जनैपूर्णिमा (रक्षा बन्धन)को शुभकामना


सुर्खेत ।
आज (सोमबार) जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्व । जनैपूर्णिमा अर्थात ऋषितर्पणी पर्वको आम नेपाली हिन्दु नागरिकहरुमा शुभकामना । सनातन हिन्दू तागाधारी जातिले आजका दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने र वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन छ । हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात् ज्ञानको धागो पनि भनिन्छ ।
जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ । विधिपूर्वक जनै मन्त्रन यजमानहरू आज बिहान सबेरै आ–आफ्ना गुरु–पुरोहितकहाँ जाने गर्दछन् । ऋषि तर्पणी हिन्दू तागाधारी जातिले देह शुद्ध गरी देवता, सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र तथा पितृहरूको नाममा तिल, कुशसहित नदीकिनार पोखरी तालतलैमा गई तर्पण गरिने चलन भएकाले यस पर्वलाई ऋषितर्पर्णी समेत भनिन्छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊु भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक कथनबाट चलेको रक्षाबन्धनको परम्परा आज पनि त्यत्तिकै प्रचलित छ । मानव रक्षाका लागि आजका दिन जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन (डोरो) मन्त्र पढ्दै ब्राम्हणहरूले यजमानको नाडीमा बाँधिदिन्छन् ।
तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी–बहिनी र दाजु–भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ । आजका दिन दिदी–बहिनीले आफ्ना दाजु–भाइको दीर्घायू र सफल जीवनको कामना गरी हातमा कलात्मक राखी बाँधी आफ्नो रक्षाको वचन लिने चलन छ ।