सरकारकाे नारा ’समृद्ध दमक, सुखी केपी ओली’ राखे हुन्छ, सांसद गगन थापा

काठमाण्डौ । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारलाई मूल नारा परिर्वतन गर्न सुझाव दिएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद थापाले ’समृद्ध नेपाल सुखी नेपाली’को नारा परिर्वतन गरेर ’समृद्ध दमक, सुखी केपी ओली’ भन्ने नारा राख्न सुझाव दिएका हुन् ।
प्रधानमन्त्रीको लेटरप्याड प्रयोग गरि आफ्नो निर्वाचन क्षेत्रको लागि सिफारिस गरिएका योजनाहरुको फेहरिस्तका सन्दर्भमा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले सरकारको नीति तथा कार्यक्रम अलमलिएको निबन्ध जस्तो भएको टिप्पणी गरे ।
महत्वाकांक्षाविहीन, अभिलाशा शून्य सपनारहित नीति तथा कार्यक्रमले सरकारले सपना देख्ने क्षमता पनि राखेको छैन भन्ने देखाएको उनले तर्क गरे ।
कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, अख्तियार, मानवअधिकारआयोग लगायत संवैधानिक निकायलाई पेल्ने काम गरेको सरकारले एक वर्षमा कुनै पनि उपलब्धि हासिल गर्न नसकेर आत्मप्रसंम्सामा मात्रै अल्झिएको टिप्पणी गरे ।
उनले गत वर्ष ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने दाबी गरिए पनि त्यो लक्ष्य पूरा हुन नसक्नुको कारण विश्लेषण नगरिएको, पूँजीगत खर्च गर्न नसकेको तथा आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बीमाको बारेमा नै सरकार स्पष्ट हुन नसकेको दाबी समेत गरे ।
नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको सरकारको उपलब्धिलाई उहाँले सरकारको आत्मप्रशंसा मात्रै भएको टिप्पणी गरे । आत्मप्रसंम्साका ४० बुँदा यथार्थ र तथ्यपरक भन्दा कपटपुर्ण, झुटा र भ्रामक भएको उनले दाबी गरे ।
सरकारले राष्ट्रपतिलाई उक्साएर विवादमा ल्याउने काम गरेको भन्दै नीति तथा कार्यक्रम सम्बोधनका क्रममा प्रयोग गरिएको मेरो सरकार प्रति पनि उनले गम्भीर आपत्ति जनाए ।