२०३६ सालको दशरथपुर गोलीकाण्ड

यज्ञ बहादुर रेग्मी,
दशरथपुर १२ भदौ ।

पाकिस्तानका प्रजातान्त्रिक नेता जुल्फिकार अलि भूट्टोलाई त्यहाँको सैनिक तानाशाह जियाउल हकले फाँसी दिएको विरुद्धमा नेपालका प्रजातन्त्रका हिमायती त्रिभुवन विश्व विद्यालयका सवै प्रकारका विद्यार्थिहरु आक्रोशित भै २०३६ जेष्ठको सुरुमै नेपालमा रहेको पाकिस्तानी राजदुतावासमा नारा लाउँदै विरोधपत्र दिन विद्यार्थीको विशाल जुलुश जाँदै थियो तत्कालिन नेपालको पंचायती तानाशाही प्रजातन्त्र विरोधि सरकारको आदेशमा नेपाल प्रहरीले त्यो जुलुशलाई रोक्यो ।
लाठिचार्ज गर्याे र गोली समेत चलायो र विद्यार्थीहरुको भागाभाग भयो, फेरि विद्यार्थीहरु काठमाण्डुको भूगोल पार्कमा जम्मा भएर यो सरकार पनि प्रजातन्त्र विरोधि हो, यसको विरुद्धमा आन्दोलन गरि पन्चायति व्यवस्थानै फ्याँक्ने र प्रजातन्त्रको पुनर्स्थापना गर्नु पर्छ भनी आन्दोलनको घोषणा गरेपछि त्यस आन्दोलनमा शिक्षक, विद्यार्थी, स्वास्थ्य कर्मी, अन्य कर्मचारी, व्यापारी, विभिन्न व्यवसायी, महिला, युवा, सवै राजनैतिक दल, जेष्ठ नागरिक, समाजसेवी, वुद्धिजिवी र कानुन व्यवसायीहरु सवै सहभागी भएर सरकारले थेग्नै नसक्ने अवस्था आएपछि राजा वीरेन्द्रले २०३६- ०२ – १० गते “वहुदलीय व्यवस्था कि सुधारिएको निर्दलीय पंचायति व्यवस्था” २ मध्ये १ रोज्नको लागि जनमत संग्रहको घोषणा गरे ।
यसले काठमाण्डुमा त आन्दोलन रोकियो तर त्यतिवेला अहिलेको जस्तो संचारको राम्रो सुविधा नहुँदा पंचायति व्यवस्था विरोधि आन्दोलनको लहर फैलँदै गयो र नेपालका दूर दराजका जिल्लाहरुमा फैलँदै जाने क्रममा पूर्वी सुर्खेतको भेरी किनार २०३६ जेठ ११ देखि आन्दोलनहरु हुन थाल्यो र यस दशरथपुरमा जीवन ज्योति मा.वि.का शिक्षक यज्ञवहादुर रेग्मी, गोविन्द वहादुर जीसी, खड्ग वहादुर घर्ती ( रामघाट), टिकाराम आचार्य प्रअ शिखर प्रावि रामघाट, शि. भक्त व ज्ञामी, शि. तुल्सी प्रसाद आचार्य, शि. वेलवहादुर प्रदिप्त विद्यार्थी हर्ष वीर देवकोटा, डण्डपाणी आचार्य, टिकाराम सुवेदी आदिको संयुक्त प्रयासले मिति २०३६ -०२ -१३ – १४ गते दशरथपुर र रामघाटमा पंचायत विरोधि आन्दोलन भयो ।
यसमा अभिभावक गोकर्ण खड्का, लाल व रेग्मी, छविलाल वली, शिक्षक नर वहादुर थापा, कर्मचारी समर वहादुर थापा, भिमराज पंगालीको पनि साथ र समर्थन राम्रो थियो ।
यसै विचमा आन्दोलन सकिएपछि दशरथपुर ८,९ र १० कक्षामा पढ्ने छिन्चु घर भएका हर्षवीर देवकोटा, शेर वहादुर खत्री लगायत ५ जना विद्यार्थीलाई सिडियो टेक वहादुर खत्रीले रामघाट वजारमा पक्राउ गर्याे भन्ने सुने पछि जुलुश पनि सक्रिय भै रामघाट वजारमा पुगेर सिडियोलाई हाँक दिएपछि उसले ती विद्यार्थीलाई छोडी दियो ।
२०३६÷०२÷१५ गते दहचौर, गुमी, लेखफर्सा र दशरथपुरका किसान, शिक्षक, विद्यार्थी, व्यापारी, महिला, वुद्धिजिवी, समाजसेवी सबै सम्मिलित रहेको करिव ५००० जनाको जुलुश कम्मरमा २ दिन जतिलाई पुग्ने गरि रोटी र अचार वाँधेर विरेन्द्रनगर गई सिडियो र पंचे नेताहरुकहाँ पंचायती व्यवस्था समाप्त गर्ने कार्य अगाडि वढाउन प्रतिवद्धता गराई, केन्द्रसम्म मागहरु पुुरयाउन लगाउने गरि दशरथपुर बजारमा आई त्यहाँवाट अगाडि वढ्न खोज्दा पंचे गुण्डा नेताहरुको सल्लाहमा कुनै हालतमा पनि अगाडि वढ्न नदिनु भन्ने सिडियो टेक वहादुर खत्रीले प्रहरी असई गगन वहादुर खड्कालाई दिई निज असईको साथमा केही पुलिस दशरथपुर बजारको वाटो किनारमै रहेको कृषि केन्द्रको फार्म प्रवन्धक तेजप्रसाद गिरीको क्वार्टरमा लुकी लुकाई राखेका हतियारधारी प्रहरीहरुले अन्धाधुन्द गोली चलाउँदा, विद्यार्थी ईन्द्र विसी चोल्पा, किसान व्रह्मदत्त तिवारी लेखफर्सा, लालवीर टमटा लेखफर्सा, न्याउले कामी लेखफर्सा, वहादुर लावने लेखफर्सा, कर्ण वहादुर खत्री पौडेल लेखफर्सा, हस्त वहादुर सार्की रामघाट गरि ७ जनाले प्रहरीको गोली लागि सहादत प्राप्त गर्नुभयो ।
अरु जुलुशका सहभागीहरु कोही पक्राउ पर्नुभयो, कति भागी बेपत्ता र भूमिगत हुनु पर्नेभयो, ८र९ महिनासम्म जनताले प्रहरीको वर्वरता सहनुपर्याे । यस्तो नराम्रो ज्यादती सुर्खेती जनताले कहिल्यै भोग्नु परेको थिएन । (क्रमशः)