भर्चुअल शिक्षणः एक अनुभव

लालबहादुर खड्का, सुर्खेत । म दुर्गम गाँउमा जन्मी गाँउमै हुर्की बढेको मान्छे । गाँउले परिवेशकै बिद्यालयमा पढेको मान्छे पनि । अनि, शिक्षण पेसामा रही गाँउकै बिद्यालयमा लामो समय शिक्षण कार्य गरेको मान्छे । गाँउघर जहाँ टेलिभिजन नयाँ वस्तुको रुपमा चिनिन्छ । जहाँ एक घरको टेलिभिजन सेट वरिपरि छिमेकी घरका मान्छेहरुलाई मनोरञ्जन दिने साधनको रुपमा चिनिन्छ । त्यस्तो क्षेत्रका बिद्यालयहरुमा टेलिभीजन सेटबाट पठनपाठन शुरु हुनु त्यहाँका अभिभावक तथा बिद्यार्थीको लागि नौलो कुरा हुनु स्वभाविकै हो ।
म आफै स्वयम पनि एनटिभी प्लसले संचालन गरी गहेको भर्चुअल शिक्षण सिकाई कार्यक्रम देखेर कसरी पढाइन्छ होला भनेर कल्पनामा डुब्ने मान्छे । म जुन ठाँउमा शिक्षण गर्छु, त्यो ठाँउमा भर्चुअल शिक्षण र सिकाई कार्य अलि नौलो चिजको रुपमा चिनिनु स्वभाविकै हो । नचिनियोस पनि किन ? त्यहाँका अभिभावक र बिद्यार्थीका लागि यो एउटा नौलो प्रयास र प्रयोग थियो । मेरो बिद्यालय श्री शारदा मा बि छिन्चुको बिज्ञान प्रयोगशाला रहेको कोठामा नियन्त्रण कक्ष बनाई भर्चुअल कक्षा संचालन गर्ने वातावरण भेरीगंगा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जुरायो । २०७६ पौष देखि फागुन सम्म करिब ३ महिना टेलीभिजन सेट मार्फत पाँचवटा माध्यमिक बिद्यालयका कक्षा १० का बिद्यार्थीहरुलाई अंग्रेजी, गणित र बिज्ञान बिषय अध्यापन गरियो ।
मेरो जिम्मेवारी भित्र अंग्रेजी विषय पर्यो । उक्त विषय भर्चुअल पद्धतिबाट अध्यापन गरी आफूले प्राप्त गरेका अनुभवहरु यो लेख मार्फत पाठकहरुलाई पस्किने जमर्को गरेको छु ।


सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका, युवा, शिक्षा तथा खेलकुद शाखाले आफनो नगरपालिका अन्तरगतका ५ वटा माध्यमिक बिद्यालयहरु श्री शारदा मा.वि. छिन्चु, श्री शिखर मा.वि.रामघाट, श्री प्रभात मा.वि. थानीचौर, श्री जनज्योति मा.वि.झिङ्नी र श्री नेपाल राष्ट्रिय मा.वि. लोदेमा भर्चुअल मोड मार्फत एस ई ई तयारी कक्षा चलाउने निर्णय गर्यो । जसको लागि प्रत्येक बिद्यालयलाई कक्षा र सेक्सन अनुसार टि भी सेट र एक÷एक वटा ल्यापटप कम्प्युटरको व्यवस्था गर्यो । मानवीय जनशक्ति अर्थात शिक्षण कार्यका लागि सबै बिद्यालयबाट ब्यवस्थापन गर्न खोजिए तापनि भौगालिक दुरी र योग्य जनशक्तिलाई मध्ये नजर गरी शारदा माध्यमिक बिद्यालयका शिक्षकहरु म लालबहादुर खडका (अंग्रेजी) जीतेन्द्रराज वली (गणित) र कुशेश्वर ठाकुर (बिज्ञान)लाई बिषय शिक्षकको रुपमा चयन गरियो । नगर शिक्षाको योजना अनुरुप हामी ३ जना शिक्षकहरुले २०७६ मंसिर ८ गतेदेखि फाल्गुण मसान्तसम्म शारदा मा.वि. छिन्चुको बिज्ञान प्रयोगशालामा बनाई करिब तीन महिना उक्त ५ वटा बिद्यालयका ९ वटा सेक्शनमा ३ वटा विषय शिक्षण गर्यौं ।
