कर्णालीमा प्रवेश गर्दा बवईमा पिसिआर जाँच गरिने


सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अब कर्णाली प्रदेशमा प्रवेश गर्दा पिसिआर जाँच गरिने बताएका छन ।
कर्णाली प्रदेश सरकारले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीमा प्रवेश गर्दा  बवईमा पिसिआर जाँच गरिने बताउदै उनले भने, ‘कोरोनाको संक्रमण द्रोश्रो चरणमा पुगेको छ । लक्षणसहितका कोरोना संक्रमित देखिन थालेका छन् । अब दिनमा बवईमा कोरोना परीक्षणका लागि पिसिआर जाँच गरिनेछ ।’
मुख्यमन्त्री शाहीले बाढी पहिरोसँगै अन्य प्राकृतिक विपत्तिलाई ध्यानमा राखेर आगामी असोजसम्मका लागि प्रदेश सरकारले हेलिकोप्टर भाडामा लिएर उद्धार तथा राहतमा प्रयोग गर्ने समेत जानकारी दिए ।
उनले भने, ‘कर्णालीमा भोग, रोक र अन्य प्राकृतिक विपदलाई ध्यानमा राखेर हेलिकोप्टर भाडामा लिने तयारीमा छौं ।’ तर, ‘सेनाले प्रदेश सरकारले भनेको र आवश्यक परेको बेला हेलिकोप्टर उडान गर्न सक्यो भने फरक कुरा भयो, नत्र प्रदेश सरकारले नयाँ रणनीति लिन्छ ।’ ‘बिडम्बना के भने यता पीडितहरु चट्पटाउने अवस्था हुन्छ । हेलिकोप्टर उडानका लागि गृहसँग अनुमति लिनुपर्ने व्यवस्था छ । यो कस्तो नियम हो खै ? यता दुःखमा मान्छे परेको हुन्छ । प्रदेश सरकारले चाहेर पनि समयमा जनताको उपचार र उद्धार गर्न सक्दैन ।’
‘बाढी पहिरोको कारण जाजरकोट र कालिकोटमा सबैभन्दा बढी क्षती पुगेको छ, बाटो भत्केको अवस्थामा पनि खड्चडमार्फत गाउँमा पीडितको लागि राहत सामग्री पु-याउने काम भइरहको छ । तर थप अन्य कारणबाट भोकमरी सिर्जना हुन सक्छ, त्यसतर्फ पनि सरकारले सोचिरहेको छ’ उनले भने ।

यस्तै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णालीमा केही दिनभित्रै दैनिक २ हजार ५०० भन्दा बढी नागरिकको पीसीआर जाँच गरिने बताए । ‘अहिले हामीसँग चौरजहारीमा एउटा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एउटा, प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा २ वटा र दैलेख अस्पतालमा एउटा पीसीआर मशिनले स्वाब जाँच गरिरहेका छन्,’ उनले भने, ‘अहिले हामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल कालागाउँमा ३ वटा अटोमेटिक मशिन आरएनए एक्सटेन्सन जडान गरिरहेका छौं । यो मशिनले २ घण्टामा ४०० जनाको पीसीआर रिपोर्ट दिन्छ ।’