वीरेन्द्रनगर नगरपालिकाले सबै वडामा किटनाशक औषधी छर्ने


सुर्खेत, चैत्र १६ । वीरेन्द्रनगर नगरपालिकाका १४ वटै वडामा किटनाशक औषधी (डिस्ईन्फेक्ट) छर्ने भएको छ । नगरपालिकाका वडा नम्बर ६, ३, र ८ मा दमकल किटनाशक औषधी छरिसकेको र भोली सोमबार सबै वडामा औषधी छर्ने भएको हो ।
हाल वडा नं ७ मा काम भईरहेको छ सोमबारदेखि दमकलका साथै थप एउटा ट्याङ्करबाट सबै वडाहरुमा छर्ने काम हुने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले विभिन्न १४ वटा वडाहरुबाट विदेशबाट हालै आएर बसोबास गरेका विभिन्न १ सय ७२ जना ब्यक्तिहरुको विवरण तयार गरी मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा पठाईएको नगरपालिकाले जानकारी दिएको हो ।
नगरपालिकाका सबै स्वास्थ्य संस्थाहरुमा न्यूनतम् औषधी र पिपिए पठाईएको कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालले बताइन् । ‘फोहोरमैला ब्यवस्थापन कार्य र स्वास्थ्य सँस्थाहरु हरेक दिन खुल्ने ब्यवस्था मिलाईएको छ ।’ उनले भनिन्,‘यस संकटपूर्ण घडीमा अहोरात्र खटिने कर्मचारीहरुलाई उच्च मनोबलकासाथ कार्य गर्न प्रोत्साहन खर्च (स्तर अनुसार प्रतिदिन ६०० देखि ८०० सम्म) को निर्णय गरिएको छ ।’
आन्तरिक सञ्चार र मोबाईलमार्फत सरोकारवालाहरु सबै २४ सै घण्टा समन्वयमा राखिने प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।