सिटी बसपार्क सटरको भाडा घटाउन व्यवसायीहरुको माग


सुर्खेत । बसपार्कमा रहेका सटरहरुको भाडा घटाउन व्यवसायीहरुले माग गरेका छ । बसपार्क भित्र बनेका कच्ची टहराको मुल्य चार गुणा बढी भएको भन्दै सटरहरुको भाडा समायोजन गर्न ब्यवसायीहरुले नगरपालिकाको ध्यानआकर्षण गराएका हुन् ।
बसपार्क टोल विकास समितिले आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै आफुहरु पुराना ५४ जना व्यवसायीहरुलाई प्राथामिकतामा राखेर मुल्य तोक्न माग गरेका छन् ।
उनीहरुले नगरपालिकाले बनाएको बसपार्क सञ्चालन कार्यविधि विपरित ठेकेदारले एक पक्षिय रुपमा भाडा निर्धारण गरेकोमा व्यवयसाीहरुले आपत्ती जनाएका छन् । नगरपालिकाले भक्तपुरको पि.आर कन्स्ट्रक्सनलाई मासिक ३१ लाख १५ हजारमा भाडामा दिएको छ ।
कन्स्ट्रक्सनले एउटा सटरको ३० हजारदेखी ५० हजारसम्म भाडा तोकेपछि व्यवसायीहरुले आपत्ति जनाएका हुन । व्यवसायीहरुले एउटा सटरको मुल्य पाँच देखी १५ हजारसम्म हुनुपर्ने माग गरेका छन् ।
कन्स्ट्रक्सनले कार्तिक ६ गते सुचना जारीगर्दै अहिलेको बजारको चलनचल्ती मुल्य भन्दा धेरै भाडादर कायम गरेको भन्दै व्यवसायीहरुले आपत्ति जनाएका हुन । बसपार्क टोल विकास समितका अध्यक्ष ईन्द्रबहादुर थापाले कार्यविधि विपरित निकालिएको सुचना तत्काल रद्ध गर्न माग गरे ।
उनले चलनचल्तीको दर भन्दा चार गुणा धेरै महँगो भाडामा व्यवसायीहरु बस्न नस्कने भन्दै तत्काल पुन अर्को सुचना प्रकाशन गर्नुपर्ने बताए ।
२ दशमलव ८ मिटर चौडाई र ४ मिटर लम्बाई गरि ११ वर्गमिटर क्षेत्रफल भएको घुम्ती जस्ता सटरको मुल्य ५० हजार तोकिनु गैरजिम्मेवार निर्णय भएको थापाको भनाई छ ।
उनले बसपार्क निर्माणमा पुराना व्यवसायीहरुलाई प्राथमिकता दिने सहमति भएपनि नगरपालिका अहिले त्यो सहमतिबाट पछि हटेको आरोप लगाए ।
सुर्खेत उद्योग वाणिज्य संघका बाणिज्य उपाध्यक्ष दिपेन्द्र ढकालले मनोमानी तरिकाले सटरको मुल्य तोक्नु व्यवसायीको हित विपरित रहेको बताए ।
नगरपालिका सामाजिक दायित्वबाट पटि हटेको भन्दै यसले सम्रग बजारक्षेत्रमा पनि प्रभाव पार्ने ढकालको दावी छ । उपाध्यक्ष ढकालले नगरपालिकाको टेन्डर प्रकृया नै गलत भएको भन्दै मिल्दोजुल्दो भाडाकायम नगरेर कानुनी उपचार खोजिने समेत चेतावनी दिए ।
नगर विकास कोषको ऋण सहयोगमा पाँच वर्ष लगाएर अत्याधुनिक संरचनासहितको बसपार्कको निर्माण कार्य सम्पन गरेको डेढ बर्ष पुग्दा पनि बसपार्क संञ्चालनमा आउन सकेको छैन ।
करिब चार हजार पाँचसय वर्गमिटर क्षेत्रफल रहेको बसपार्कमा साना–ठूला गरी एक सय २० सवारी अट्न सक्ने क्षमता रहेको छ । कार्यविधि अनुसार बसपार्क भाडामा सञ्चालन गर्नेले ५४ वटा सटर, ग्यारेज, रेष्टुरेष्ट, प्रवेश र पार्किङ शुल्क उठाउन पाउने छ ।