भर्चुअल कक्षा शिक्षण गर्दा हामी ३ जनाले अनलाईन शिक्षकको रुपमा काम गर्नु पथ्र्याे भने सम्बन्धित बिद्यालयका विषय शिक्षकहरुले अफलाईन शिक्षकको रुपमा रही आफना बिद्यार्थीहरुलाई सहजीकरण गर्नु पर्दथ्यो । अनलाइन शिक्षकले रित्तो कोठामा क्यामेरालाई मध्ये नजर गरी बोर्डमा पढाउनु पर्दथ्यो भने अफलाइन शिक्षकले अनलाइन शिक्षकले पढाएको विषयवस्तु बिद्यार्थीहरुले ध्यान दिएर पढे वा नपढेको अवलोकन गरी आवश्यक परेको खण्डमा सहजीकरण गर्नु पर्दथ्यो । अनलाइन शिक्षकले एकोहोरो पढाई रहनु पर्ने देखिन्थ्यो । बिद्यार्थीहरुले बुझे वा नबूझेको कुराको जानकारी लिन नसकिने अवस्था देखियो । कतिपय अवस्थामा केही बिद्यार्थीलाई प्रतिनिधि पात्रका रुपमा सोध्न सकिने वातावण देखियो । सबै बिद्यार्थीलाई सोध्न र उनीहरुका समस्या बुझ्न गाह्रो महसुस गरियो ।
अफलाइन शिक्षकले बिद्यार्थीहरुलाई सहजीकरण गर्नु भन्दा अनलाइन शिक्षकले पढाएको र बिद्यार्थीहरुले पढाइ तिर ध्यान दिएको वा नदिएको कुरा हेर्नु पर्ने देखियो । उनीहरुलाई आफैले सहजीकरण गर्नका लागि समयको तालमेल नमिलेको अवस्था देखियो । अफलाइन शिक्षक स्वयमले कक्षामो शिक्षण गर्न नपाउदा शिक्षक बिद्यार्थी बिच अन्तरक्रिया गर्ने, छलफल गर्ने र प्रश्नोत्तर गर्ने जस्ता कार्यक्लाप गराउन नसकिने वातावरण सृजना भएको महसुस गरियो ।
कतिपय अफलाइन शिक्षकको मनोबिज्ञान अनलाइन शिक्षक मार्फत पढाइ भैहाल्छ किन कक्षा कोठामा बसिरहनु भन्ने पनि देखियो । हामी शारदा मा.बि. छिन्चुका अनलाइन शिक्षकका कक्षामा अर्को अफलाइन शिक्षक नहुँदा बिद्यार्थीहरुले पढे वा नपढेको कुरा बुझ्न पनि गाह्रो महसुस गरियो । हामी अनलाइन शिक्षकका रुपमा ब्यस्त रहदा हाम्रो आफनै कक्षा ब्यवस्थापनका लागि अर्को अफलाइन शिक्षकको आवश्यकता रहने कुराको महसुस गरियो ।
