वीरेन्द्रनगर र बराहतालमा १५ शैय्याकाे अस्पताल शिलान्यास

‘स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन हुँदैछ’–राज्यमन्त्री रावत

सुर्खेत, १२ मंसिर ।
सुर्खेतका दुई वटा स्थानीय तहमा १५ शै्ययाका अस्पतालको उद्घाटन तथा भवन शिलान्यास गरिएको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ स्थित लाटिकोइलीमा वीरेन्द्रनगर नगर अस्पताल र बराहताल गाउँपालिका वडा नं. ५ स्थित बड्डीचौरमा बराहताल अस्पतालको सेवा आरम्भ तथा भवन शिलान्यास गरिएको हो । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले शुक्रकार ती अस्पतालहरुको सेवा उद्घाटन तथा भवन शिलान्यास गरेका छन् । सेवा उद्घाटन तथा भवन शिलान्यास समारोहमा बोल्दै राज्यमन्त्री रावतले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने वर्तमान सरकारको योजना रहेको बताए । ‘स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन ल्याउने योजनामा हामी छौँ’ राज्यमन्त्री रावतले भने,‘योजना मात्र होइन हामी त्यसको कार्यान्वयन तहमै अघिबढेका छौँ ।’ सरकारले स्वास्थ्य क्षेत्रको विकासलाई पहिलो प्राथमिकता दिएको उनको भनाइ छ । सरकारले तीन सय ९६ स्थानीय तहमा ५ देखि १५ शै्ययाका अस्पताल बनाउने निर्णय गरेको र त्यसको सेवा सुरु र भवन निर्माणको प्रक्रिया सुरु भएको राज्यमन्त्री रावतले बताए । जसका लागि ९७ अर्ब बजेट विनियोजन गरिएको बताए । जस अन्तर्गत चालु आर्थिक बर्षमा कर्णाली प्रदेशमा ३९ वटा स्थानीय तहमा पालिका स्तरीय अस्पताल सञ्चालन हुँदैछन् ।
यस्तै हिमाली जिल्लाका केही जिल्लामा २५ शैय्याको र प्रायः सबै जिल्ला अस्पताललाई ५० शै्ययामा विस्तार गर्ने काम भइसकेको उनले बताए । प्रदेश अस्पतालहरुलाई तीय सय शै्ययाका तथा संघीय सरकार मातहतमा रहेका १३ अस्पताल र छ प्रतिष्ठानगरी १९ वटा अस्पतालाई पाँच सय शै्ययामा विस्तार गर्न लागिएको राज्य मन्त्री रावतले बताए ।


उनका अनुसार यसअघि सरुवा रोग अन्वेषण अस्पताल काठ्माण्डौँको टेकुमा मात्र रहेकोमा अब सातवटै प्रदेशमा ल्याबसहितको ५० शै्ययाको सरुवा रोग अस्पताल बनाउने निर्णय भई बजेट समेत पठाइसकिएको छ । यस्तै यसअघि ट्रमा सेण्टर काठ्माण्डौमा मात्र रहेकोमा अब सात वटा प्रदेशको दश स्थानमा ५० शै्ययाका बनाउने निर्णयगरी सेवा सुरु भैसकेको उनले बताए ।
‘नेपालको संविधानले पनि स्वास्थ्यको अधिकार सुनिश्चित गरेको छ त्यसको कार्यान्वयनमा सरकार गम्भिर छ’ राज्यमन्त्री रावतले भने,‘सरकारका यी योजना र कामले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन हुँदैछ भन्ने कुरा क्लिएर छ ।’ सरकारले चुनावका बेला पार्टीले गरेको एक स्थानीय तह एक अस्पतालको प्रतिबद्धता कार्यान्वयन स्वरुप सबै स्थानीय तहमा अस्पताल सञ्चालन गरिने बताए । स्थानीय तहका अस्पताल सञ्चालन तथा भवन निर्माणका लागि एक एक करोड पठाइ सकिएको र बाँकी रकम पठाउने कुराको सुनिश्चितता गरिएको उनले बताए ।

बराहताल अस्पतालको शिलान्यास कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य नन्द चपाईले अस्पताल सञ्चालन भएपछि नागरिकको आधारभूत आवश्यकताका रुपमा रहेको स्वास्थ्य सेवामा टेवा पुग्ने बताइन् । उनले महिलाहरु प्रसुती हुनेक्रममा ज्यान गुमाउन अझै बाध्य रहेको भन्दै बर्थिङ सेन्टरहरु विस्तार र स्तरउन्नती गर्नुपर्ने उनले बताइन् ।
कर्णाली प्रदेशसभा सदस्य यज्ञबहादुर विसीले पश्चिम सुर्खेतबाट यसअघिदेखि नै सरकारमा प्रतिनिधित्व भएपनि तुलनामा विकास हुन नसकेको बताए । विसीले अब पश्चिम सुर्खेतमा सबै मिलेर विकास गर्नुपर्ने बताए । पश्चिम सुर्खेतमा स्वास्थ्य सुविधा पनि पछाडि परेकोमा अस्पतालको शिलान्यास हुनु खुशीको कुरा भएको विसीको भनाइ छ । ‘हिजो हामी सिटामोलका लागि पनि सदरमुकाम वीरेन्द्रनगर जानुपर्ने अवस्थामा थियौँ’ उनले भने‘अब १५ शै्ययाको अस्पताल शिलान्यास भएको छ यो हाम्रा लागि खुशीको कुरा हो ।’ बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर वस्नेतले स्वास्थ्य सुविधा नागकिको पहिलो आवश्यकता भएकाले अस्पताल सञ्चालनले जनजिवनमा सुधार आउने बताए ।
यस्तै नगर अस्पताल वीरेन्द्रनगरको शिलान्यास कार्यक्रममा बोल्दै वीरेन्द्रनगरका नगरप्रमुख देवकुमार सुवेदीले नागरिकको स्वास्थ्य सुविधाका लागि नगरअस्पतालले टेवा पुग्ने बताए । अस्पतालको शिलान्याससंगै सेवा समेत सुरु गरिसकेको बताउँदै उपप्रमुख मोहनमाया ढकालले अस्पतालको सेवालाई चुस्तदुरुस्त बनाइ नगरवासीलाई सेवा दिन प्रतिबद्ध रहेको बताइन् ।