सुर्खेतका स्थानीय तहका कार्यक्रम: अस्पताल सञ्चालन गर्नेदेखि सिमानामा पर्खाल लगाउन सहयोग गर्ने


सुर्खेत, १६ असार ।
सुर्खेतका नौ वटै स्थानीय तहले संविधामा निर्धारित समय असार १० गते आगामी आर्थिक बर्ष २०७७–०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । चार नगरपालिका र पाँच गाउँपालिकाले प्रस्तुत गरेका नीति तथा कार्यक्रमका प्राथमिकता कोरोना महामारी नियन्त्रण, कृषि, रोजगारी सिर्जना र भौतिक पूर्वाधार विकास परेका छन् । एकाध बाहेक सबै पालिकाका कार्यक्रम मिल्दा जुल्दा छन् । केही पालिकाले अस्पताल सञ्चालन गर्नेदेखि सिमानामा तारबार लगाउन एक लाख सहयोग गर्ने कार्यक्रम ल्याएका छन् ।
वीरेन्द्रनगरको प्राथमिकतामा कृषि र पूर्वाधार
प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आगामी बजेटमा कृषि, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । नगरपालिकाले कोरोना महामारी नियन्त्रण र सामाजिक विकासलाई पनि प्राथकितामा राखेको छ । उत्पादन अभियानका लागि कृषि क्षेत्रको आधुनिकिकरण र व्यवसायीकरणमा जोड दिइएको नीति तथा कार्यक्रममा उल्लेख छ । कृषिमा उत्पादकत्व वृद्धिका लागि आवश्यक पर्ने कृषि सामग्रीहरु, मल, बीउ, प्राविधिक सहयोग, कृषि सिंचाई, विद्युत, यान्त्रिकीकरण, कृषि वीमा र बजार पूर्वाधारको सुनिश्चितता गरिने वीरेन्द्रनगरको कार्यक्रम रहेको छ । नगरभित्र उत्पादन हुने फलफुलमा आँप, कागती, केरा, किवी र खाद्यन्नमा कोदो, धान, गहुँ, मकै, सिमी मसुरो, मास केराउ आदीलाई प्राथमिकतामा राखी प्रवद्र्धन गरिने प्रस्तुत कार्यक्रममा उल्लेख गरिएको छ ।
कृषि योग्य भूमिलाई गैर कृषि क्षेत्रमा प्रयोग गर्न निरुत्साहित गर्ने, व्यक्तिगत खेतीयोग्य जमिन बाँझो राख्नेलाई बारवाही गर्ने र जमिनको उत्पादकत्व वृद्धिका लागि रासायनिक मल, जैविक मल अनुदानमा उपलब्ध गराइने उल्लेख छ । त्यस्तै, कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितको सम्पर्कमा आएका व्यक्तिलाई परीक्षण गरिने, संक्रमित व्यक्तिको उपचारका लागि एक सय वेडको आइसोलेसन तयार गर्ने, संक्रमणबाट मृत्यु भएका व्यक्तिलाई बोक्नका लागि एम्बुलेन्सको व्यवस्था गरिने नगरसभाको प्रस्तावित कार्यक्रममा उल्लेख गरिएको छ । यस्तै, कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालले महिलाहरुको पाठेघर क्यान्सर परीक्षण शिविर क्याम्प वर्षको रुपमा कार्यान्वयन गरिने बताइन् । उनका अनुसार गर्भवती महिलालाई निःशुल्क भिडियो एक्सरे, एम्बुलेन्स सेवा, निःशुल्क सेनेटरी वितरण गरिने छ । नगरसभाले पूर्वाधार विकासलाई पनि जोड दिएको छ । ढकालले नगरपालिकाको सुब्बाकुनादेखि फलाटेसम्म सहायक राजमार्ग हर्ट लाईनको नक्सांकन गरी निर्माण कार्यको प्रक्रिया अगाडी बढाउन प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य गरिने जानकारी दिइन् । वीरेन्द्रनगर नगरपालिका सुर्खेतले आर्थिक वर्ष २०७७÷०७८ का लागि एक अर्ब ४२ करोड ९९ लाख ९१ हजार ८ सय २३ रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।

चौकुने गाउँपालिकाले सिमानामा तारबार गर्न एक लाख दिने
चौकुने गाउँपालिकाले आगामी आ.ब.का लागि करिब ४४ करोडका बजेट प्रस्तुत गरेको छ । गाउँसभाले नेपाल भारत सिमानामा तारबार गर्ने पर्सा जिल्लाको ठोरी गाउँपालिकालाई एक लाख दिने भएको छ । गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीका अनुसार गाउँपालिकाको आन्तरिक स्रोतबाट उक्त रकम दिइनेछ । गाउँपालिकाले लघु जलविद्युत र सोलार उर्जाको आयोजनाको सम्भाव्यता अध्ययन गर्ने, सम्भाव्य योजनाहरुमा सोलार प्रविधि जडान गरी भेरी र कर्णाली नदिको विचमा रहेको गाउँपालिकामा सिचाई र खानेपानी सेवा विस्तार निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
जलस्रोतको प्रचुर स्रोत भएका ठाउमा लघु हाईड्रो योजनाहरुको सम्भाव्यता अध्ययन गरिने, र यस वर्ष रेवती जलविद्युत आयोजना, टुनीखोला लघु जलविद्युत आयोजना, वसेरीखोला जलविद्युत आयोजना, घोक्रेखोला लघु जलविद्युत आयोजना, सञ्चालन गर्न वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसंगको लागत साझेदारीमा सम्पन्न गरिने जनाइएको छ । यसैगरी गाउँसभाले देशको सिमा रक्षा गर्ने नेपाली सेनालाई समेत एक लाख दिने निर्णय गरेको छ ।

