बेतन कर्णाली जलविद्युत आयोजनाको अध्ययन अन्तिम चरणमा

काठमाडौँ, १७ साउन । ७५ अर्ब रूपैयाँ निर्माण लागत अनुमान गरिएको बेतन कर्णाली जलविद्युत आयोजनाको अध्ययन अन्तिम चरणमा पुगेको छ ।
६ सय ८८ मेगावाट (संशोधित ४४२ मेगावाट) क्षमताको उक्त आयोजनाको प्रवर्द्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीले अछामको ढकारी गाउँपालिकामा निर्माण सामाग्री राख्न र कर्मचारी बस्नको लागि क्याम्प हाउस निर्माणको ठेक्का प्रक्रिया सुरु गरेको छ ।
आयोजनाले सतही अध्ययन सकेर भौगर्भिक अध्ययनका लागि अडिट टर्नेल निर्माण गर्ने उद्देश्यले क्याम्प हाउस निर्माणको ठेक्का आह्वान गरेको कम्पनीका प्रबन्ध निर्देशक दीपक रौनियारले बताए ।
आयोजनाले सुरूमा ६८८ मेगावाट क्षमताको अध्ययन अनुमति लिएको थियो। ‘अब आयोजनाको क्षमता ४४२ मेगावाट मात्रै हुने गरि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाउने काम भइरहेको छ,’ उनले भने ।
आयोजनाले सुर्खेतको बेतानमा भूमिगत विद्युत गृह राख्ने गरि अध्ययन सुरु गरेको थियो। सुर्खेततिर कमजोर भौगोलिक अवस्था भेटिएपछि आयोजनाको विद्युतगृह अछामको टटालीमा पर्ने गरि नयाँ तरिकाबाट अध्ययन गरिएको थियो । जसका कारण आयोजनाको क्षमता करिब २४६ मेगावाटले घटेको छ ।
कोभिड १९ ले आयोजनाको काम प्रभावित नभएको भए अहिले सम्म डिपीआर निर्माणको काम सकिएको हुने आयोजनाले जनाएको छ । अब बढीमा तीन महिनाभित्र डिपीआरको काम सकेर आयोजना अघि बढाउने पनि कम्पनीले जनाएको छ ।

जग्गा अधिग्रहण र पहुँच मार्गको काम पनि जारी
अर्धजलाशययुक्त आयोजनाबाट प्रभावित हुने करिब दुई हजार ४०० रोपनी जग्गा अधिग्रहणको लागि पनि अन्तिम तयारी भइरहेको आयोजनाले जनाएको छ ।
लकडाउनअघि नै प्रमुख जिल्ला अधिकारीको टेबलमा पुगेको जग्गा अधिग्रहणको फाइल लकडाउन सुरु भएसँगै थन्किएको थियो । अहिले पुनः प्रभावित हुने जग्गा र बस्तीको मुआब्जा निर्धारणका लागि प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले छलफल सुरु गरिसकेको आयोजनाले जनाएको छ ।
अछामतर्फ एक हजार ८०० रोपनी र सुर्खेततर्फ ६०० रोपनी गरि कूल २ हजार ४०० रोपनी जमिन अधिग्रहण हुने आयोजनाले जनाएको छ ।
आयोजनाको लागि ३÷४ किलोमिटर लामो जलाशय बन्ने भएपनि नदि किनारमा धेरै बस्ती नहुँदा २०÷२५ वटा घर मात्रै बिस्थापित हुने छन् ।
आयोजनाबाट सुर्खेतको चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिका तथा अछामको तुर्माखाँद र ढकारी गाउँपालिका प्रभावित हुने छन् । यसअघि सुर्खेततर्फ भूमिगत विद्युतगृह निर्माण गर्दा कैलालीको मोहन्याल गाउँपालिका समेत प्रभावित हुने उल्लेख थियो ।
आयोजनाको लागि सुर्खेतको चौकुने गाउँपालिकाको गुटु, साल्म, कोइरालाबास हुँदै कर्णाली नदिको किनारसम्म पहुँच मार्ग निर्माणको काम सुरु हुँदैछ। कर्णाली नदिमा बेलिब्रिज निर्माण गरि अछाम तर्फको पहुँचमार्ग सँग जोड्ने आयोजनाले जानकारी दिएको छ ।
७५ अर्ब लागत, ५ वर्षभित्र निर्माण सक्ने
७५ अर्ब रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको आयोजना निर्माण सुरु गरिएको ५ वर्षमा सक्ने लक्ष्य राखिएको छ ।
आयोजनाको बाँधस्थल अछामको मालुमेलामा रहने र विद्युत गृह टटालीघाटमा रहने गरि डिपीआर बनिरहेको छ । मालुमेलाबाट २५ सय मिटर सुरुङमार्गहुँदै टटालीघाटमा रहेको विद्युतगृहमा पानी खसाएर ४४२ मेगावाट विद्युत उत्पादन गरिनेछ। उत्पादित विद्युतलाई प्रसारणलाइनमा जोड्न सुर्खेतको भूम्केमा सवस्टेशन निर्माण गर्ने गरि आयोजनाको डिजाइन गरिएको छ ।

करिब ६ लाख बढी सदस्य रहेको सञ्चयकोषले हरेक सञ्चयकर्ताले पाउने नाफालाई आयोजनाको सेयरमा रुपान्तरण गर्ने गरि निर्देशिका बनाएको थियो ।
सञ्चयकोषले आयोजनाको विद्युत खरिदबिक्री सम्झौता नहुँदै नेपाल एसबिआई बैंक र नबिल बैंकसँग २५ अर्ब रुपैयाँ सहवित्तीयकरणका लागि सम्झौता गरिसकेको छ ।
आयोजनामा सञ्चयकोषका सञ्चयकर्ताको ४० प्रतिशत र सत्र्चयकोषको १५ प्रतिशत सेयर रहने छ। नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनीको १०र१० प्रतिशत सेयर रहने छ। स्थानीय प्रभावितको १० प्रतिशत र सर्वसाधारणतर्फको १५ प्रतिशत गरि २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी हुनेछ । बिजमाण्डु डटकमबाट