बिद्यार्थीहरुको मनोबिज्ञान बुझ्दा सिकाई प्रति वास्ता गर्ने र नगर्ने २ किसिमका बिद्यार्थीहरु कक्षामा रहेको पाइयो । जसले पढाइ प्रति चासो दिन्छन् त्यस्ता बिद्यार्थीले आफनो कक्षामा पढाइ रहेको शिक्षक भन्दा फरक शिक्षकबाट पढ्न पाएकोमा गर्व लागेको अनुभव ब्यक्त गरेको पाइयो । त्यस किसिमका बिद्यार्थीलाई भर्चुअल कक्षा शिक्षणले धेरै फाइदा पुर्रयाएको बुझियो । यस्ता बिद्यार्थीहरुको संख्या अत्यन्त न्युन रहेको देखियो । बहुसंख्यक बिद्यार्थी भने शिक्षकको प्रत्यक्ष निगरानी बिना नपढने खालका देखिए । त्यस्ता बिद्यार्थीहरुलाई भर्चुअल कक्षा शिक्षणले खासै लाभ पुर्याएको देखिएन ।
भर्चुअल कक्षामा स्वतन्त्रता बढी भएकोले उनीहरुलाई आफू अनुकुल वातावरण भएको मनोबिज्ञान बुझियो । सिक्न चाहने बिद्यार्थीले कति सिक्यो भन्ने कुराको जानकारीका लागि अभ्यास गर्ने÷गराउने वातावरण भएन । अर्को तर्फ सिकाई प्रति बेवास्ता गर्ने बिद्यार्थीलाई कसरी अभिप्रेरित गर्ने भन्ने कुराको ब्यवस्थापन गर्न गाह्रो देखियो । जसले गर्दा शिक्षण सिकाइको अपेक्षित लक्ष्य हासिल गर्नका लागि चुनौती देखियो ।
भर्चुअल शिक्षण र सिकाई कार्यक्रमले गाउघरमा रौनकता पायो । गाउँघरका बालबालिकाले आफ्नो घरमा भएको टेलिभिजनमा मात्र कार्यक्रम मात्र हेरेको अवस्थामा टेलिभिजन सेट मार्फत आफू स्वयमले पढ्न पाएकोमा बिद्यार्थीहरुले नौलौ अनुभव महसुस गरे ।
भर्चुअल शिक्षण सिकाइ कार्यक्रम देखेर अभिभावकहरु पनि हर्षित देखिए । अभिभावकहरुले भर्चुअल पढाइ भइरहेका बिद्यालयमा आएर भर्चुअल कक्षा अवलोकन गरे । छिमेकी नगरपालिका तथा गाँउपालिका अन्तरगतका बिद्यालयका अभिभावक तथा शिक्षकहरुले भर्चुअल कक्षा अवलोकन गर्न र प्रविधि सिक्नका लागि शैक्षिक अवलोकन भ्रमणमा आई जानकारी लिने अवसर पाए । भर्चुअल कक्षा शिक्षण कार्य जिल्लाभित्र र जिल्ला बाहिरबाट नयाँ प्रविधिको प्रयोग र उपयोगिता बुझ्ने र अवलोकन भ्रमण गर्नका लागि आकर्षणको केन्द्र बन्यो। कतिपय बिद्यालयले यो प्रविधिको अनुसरण गरी आफनो बिद्यालयमा भर्चुअल कक्षा शिक्षण कार्यक्रम संचालन पनि गरे । जताततै भर्चुअल कक्षाको चर्चा परिचर्चा गरेको सुनिन थाल्यो ।
मैले आफुले आफनो आत्मबिम्बन गर्दा हाम्रा बिद्यालयहरुमा भर्चुअल कक्षा शिक्षण सिकाइ कार्यक्लाप संचालन गर्न सकिएको खण्डमा निम्नानुसारका लाभ लिन सकिने अवस्था देखियो ।

 भौगोलिक रुपले टाढाको दुरीमा रहेका बिद्यालय तथा बिद्यार्थीका लागि उपयोगी ।
 साधन श्रोत नभएका बिद्यालयका बिद्यार्थीहरुलाई सिक्ने सुवर्ण अवसर ।
 योग्य र दक्ष शिक्षकको अभाव भएका बिद्यालयका बिद्यार्थीहरुलाई उपयोगी ।
 पढाएको पाठहरु रेकर्ड गर्न सकेको खण्डमा जुनसुकै समयमा उपयोगमा ल्याउन सकिने ।
