चौकुनेमा १५ शैय्याको अस्पताल शिलान्यास

सुर्खेत, १३ मंसिर । चौकुने गाउँपालिका वडा नं ४ बिजौराका ७० बर्षका पदम कामी शनिबार निकै हर्षित मुद्रामा देखिन्थे । आफ्नो गाउँमै अस्पताल बन्ने कुरा नै उनको खुशीको कारण थियो ।
चौकुने गाउँपालिका वडा नं. ४ बिजौरामा बन्न लागेको १५ शैय्याको अस्पताल शिलान्यास कार्यक्रममा उपस्थित पदमले आफ्नो घर नजिकै अस्पताल बन्न लागेकोमा खुशी व्यक्त गरे । ‘जिवनभर औषधी उपचारका लागि धेरै दुःख भोगियो’ पदमले भने,‘बुढेसकालमा भएपनि गाउँमै अस्पताल बन्न लाग्यो हामीले दुःख पाएपनि छोरा नातीले सुःख पाउने भया ।’ चौकुने ४ पुछ्माबाट दुई घण्टा हिडेर शिलान्यास कार्यक्रममा आएकी कृणा रोकाय पनि त्यतिकै खुशी देखिन्थिन । आफ्नो पालिकामा अस्पताल बन्न लागेपछि सामान्य उपचारकालागि पनि वीरेन्द्रनगर जानुपर्ने बाध्यता अन्त्य हुने कृष्णाको आशा छ । सामान्य उपचारका लागि पनि सदरमुकाम जानुपर्ने बाध्यताले उपचार भन्दा जान आउने भाडा र वीरेन्द्रनगर बस्दा बढी खर्च हुनेगरेको तितो यर्थात सुनाइन् । ‘हामी त सानो केही भयो भनेपनि डाक्टरलाई देखाउन मात्र पनि सुर्खेत जानुपर्छ’ उनले भनीन्,‘जान एक दिन आउन एक दिन लाग्छ डाक्टरलाइ देखाउन भन्दा बढी त भाडा र खान वस्नका लागि लाग्छ ।’
अस्पताल शिलान्यासले पदम र कृष्णा मात्र होइन सुर्खेत जिल्लाको सुदुर पश्चिममा रहेको चौकुने गाउँपालिका वासिन्दालाई हर्षित बनाएको छ । उपचार भन्दा आउन जाने भाडा र बस्ने खाने खर्च धेरै लाग्ने भएपछि लगाम, बेतान, बिजौरा लगायत चौकुने गाउँपालिका न्यून आय भएका परिवारलाई स्वास्थ्य उपचार चुनौतीपूर्ण छ । बिजौरामा अस्पताल बनेपछि भने यहाँका नागरिकलाई स्वास्थ्य सेवा सुलभ हुनेछ । हरेक स्थानीय तहमा ५ देखि १५ शैय्याको अस्पताल बनाउने सरकारको योजना अनुसार चौकुने गाउँपालिकामा १५ शैय्याको अस्पताल शिलान्यास गरिएको छ । अस्पताल शिलान्यास कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले वर्तमान सरकार नागरिको स्वास्थ्यप्रति गम्भिरतापूर्वक लागेको बताए । पार्टिले निर्वाचनका बेला गरेको प्रतिबद्धता अनुसार एक पालिका एक अस्पताल निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको उनले बताए । ‘यो देशका नागरिकलाई स्वस्थ बनाउने पहिलो उद्देश्य सरकारको हो’ राज्यमन्त्री रावतले भने,‘सोही अनुसार एक तह एक अस्पालतको अवधारण अनुसार पाँच बर्षमा सबै स्थानीय तहमा ५ देखि १५ शैय्याका अस्पताल शुरु गर्ने सरकारको योजना छ ।’ चालु आर्थिक बर्षमा ३९६ स्थानीय तहमा अस्पताल सञ्चालन गर्ने निर्णय भएको र बजेटको समेत सुनिचितता गरिएको रावतले बताए । ‘निर्णय गर्ने मात्र होइन अस्पताल सञ्चालनका लागि र भवन निर्माणका लागि बजेटको पनि सुनिश्चितता गरिएको छ’ उनले भने,‘अब भवन निर्माण र सेवा सञ्चालनको थालनी हुँदैछ ।’
राष्ट्रियसभा सदस्य नन्द चपाइले अस्पताल निर्माणले सामान्य उपचारका लागि पश्चिमबासीहरु वीरेन्द्रनगर जानुपर्ने बाध्यताको अन्त्य हुने बताइन् । उनले स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले सरकारले प्राथमिकता दिएको बताइन् । जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्द्धेलले स्वास्थ्य शिक्षा जस्ता विकासले पश्चिमको मुहार फेरिने बताए । चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले भवन बन्दै गर्दा अस्थाइ रुपमा भवन भाडामा लिएर अस्पताल सेवा सुरु गरिने बताए । जसका लागि दश लाख रुपैयाँ प्राप्त भैसकेको बताए उनले बताए ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगनसिंह पाण्डेले चौकुने गाउँपालिकामा हाल दैनिक साढे दुई सय बिरामी विभिन्न स्वास्थ्य संस्थामा आउने गरेको बताए । उनका अनुसार हाल चौकुनेमा पाँच वटा स्वास्थ्य चौकी पाँच वटा स्वास्थ्य पाँच वटा आधारभूत स्वास्थ्य केन्द्र र पाँच वटा सामुदायिक स्वास्थ्य एकाइ छन् । तर अस्पताल नुहँदा सामान्य एक्सरे, जटिल प्रसुती, असिक्जन लगाउनुपर्ने जस्ता बिरामीहरु वीरेन्द्रनर जानुपर्ने बाध्यता रहेको बताए । अस्पताल सञ्चालनपछि यहाँको नगारिकको स्वास्थ्यमा सुधार आउने उनले बताए ।