सत्तारुढ दलबाटै मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव

सुर्खेत, २५ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
सत्तारुढ दलकै यामलाल कँडेलको नेतृत्वमा आइतवार १८ जना प्रदेशसभा सदस्यहरुले पार्टीको प्रमुख सचेतकलाई सम्बोधन गरीे पार्टी भित्रै अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।
१८ जनाले प्रदेशसभा सदस्यले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा परेका छन् ।
अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेमा उपसभामुख पुष्पा घर्ती (विष्ट) सहित प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, चन्द्रबहादुर शाही, करबीर शाही, कुर्मराज शाही, अमरबहादुर थापा, सुशील थापा, मिनासिंह रखाल, दानसिंह परियार, पदमबहादुर रोकाया, पद्मा खड्का, कैशिलावली खत्री, राजु नेपाली, धर्मराज रेग्मी, खड्कबहादुर खत्री, ठम्मरबहादुर विष्ठ, बद्मी क्वाँरी बोहोरो र देवी ओली रहेका छन् ।
पार्टीको दलको नेतामा महेन्द्रबहादुर शाही निर्वाचित भएपछि संसदीय दल र सरकारको कामकारबाहीले जनस्तरमा फितलो भएकोले नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४(१) बमोजिम हामी माननीय सदस्यहरुको दलको नेता उपर विश्वास नभएकोले अविश्वासको प्रस्ताव दर्ता गराएको उल्लेख छ । साथै सोही नियम २४ को (१, २, ३, ४) बमोजिम यथासक्य बैठक आयोजना गरी मार्ग प्रशस्त गर्न पनि आग्रह गरिएको छ ।


अविश्वास प्रस्ताव दर्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य यामलाल कँडेलले दलवीच व्यापक छलफल गरी साझा निष्कर्षका साथ संसदीय दलको नेताउपर अविश्वासको प्रस्ताव दर्ता गराएको बताए । कंडेलले सरकार गठनको अढाई बर्षको अवधिमा संसदीय दल र पार्टीको कामकारबाही निकै फितलो भएकोले दलभित्रको वैधानिक अधिकार प्रयोग गरी प्रक्रियागत रुपमा प्रस्ताव दर्ता गराएको बताए । काम कारबाहीवारे सुधार गर्न व्यापक छलफल र सुझाव दिइएपनि कुनै सुनुवाई नभएकोले प्रदेशमा पहिलो पटक अविश्वासको प्रस्ताव दर्ता गराइएको उनको भनाई रहेको छ ।
यता नेकपाको संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बहुमत सदस्यहरुले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गराएकोले पार्टीको बैठक बसेर निर्णय गरिने जानकारी दिए । उनले छिटै बैठक बसेर प्रक्रिया अनुसार नयाँ नेता चयन गरिने जानकारी समेत दिए । कर्णालीमा नेकपाका ३२ जना प्रदेशसभा सदस्य छन् । कर्णालीमा ४० जना प्रदेशसभा सदस्य रहेका छन् जस मध्य कांग्रेसका ६ जना र एक जना राप्रपाका रहेका छन् ।