गुर्भाकोटको प्राथमिकतामा शिक्षा
६३ करोड २ लाख १७ रुपैयाँको बजेट प्रस्तुत गरेको गुर्भाकोट नगरपालिकाले सामाजिक विकास र त्यसभित्र पनि शिक्षा विकासलाई पहिलो प्राथमिकतामा राखेको छ ।
सामुदायिक विद्यालयका भौतिक पूर्वाधारहरु (भवन, शौचालय, कम्पाउण्ड घेरावार) लगायतका काम गर्न संघीय र प्रदेश सरकारसंग साझेदारी गर्ने कार्यक्रम नगरपालिकाको रहेको छ । यस्तै सामुदायिक विद्यालयमा कार्यरत वालकक्षाका सहजकर्ता, विद्यालय कर्मचारीलाई थप प्रोत्साहन गर्न विद्यार्थी संख्याका आधारमा पढाई व्यवस्थापन अनुदान उपलब्ध गराउने, विद्यालयमा खेलकुद क्रियाकलापहरुलाई प्रोत्साहन गर्न मेयरकप,नयाँ वर्ष खेलकुद कार्यक्रम संचालन गर्ने कार्यक्रममा उल्लेखछ । शिक्षापछि नगरपालिकाले दोस्रो प्राथमिकतामा स्वास्थ्यलाई राखेको छ । नगरपालिकाले आगामी आ.ब.मा विपन्न नागरिक स्वास्थ्य उपचार कोषको स्थापना गर्ने जनाएको छ । जेष्ठ नागरिक तथा एकल महिलालाई स्वास्थ्य सेवामापहुँच तथा सहयोग पुर्याउन घरदैलो कार्यक्रम सञ्चालन गर्ने, गर्भवती जिवन रक्षा कार्यक्रम संचालन गर्ने, वर्थिङ सेन्टर सुधार कार्यक्रमलाई निरन्तरता दिने, निशुल्क औषधि उपचारका लागि औषधि खरिदको व्यवस्था गर्ने,स्वास्थ्य सेवाको पहुच नपुगेका स्थानमा संचालित शहरी स्वास्थ्य केन्द्रमा जनशक्ति व्यवस्थापन कार्यक्रम लाई निरन्तरता दिइएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९ को सामना गर्न कोभिड १९ कोषमा रु १ करोड ५० लाख विनियोजन गरेको छ ।

भेरीगंगाले २५ शैय्याको अस्पताल सञ्चालन गर्ने
भेरीगंगा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७ – ०७८ का लागि साढे ६२ करोडको बजेट ल्याएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा कृषि, स्वास्थ्य र पूर्वाधार विकासलाई विशेष जोड दिएको छ । प्रत्येक स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन, वडा नं. १२ मा २५ शैयाको अस्पताल स्थापना गर्नका लागि आवश्यक जग्गा खरिदको प्रक्रिया अघि बढाईने, जन्म तथा मृत्युको तथ्यांकलाई अध्यावधिक गरिने, महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई आवश्यक प्रोत्साहन, रेडक्रस छिन्चुसँग समन्वय गरी प्राथमिक आँखा उपचार केन्द्र स्थापना तथा संचालन गर्न पहल गरिने कार्यक्रम छ ।
कृषि पूर्वाधारको आवश्यक व्यवस्था, कृषि विमा, कृषि तथ्यांकलाई अध्यावधिक गरिने, मौरीपालन तथा च्याउ खेती प्रवद्र्धन, साविकका लेखपराजुल, रामघाट र मैनतडामा कृषि सेवा केन्द्र स्थापना गरिने नगरपालिकाको आगामी नीति तथा कार्यक्रममा उल्लेख छ । कृषि पेशालाई गौरबको पेशाको रुपमा विकास गर्न उत्कृष्ट कृषक पुरस्कार जस्ता कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । । विदेशबाट स्वदेश फर्किएका युवाको पहिचान गरी अनुदान मार्फत कृषि (च्याउ, मौरी, अदुवा, बेसार, टिमुर, बदाम, तरकारी, फलफुल) व्यवसाय संचालन गर्न प्रोत्साहीत गरिने भएको छ ।

