुलाई कोरोना भाइरस सम्बन्धी सुरक्षा सामग्री वितरण गरिएको छ ।
कोरोना भाईरस संक्रमणको चेकजाँच, पूर्व सावधानी, स्वास्थ्य चेकजाँचमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको लागि स्वास्थ्य सामाग्री वितरण गरिएको हो । राज्यमन्त्री रावतको पहलमा कर्णालीका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र लक्षण दिएका विरामीहरुका लागि पठाइएको विभिन्न स्वास्थ्य सामाग्री राज्यमन्त्री रावतका स्वकीय सचिव तपेन्द्र विसीले हस्तान्तरण गरेका छन् । चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिकामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुका लागि सर्जिकल मास्क, सेनिटाइजर वितरण गरिएको स्वकीय सचिव विसीले जानकारी दिए । विसीका अनुसार गाउँपालिका र नगरपालिकाको सम्बन्धित स्वास्थ्य शाखा प्रमुखमार्फत सम्पूर्ण स्वास्थ्यकर्मीसम्म पुग्ने गरी माक्स वितरण गरिएको छ भने प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरर्गत स्वास्थ्य निर्र्देशनालयमा हस्तान्तरण गरिएको छ । सर्जिकल माक्स ३० हजार पिस, भिटिएम ४० थान, स्प्रे पम्प ५ थान, कोरोना भाईरस टेष्ट ५ पिस, हातेपुस्तिका, ल्यावलेष्ट २० वटा, पिपिइ ५० सेट, आइसाइट ५०, सेनिटाइजर ३० वटा, हेण्डमास्क ९५ को ५० वटा सहितको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको विसीले जानकारी दिए ।


यस कार्यमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रावतको विशेष पहल रहेको विसीले बताए । उनका अनुसार थप स्वास्थ्य सामाग्रीहरु आउनेक्रम जारी रहेको जनाइएको छ । कर्णाली प्रदेशकै लागि एक ट्रक स्वास्थ्य सामाग्रीहरु आजै (शुक्रबार) काठमाडौंबाट पठाइएको विसीले बताए ।