वामदेवलाई पराजित गरेका सञ्जय गौतम भन्छन्– सांसद बन्न लागेकोमा उहाँलाई शुभकामना


काठमाडौँ, १९ भदौ । बर्दियामा वामदेव गौतमलाई चुनाव हराउने सञ्जय गौतमले राष्ट्रिय सभा सदस्य बन्न लागेकोमा गौतमलाई शुभकामना दिएका छन् ।
सांसद सञ्जयले राजनीतिक दलप्रति जनतामा वितृष्णा भएको वेला यस्ता गतिविधि हुनु चिन्ताजनक भएको प्रतिक्रिया दिएका छन् ।
गत निर्वाचनमा बर्दिया– १ बाट तत्कालीन वामगठबन्धनका उम्मेदवार वामदेव गौतमलाई कांग्रेसका उम्मेदवार सञ्जय गौतमले सात सय ५८ मतान्तरले पराजित गरेका थिए ।
सञ्जय गौतमको भनाई यस्तो छ–
राजनीति र लोकतन्त्रमा जनमतलाई सम्मान गर्न सक्नु राम्रो हुन्छ । जनमतको अवज्ञा गरेको राम्रो हुँदैन । मसँग पराजित हुनुहुने वामदेवजीलाई सांसद बनाउन खोज्नु नेकपाको आन्तरिक कुरा हो । यसमा खासै प्रतिक्रिया छैन ।
तर, मुलुकको राजनीति अस्थिर बन्दै गएको वेलामा सत्तारुढ दलले जनतालाई विश्वास बढाउने काम गर्नुपर्ने हो । राजनीतिक दलप्रति जनतामा वितृष्णा भएको वेला यस्ता गतिविधि हुनु चिन्ताजनक छ ।
हाम्रो सम्पूर्ण क्रियाकलाप लोकतन्त्रप्रति आस्था जगाउने खालको हुनुपर्छ । हामी दलहरूको मुख्य काम नै जनताप्रति आशा, भरोसा र विश्वास बढाउने हो । यस्ता गतिविधि गरी निराशा बढाउने होइन । दलहरूले भरोसा दिन नसक्दा कार्यकर्ताहरू थप सचेत बन्नुपर्छ ।
वामदेवजीको विषयमा निर्णय गर्ने पार्टीको आन्तरिक कुरा होला । व्यक्तिगत रूपमा भने मेरो कुनै टिप्पणी छैन । तर, नेकपा र कांग्रेसजस्ता पार्टीले यस्ता विषयमा कदम चाल्नुपूर्व गम्भीर भने हुनुपर्छ । लोकतान्त्रिक प्रणालीमा यस्ता गतिविधिले कस्तो असर पार्छ भन्नेमा हामी गम्भीर नबन्ने हो भने जनतामा झनै वितृष्णा बढ्छ ।
निर्वाचनमा जितहार हुन्छ । उहाँले मसँग हार्नुभएको थियो । उहाँ मेरो पनि अभिभावक हो । सांसद बन्न लाग्नुभएका वामदेवजीलाई मेरो पनि शुभकामना छ । नेताहरूले राम्रै हुन्छ भनेर उहाँलाई सांसद बनाउन लाग्नुभएको होला । तर, नेताहरूले गम्भीर भएर कदम चाल्नुपथ्र्यो । नयाँपत्रिकाबाट