 इन्टरनेटको सुबिधा भएको खण्डमा जुनसुकै ठाँउ र समयमा संचालन गर्न सकिने ।
 बिभिन्न बिद्यालयका बिद्यार्थीहरुले एकै किसिमका शैक्षिक सामग्री प्रयोग गरी पढाएको हेर्न र बुझ्न सक्ने ।
 बिद्यार्थीहरुलाई स्वतन्त्र रुपमा सिक्ने वातावरण सिर्जना हुने ।
 शिक्षक र सिकारुहरुमा डिजिटल सीपको बिकास गर्न सकिने ।
 एउटै शिक्षकबाट धेरै कक्षामा एकै समयमा शिक्षण गर्न सकिने ।
 बिद्यार्थीलाई अन्य बिद्यालयका बिद्यार्थीसित आफूलाई तुलना गरी स्वमूल्याङ्कन गर्न सजिलो हुने ।
 रेकर्डेड कक्षाहरु कम्प्युटर, ल्यापटप, ट्याब्लेट र मोबाइलमा सजिलै हेर्न सकिने ।
     भर्चुअल कक्षा शिक्षण संचालन गर्न भने सजिलो छैन । म आफू स्वयम यो कार्यक्रममा सहभागी भएकोले केही चुनौतीहरु सामना गर्नु परेको        कुराहरु निम्नानुसार औल्याइएको छ ।
 सैद्धान्तिक पक्षलाई जोड दिनु पर्ने बाध्यतात्मक शिक्षण सिकाइ ।
 यदि अफलाइन शिक्षक नभएको अवस्थामा कक्षाकोठाको हल्ला कन्ट्रोल गर्न गाह्रो ।
 बिद्यार्थीहरुसित अन्तरक्रिया गर्न नसकिने ।
 बिद्यार्थीलाई कक्षाकार्य गराउन गाह्रो ।
 बिद्यार्थीको गृहकार्य परीक्षण गरी पृष्ठपोषण दिन गाह्रो ।
 बिद्यार्थीहरुलाई छलफल कार्यमा सहभागी गराउन गाह्रो ।
 परीक्षा संचालन गर्न गाह्रो ।
निष्कर्ष
भेरीगंगा नगरपालिका युवा, खेलकुद तथा शिक्षा शाखाका उपसचिब श्री धिरेन्द्र प्रसाद शर्मा यो कार्यक्रमलाई निरन्तरता दिई आगामी दिनमा अन्य बिद्यालयहरुमा बिस्तार गर्ने योजना नगरपालिकाको रहेको कुरा बताउनुहुन्छ । भर्चुअल कक्षा शिक्षण कार्यक्रम संचालनका लागि नगरपालिका तथा सम्बन्धित बिद्यालयले बिशेष तयारी गर्न सकेनन् भने अपेक्षा गरे अनुसारको उपलब्धि हासिल नहुनसक्छ । पहिलो वर्षको अनुभवलाई ध्यान दिई परिमार्जित कार्यक्रम लागू गरेको खण्डमा प्रभावकारी हुनसक्ने कुरामा दुई मत छैन । सकभर शैक्षिक सत्रको शुरुदेखि नै शुरुवात गर्न सकेमा प्रभावकारी हुने देखिन्छ । बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरुलाई कार्यक्रमको बारेमा राम्ररी जानकारी गराउनु जरुरी छ । बिद्यालयमा बत्ती गएको अवस्थामा ब्याकपको आवश्यक्ता हुन्छ । त्यसैले बिद्यालयहरुले इन्भर्टरको ब्यवस्था गर्नु जरुरी छ । केवल अंग्रेजी, गणित र बिज्ञान बिषयहरु मात्र नभई सबै बिषय शिक्षण गर्ने ब्यवस्था गर्न सकेमा कार्यक्रमको प्रभावकारिता अवश्य बढ्नेछ ।
लालबहादुर खड्का
शिक्षक, श्री शारदा माध्यमिक बिद्यालय
छिन्चु, भेरीगंगा नगरपालिका–१२, सुर्खेत