सिम्ताको प्राथमिकतामा सुशासन र रोजगार
सिम्ता गाउँपालिका गाउँसभाले ४५ करोड ६० लाख ६४ हजारको वजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले कोरोनाबाट सिर्जित अवस्थालाई सामान्यिकरण गर्न र रोजगारमुखी साथै उत्पादनमूलक क्षेत्रमा हावि हुने खालको नीति तथा कार्यक्रम ल्याएको अध्यक्ष कविन्द्र कुमार केसीले बताए ।
विकास, सुशासन र रोजगारीलाई उच्च प्राथमिकतामा राखिएको अध्यक्ष केसीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम उल्लेख छ । दु्रत मार्ग, चक्रपथमा १ करोड, प्रशासनिक भवनमा २ करोड ५० लाख, वडा कार्यालय भवन १ करोड, आर्थिक विकास १ करोड, पुर्वाधार विकास ५० लाख, संख्यागत विकास ३० लाख, कोभिड–१९ तथा विपद् व्यवस्थापनमा २ करोड, सामाजिक विकासमा १ करोड ५० लाख गरि ४५ करोड ६० लाख ६४ हजार ६ सय ४० बजेट विनियोजन गरिएको छ ।

लेकबेसी नगरपालिकाको बजेट ६० करोड
लेकवेशी नगरपालिकाले ६० करोड ४० लाखको बजेट प्रस्तुत गरेको छ ।
कुल विनियोति बजेट मध्य पुँजीगत तर्फ २० करोड ५६ लाख २९ हजार १५ रुपैँया र चालु खर्च तर्फ ३९ करोड ११ लाख ४४ हजार ३ सय ९२ रुपैँया विनियोजन गरिएको उपप्रमुख शान्ती कुमारी छन्तेलले बताइन् । त्यसै गरि विकास साझेदार संघ संस्थाहरुको कार्यक्रम वापत ७३ लाख २ हजार ८ सय १५ रुपैँया रहेको छ । लेकवेशी नगरपालिको पनि कृषि रोजगारी पूर्वाधार विकासमा जोड दिएको छ ।

पञ्चपुरी नगरपालिकामा लघु उद्यम र उद्योगमा जोड
पञ्चपुरी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भारतलगायतका देशबाट आएका युवाहरुलाई स्वरोजगार बनाउनका लागि लघु उद्यम र उद्योगहरु स्थापना गर्ने भएको छ । नगरपालिकाले एक हजारबढी ब्रोइलर कुखुरा पाल्ने किसानलाई खोर निर्माणमा सहयोग गर्ने, बाख्रापालक कृषकलाई खोर निर्माणमा सघाउने, चारा तयार गर्ने मेसिन तथा इन्कुबेटर सहयोग गर्ने, डेरी पसल स्थापना र व्यवस्थापनमा सहयोग गर्ने, पशु हाटबजार सञ्चालन गर्ने, माछापालनमा लागेका कृषकलगायतका कार्यक्रम गर्ने उल्लेख छ ।
पञ्चपुरी नगरपालिकाले पहाडी क्षेत्रमा व्यवसायिक पशुपंक्षीपालन, फलफुल खेती र जडिबुटी खेतीको पकेट क्षेत्रको रुपमा विकास गर्ने र ति क्षेत्रमा विदेशबाट आएका युवा जनशक्तिलाई सहभागी गराउने बताएको छ । यस्तै यसरी व्यवसाय गर्ने कृषकहरुलाई मल, औजार, वीउ, विषादी, जडिबुटी, पशुपंक्षीमा अनुदान दिइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

चिंगाडमा स्वास्थ्य स्वंसेविकालाई मोवाइल
चिंगाड गाउँपालिकाले गाउँपालिकाभित्रका सबै स्वास्थ्य स्वंसेविकालाई मोवाइल फोन दिने कार्यक्रम ल्याएको छ । आगामी आर्थिक बर्षको कार्यक्रममा स्वंसेविकालाई परिचालन गर्न एक स्वास्थ्य स्वंसेविकास एक मोवाइल कार्यक्रम सञ्चालन गरिने भएको हो । पालिकाले स्वास्थ्य उपचार बिमामा सबैको पहुँच पु¥याउने, गरिब तथा विपन्न परिवारको स्वास्थ्यपोचार, नसर्ने रोगसम्बन्धी शिविर सञ्चालन गर्ने कार्यक्रम समावेश गरेको छ । यस्तै शिक्षा प्रणाली सुधार गर्ने भौतिक पूर्वाधार सुधार, बालबालिका न्यानो कपडा वितरण, चट्यांकमुक्त, धुलोमुक्त विद्यालय बनाउने, छात्राहरुलाई निशुल्क सेनिटरी प्याड वितरण गर्ने कार्यक्रममा उल्लेख छ ।
सबै वडामा गौरवका आयोजना सञ्चालनगरी वडालाई गाउँपालिकासम्म जोड्ने सडक निर्माण गर्ने युवाहरुलाई रोजगारी दिन अध्यक्ष रोजगार कार्यक्रम र उपाध्यक्ष रोजगार कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
बराहतालमा मेशिन प्रतिबन्द
बराहताल गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४८ करोड चार लाख ३७ हजारको बजेट प्रस्तुत गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै गाउँपालिकाले पूर्वाधार निर्माणमा जनशक्तिबाट असम्भव हुने बाहेक पूर्वाधार निर्माणका काममा मेसिन प्रयोगमा प्रतिबन्ध लगाउने जनाएको छ ।