भ्रष्टाचार विरोधी प्रेम सञ्जेलमाथी कार्यकक्षमै आक्रमण


विराटनगर, १७ साउन । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं नेपाल सरकारका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि शनिबार उनको कार्यकक्षमै आक्रमण भएको छ । भ्रष्टाचार विरोधी अभियन्ता एवं सरकारी कर्मचारीको छवि बनाएका सञ्जेलमाथि कार्यालयका सहयोगी कर्मचारीहरु नेत्र भट्टराई (निरौला) र मेनुका सापकोटा (कोइराला)ले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिट गर्ने दुवै जना कार्यालयका करारका कर्मचारी हुन् । दुवै जना मिलेर टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिन लगायतले प्रहार गरेको प्रहरीको भनाइ छ ।
कुटपिटमा संलग्न दुवै जनालाई नियन्त्रणमा लिएर कारबाही अघि बढाउन घटनाको अनुसन्धान सुरु गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए । कुटपिटबाट सञ्जेलको निधार लगायत शरिरका विभिन्न भागमा चोट लागेको र ओठ फुटेर रगताम्य भएको प्रहरीले जनाएको छ । सञ्जेलले आफूहरुलाई काममा धेरै पेलेको, तनाव र दुःख दिने नियत राखेको, बारम्बार गालीगलौज गर्ने गरेका कारण कुटपिट गरेको उनीहरुले प्रहरीलाई बताएका छन् ।
कुटपिटमा संलग्न दुवै जना शनिबार बिहान १० बजेतिर कार्यालयमा आइपुगेका थिए । त्यतिबेलै आइपुगेका सञ्जेललाई उनकै कार्यकक्षमा चुक्कुल लगाएर आक्रमण गरिएको प्रहरीले जनाएको छ । सञ्जेल सबै सार्वजनिक विदाका दिन पनि कार्यालयमै आएर काम गर्ने गर्छन् । पत्येक दिन राति ८÷९ बजेसम्म उनी सधैं कार्यालयकै काममा व्यस्त हुन्छन् ।
घटनाका प्रत्यक्षदर्शी एवं स्थानीय व्यापारी रेवतीप्रसाद अधिकारीले घटना देखेपछि छुट्याउन गएको बताए । ढोकाको चुक्कुल लगाएर एकोहोरो आक्रमण गरेका कारण छुट्याउन नपुगेको भए अप्रिय घटना पनि हुन सक्ने अवस्था रहेको उनको भनाइ छ । छुट्याउन जानेहरुको शरीर र लगाएका कपडा सञ्जेलको अनुहार र ओठ फुटेर निस्किएको रगतले रगताम्य भएको अधिकारीको भनाइ छ ।कुटपिटमा संलग्नले सञ्जेलको कार्यकक्षमा रहेका सामान फ्यालिदिनुका साथै कागजपत्र पनि च्यातिदिएको प्रहरीले जनाएको छ । कुटाई खाएको बताए पनि सञ्जेलबाट भने यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।
सरकारी कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीविरूद्ध संघर्षरत उपसचिव सञ्जेलललाई २०७५ असोज ११ गते उक्त कार्यालयको प्रमुखका रुपमा पठाइएको थियो । तर कर्मचारीका नेता र केही व्यापारीको दबाबमा ७० दिनमै उनको सरुवा सरकारले पुस ५ गते व्यावसायिक सीप तथा तालीम प्रतिष्ठानमा इटहरी ग¥यो ।
उपसचिव सञ्जेलले आफूलाई गैरकानूनी र अन्यायपूर्ण व्यवहार गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा २०७५ फागुन १७ गते रिट निवेदन दायर गरेका थिए । कार्यअवधि नपुगी अन्यायपूर्वक गरिएको सरूवाबारे सरकारले सुन्दै नसुनेपछि उनी सर्वोच्च पुगेका थिए । रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले निजामती कर्मचारी ऐनविपरीत सरुवा गरेको ठहर गर्दै सञ्जेलको सरुवा कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
सरुवा कानुनसम्मत नदेखिएको सर्वोच्चको ठहर थियो । त्यसपछि उनी २०७५ फागुनमै श्रम तथा रोजगार कार्यालय विराटनगरमा हाजिर भएर काम थालेका थिए । भ्रष्टाचारविरुद्धमा निक्कै आक्रमण हुने उनी आफू भ्रष्टाचार नगर्ने र आफ्नो कार्यालयमा कार्यरत कोही पनि कर्मचारीलाई भ्रष्टाचार गर्न नदिने बताउँछन् ।
निक्कै खरो स्वभावका सञ्जेल कार्यालयमा हुने ढिलासुस्तीको पनि विरोधी हुन् । काममा झारा टार्ने, ढिलासुस्ती गर्ने, घुस खाने र सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाह नगर्ने कर्मचारीलाई उनले तत्कालै जागिरबाट हटाउने गरेका छन् ।