वीरेन्द्रनगरमा टोल फ्रि सञ्चालन

सुर्खेत, २३ असोज ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतले अपांगता भएका व्यक्ति र जोखिममा रहेका व्यक्तिहरुलाई लक्षित गरी टोल फ्रि नम्बर संचालन गरेको छ । अपांग शसक्तिकरण केन्द्र सुर्खेतको आर्थिक सहयोग र वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा टोल फ्रि संचालन गरिएको हो ।
१६६०८३५२००५ नम्बरको टोल फ्रि नम्बरमा अपांगता भएका व्यक्ति, परिवार, जोखिममा रहेका व्यक्तिहरुले आफ्ना समस्या गुनासाहरु राख्न सक्ने गरी संचालन गरिएको हो ।
सेवाका उद्घाटन गर्दै नगर प्रमुख देब कुमार सुबेदीले नगरपालिका क्षेत्रमा रहेका अपांगता भएका व्यक्ति , जोखिममा रहेका व्यक्ति तथा अन्य सेवाग्राहीहरुले समेत सेवा लिन सक्ने बताए । उनले नगरक्षेत्रमा भएका लक्षित बर्गहरुले यसमा सम्पर्क गरी आफ्ना गुनासो तथा समस्याहरु टिपाउनका लागि पनि आग्रह गरेका छन् ।
कार्यक्रममा अपांग शसक्तिकरण केन्द्रका अध्यक्ष विष्णु भट्टराईले अपांगता भएका व्यक्ति, परिवार, अन्य जोखिममा रहेका व्यक्तिहरु लक्षित गरी यो सेवा सञ्चालन गरेको बताए । संस्थाको परियोजन संयोजक दुर्गा गाहाले अपांगता भएका व्यक्तिहरुको गुनासो र समस्या समाधानमा टोल फ्रि ले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।
अपांगता समावेशी कोभिड १९ प्रतिकार्य परियोजना अन्तर्गत कार्यक्रम संचालन गरिएको हो ।