लकडाउनका कारण प्रभावित योजनाहरु अघि बढाउँदै वीरेन्द्रनगर

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले लकडाउनका कारण प्रभावीत भएका परियोजनाहरुलाई अगाडी बढाउने भएको छ ।
शनिवार बसेको नगरकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।
लकडाउन हुनुभन्दा पहिला रोकिएका विकास निर्माणका कामहरु मेसिन तथा जनशक्तिको प्रयोगबाट हुने काममा भौतिक दुरी कायम गरी रोगको संक्रमण फैलिन नदिने उपायहरुको अबलम्बन गर्दै स्थानीय प्रशासनसँग समन्वय गरी परियोजना बढाउने निर्णय भएको ढकालले बताए ।
कोरोना संक्रमण जोखिममा रहेको व्याक्तिहरुको आरडिटी स्क्रिनिग गर्नका लागि आरडिटी किट उपलब्ध गराइदिन प्रदेश र संघीय सरकारलाई अनुरोध गर्ने, लकडाउनमा पनि कतिपय स्थानीय तहले गाडीहरुमा व्याक्तिहरुलाई उद्दार तथा आवतजावतको व्यवस्था गरेकाले यस नगरपालिकामा प्रवेश गर्ने मानिसहरुमा रोगको संक्रमण हुन नदिन विभिन्न क्षेत्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको ढकालले जानकारी दिए ।
जसअन्तर्गत वडा नम्बर ११ को सुब्बाकुना, १४ को छेडा गढी, १ को बाँगेसिमल, २ को फलाटेमा हेल्थ डेस्क राख्ने निर्णय गरिएको हो । साथै पैदलयात्री आउने अन्य स्थानहरु बामेखोला, शक्तेकाँडा जस्ता क्षेत्रहरुमा पनि सम्बन्धित स्वास्थ्य संस्थाले व्यवस्थापन गर्ने निणय गरेको हो । यस्तै बैठकले नगरपालिका भित्र रहेका विभिन्न २० वटा विद्यालयमा नर्सिङ कार्यक्रम सञ्चालन गर्नका लागि छनोट गरेको छ भने नगरपालिकाभित्र बाहिरबाट आएका मानिसहरुलाई अनिवार्य होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने र उनीहरुको सम्बन्धित वडाले निगरानी गर्ने प्रमुख प्रशासकिय अधिकृत ढकालको भनाई छ । यस्तै बैठकले कोरोना भाइरस कोभिड १९ को संक्रमण रोगथाम, नियन्त्रणका लागि लकडाउनलाई अझै प्रभावकारी गराउनको लागि हालसम्म भएका गतिविधिहरुलाई समिक्षा गरी निरन्तरता दिने निर्णय गरेको छ ।