जनकल्याण सहकारीको २५ औँ बार्षिक साधारणसभा सम्पन्न

सुर्खेत । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. वी.न.न.पा. १ सुर्खेतको २५ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा समेत सरक्षा सर्तकता अपनाउँदै साधारणसभा सम्पन्न भएको हो । सहकारी विभाग र छाता संगठनको मार्गदर्शन बमोजिमका विधिहरु अवलम्वन गरि २५ औँ बार्षिक साधारणसभा सम्पन्न गरिएको व्यवस्थापक खुमलाल न्यौपानेले जानकारी दिए । सहकारी ऐनले तोकेको विधि अनुरुप साधारणसभा सम्पन्न गर्न नसक्ने भएपछि संस्थाले महामारीमा साधारणसभा सञ्चालन कार्यविधि २०७७ विकास गरि सोहि अनुरुप साधारणसभा सम्पन्न गरिएको हो । साधारणसभामा सदस्यहरुलाई उपस्थित हुन क्षेत्रगत रुपमा उपस्थिति केन्द्र तोकिएको र लिखित रुपमा टिप्पणी तथा सुझाव संकलन गरिएको थियो ।
२०७७ असोज २४ गतेदेखि असोज २९ गतेसम्म सदस्यहरुको उपस्थिति खुला गरिएको थियो भने सोहि अवधिमा सदस्यहरुसँग सुझाव तथा टिप्पणी संकलन गरिएको थियो । असोज ३० गते विहान टिप्पणीकर्ता सदस्यहरुसँग छलफल गरि सोहि दिन दिउँसो निर्णय प्रमाणित गरि साधारणसभा सम्पन्न भएको छ । यसअघि असोज १९ देखि २३ गतेसम्म बार्षिक साधारणसभामा प्रस्तुत हुने प्रतिवेदन र नीति तथा कार्यक्रम जागरण एफ. एम. ९०.८ मेघाहर्जबाट प्रसारण गरिएको थियो । साधारण सभामा ७१.५२ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो ।