कोरोना रोकथामका लागि बिनियोजित बजेट फ्रिज


प्रतिमा परियार
कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि विनियोजन गरिएको बजेट नै फ्रिज भएको छ । अर्थात प्रदेश सरकारले कोरोना महामारीविरुद्ध जुध्नका लागि छुट्याएको बजेट मध्ये सात करोड रुपैयाँ खर्च हुन नसकेको हो । खर्च नभएपछि उक्त बजेट फ्रिज भएको हो ।
कर्णालीमा केन्द्र र प्रदेश सरकारले कोरोनाविरुद्ध जुध्नका लागि जम्मा ३० करोड ५९ लाख १५ हजार रुपैयाँ छुट्याइएको थियो । जसमध्ये सात करोड ३६ लाख चारसय ५० रुपैयाँ फ्रिज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना प्रतिकार्यको ७७ प्रतिशत अर्थात २३ करोड ५५ लाख ५४ हजार पाँचसय ५० रुपैयाँ मात्रै कार्यान्वयन भएको छ ।
कोरोनाको त्रासपछि कर्णाली प्रदेश सरकारले १० करोड चारलाख १५ हजार रुपैयाँ विकास बजेट कटौती गरेर प्रतिकार्यका लागि रकमान्तर गरेको थियो । त्यस्तै राहत कोषबाट थप दुई करोड ५० लाख रुपैयाँ कोरोना विशेष अस्पतालाई उपलब्ध गराएको थियो । जसमा प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई एक÷एक करोड र रुकुमपश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई ५० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।
त्यस्तै कोरोना प्रतिकार्यकै लागि अर्थ बजेटबाट थप १६ करोड ५० लाख रुपैयाँ र संघीय सरकारले प्रदेश अस्पताल सुर्खेत र स्वास्थ्य कार्यालय दैलेखलाई एकरएक करोड रुपैयाँ कोरोना प्रतिकार्यका लागि उपलब्ध गराएको थियो । बजेट खर्च हुन नसकेको फ्रिज हुन प्रदेश सरकारको कमजोरी भएको सरोकारवालाहरुको भनाइ छ । जिल्ला तहमा नागरिकले प्रभावकारी स्वास्थ्य सुविधा नपाएको, अस्पतालहरुमा आवश्यक उपकरण नभएको, औषधिको उपलब्धता नभएको र अधिकांश क्वारेन्टाइन र आइसोलेसनमा न्युनतम सुविधा पनि नदिएको प्रदेश सरकारले बजेट खर्च गर्न नसकेर खेचाँची गरेको उनीहरुको भनाइ छ ।